
काठमाडौं, २२ फागुन-वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरूले गर्नुपर्ने अनिवार्य स्वास्थ्य परीक्षणका लागि श्रम तथा रोजगार मन्त्रालयबाट करीब २५० स्वास्थ्य संस्थाले स्वीकृति पाएका छन् । तर विशेषगरी खाडी मुलुक साउदी अरेबिया, बहराइन, ओमान तथा मलेसिया जाने कामदारहरूबाट स्वीकृत स्वास्थ्य संस्थाले नै चर्को रकम असुल्ने गरेको देखिएको छ ।
साउदी, बहराइन र ओमानका लागि १२ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । उनीहरूले सिन्डिकेट खडा गरी परीक्षण शुल्कको रूपमा जनही ५ हजार ५०० र रजिष्ट्रेसन शुल्कवापत छुट्टै १० डलर लिने गरेका छन् ।
त्यस्तै मलेसियाका लागि ३७ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गरिरहेकोमा परीक्षण शुल्क जनही ४ हजार ५०० र रजिष्ट्रेसन शुल्क भनेर थप ३० डलर असुल्ने गरिएको छ । रजिष्ट्रेसन शुल्क लिने कुनै प्रावधान नभए पनि, स्वास्थ्य संस्थाहरूले आफूखुसी डलरमा रकम असुल्ने प्रवृत्तिले काम गर्न विदेश जान लागेकाहरू मारमा परेका छन् ।
सरकारी अस्पतालमा सोहीबमोजिमको स्वास्थ्य परीक्षण गर्न बढीमा ३ हजार लाग्छ । तर यसरी सरकारी नियमविरुद्ध गएर आफूखुसी रकम उठाउने काम भइरहेको छ ।