०२ असार २०८३, मंगलबार

तातोपानी नाका खुलाउन चीन सकारात्मक, पुनर्निर्माणका लागि सम्झौता

चैत १, २०७४
तातोपानी नाका खुलाउन चीन सकारात्मक, पुनर्निर्माणका लागि सम्झौता

काठमाडौं, १ चैत- भूकम्पपछि बन्द रहेको तातोपानी नाका शुचारु गर्न चीन सरकारले चासो देखाएको छ ।  

भूकम्पमा क्षति पुगेको नाकाको चेकपोइन्ट पुनर्निर्माणका लागि  बिहबार नेपाल र चीनबीच सम्झौता भएको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि बन्द रहेको तातोपानी नाका पुनर्निर्माण गर्ने सम्झौतामा बिहीबार अर्थ मन्त्रालयमा सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गरे । 
भूकम्पले भत्किएको नाकामा रहेको चीनियाँ पक्षको चेक पोइन्ट छिट्टै बनाउने चीनले जानकारी दिएको अर्थमन्त्रालयले जनाएको छ ।  

अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डेकाअनुसार चेक पोइन्ट पुनर्निर्माण गर्न चीन सहमत भएसँगै छिट्टै नाका खुल्ने विश्वास सरकारले गरेको छ ।  उनले भने, ‘चीन भत्किएको चेक पोइन्ट पुनर्निर्माण गर्न सहमत भएको छ, यसलाई चीन छिट्टै नाका खोल्न पनि तयार हुनेछ भन्ने बुझ्नुपर्छ । यसअघि चीनले नेपाल तिरको बाटो पुनर्निर्माणका लागि दिएको १६ अर्ब पनि खर्च गर्दै छिटो काम गरे छिट्टै नाका सुचारु हुनेछ ।’

यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।

यसअघि गत असारमा काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११औं बैठकमा दुबै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका थिए । बैठकमै भन्सार नाकाको पुनर्निर्माण र थप संरक्षण कार्यको लागि करिव २ अर्ब रुपैयाँ चीन सरकारले छुट्याएको चिनियाँ पक्षले जानकारी सरकारलाई गराएको थियो ।

बिहिबार भएको सम्झौतामा नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोग अन्तर्गत तातोपानी भन्सार नाकासँगै सिन्धुपलाञ्चोक अस्पताल र जिरी माविको पुनःनिर्माणको विषय समेत समेटिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्