
काठमाडौं, ९ चैत– नेपालमा अहिले पनि पर्याप्त रुपमा स्वास्थ्यसँग सम्बन्धित सेवा र पूर्वाधार विकास हुन सकेका छैनन् । ग्रामिण क्षेत्रका जनताका लागि एक–दुई औषधिको नाम जान्ने मानिस नै डाक्टर हुन्छन् ।
ग्रामिण क्षेत्रको स्वास्थ्य अहिले पूर्ण रुपमा अनमी तथा अहेबहरुको हातमा छ भन्दा पनि हुन्छ । शहरी क्षेत्रका अस्पतालमा नै पर्याप्त पूर्वाधार नभएको अवस्थामा ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीमा आधुनिक उपकरणबाट स्वास्थ्य सेवा प्रवाह गर्नु कल्पना बाहिरको कुरा हो ।
तर कतिपय यस्ता व्यक्ति पनि हुन्छन्, जो परम्परागत विधि र आधुनिक प्रविधिको संयोजनबाट ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेका छन् । तिमध्ये एक हुन्, श्यामसुन्दर पोखरेल ।
गुल्मीको पल्लिकोट स्वास्थ्य चौकीका सिनियर अहेब पोखरेलले केही दिन अगाडि मात्रै निक साइमन्स अवार्ड पनि पाएका छन् । स्वास्थ्य चौकीको व्यवस्थापन तथा ग्रामिण क्षेत्रका उत्कृष्ट रुपमा स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै निक साइमन्स इन्स्टिच्यूट नेपालले पोखरेललाई सम्मान गरेको हो ।

विगत १८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय उनै पोखरेललाई हामीले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, चुनौती र सम्भवनाबारे कुराकानी गरेका छौं । ‘लोकान्तर हेल्थ शो’का लागि रिता लम्सालले गरेको कुराकानीका क्रममा पोखरेलले ग्रामिण क्षेत्रमा अहिले पनि रोग चिन्न लक्षणको आधारमा हेरेर मात्रै काम चलाउनु परिरहेको बाध्यता सुनाए । साथै आधुनिक उपकरण नहुँदा छामेर रोग पत्ता लगाउनुपर्ने अर्को बाध्यता पनि उनले सुनाए ।
यद्यपि स्वास्थ्य चौकीमा भएका स्रोतसाधनबाट पनि ग्रामिण जनतालाई सेवा दिइरहेको उनको भनाइ थियो । आफूमा इच्छा शक्ति र स्वास्थ्यकर्मीबी समन्वय हुँदा ग्रामिण क्षेत्रमा प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सकिने उनको विश्वास छ ।