कात्तिक २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
काठमाडौं, ६ वैशाख– दिलबहादुर घर्तीलाई सानैदेखि डोजर, स्काभेटर चलाउने रहर थियो । रहर पुरा गरेसँगै रोल्पालीको मस्तिष्कमा साउदीमा गएर स्काभेटर हाँक्ने र परिवारको अवस्थामा सुधार ल्याउने रहर जाग्यो ।
दिलबहादुरलाई साउदीमा पहिला ट्रक चलाउन भनियो तर स्क्याभेटर चलाउन बनेका हातहरुले ट्रकको स्टेरिंग धान्न सकेनन् । जसको परिणाम उनी दुर्घटनामा परे । दिलबहादुरले चलाएको ट्रकको ठक्करले एक स्थानीय नागरिकको ज्यान गयो ।
साउदी गएको तीन महिना मात्र भएको थियो, उनको ट्रक चलाउने लाइसेन्स कम्पनीले बनाइदिएको पनि थिएन ।
दिलबहादुरले काम गर्न पाउने ‘वर्क परमिट’ पनि पाएका थिएनन् । कम्पनीले उनलाई तीन महिनासम्म गैरकानुनी हैसियतमा राखिरह्यो । अनि भिराइदियो एउटा थोत्रो ट्रक ।
जेलमा परे लगत्तै उनलाई त्यहाँको अदालतले दुई लाख पच्चीस हजार रियाल अर्थात करिब ६५ लाख नेपाली रुपैयाँ ‘ब्लड मनी’ (अरबी भाषामा दिया) दिए मृत्युदण्ड नहुने फैसला गर्यो । साउदीमा ज्यान मारेको अभियोग लागेकालाई मृतकका परिवारले ब्लडमनी लिएर आममाफी दिन सक्ने व्यवस्था छ ।
कम्पनीले यसरी गर्यो झेल
रियादमा रहेको ‘माजिद अल दियावाही कन्स्ट्रक्सन इस्ट रियाद’ नामको कम्पनीले दिलबहादुरलाई नेपालबाट लिएर मात्र गयो र हातमा एउटा ट्रक थमाइदियो । उनको ट्रक चलाउने इजाजत थिएन । लाइसेन्स तथा इजाजत नभएका दिलबहादुरलाई ट्रकमा हात पनि बसेको थिएन । २०७३ जेठ ३१ गते ‘ओतिक विन दिगफा’ नामको स्थानीय नागरिकमाथि उनको ट्रक कुद्यो । घटनास्थलमै ओतिकको ज्यान गयो ।
दिलबहादुरलाई प्रहरीले लिएर गयो । त्यसबेला उनले कसैसँग सम्पर्क गर्न पाएनन् । हातमा लाइसेन्स थिएन, काम गर्ने ‘वर्क परमिट’ थिएन । दिलबहादुरलाई हत्याको अभियोग लाग्यो र त्यहाँको स्थानीय अदालतले मृतकको परिवारसँग छलफल गरेर ६५ लाख रुपैयाँ ब्लडमनी तिरे मृत्युदण्ड नदिइने फैसला गर्यो । यतिबेलासम्म रोल्पामा रहेको घर्तीको परिवारमा ठूलै भूकम्प गैसकेको थियो ।
रियादको स्थानीय अदालतले ब्लडमनीको फैसला गरिसकेपछि उनले काम गर्ने कम्पनीका अधिकारीहरु उनलाई भेट्न जेल आए । ‘हामीले तिम्रो ब्लडमनीको पैसा तिरीसक्यौं, यसमा सही गर्यौ भने तिमी तीन दिनमा घर जान पाउँछौ’ भनेर पासपोर्ट र नक्कली टिकट ल्याएर दिए ।
अरबीमा लेखेको कागजमा उनले खुसी भएर सही गरिदिए र टिकट अनि पासपोर्ट लिए । तर त्यहाँ ‘म दिलबहादुर घर्ती आफ्नै राजीखुसीमा ट्रक चलाएको हुँ र यो दुर्घटनाको जिम्मेवार पनि म एक्लै हुँ’ भन्ने वेहोरा भएको उनले थाहा पाएनन् । भाषालाई हतियार बनाएर कम्पनीले उनीमाथि खेल खेल्यो र आफू उम्कियो ।
श्रीमतीको दौडधुप र हारगुहार
“सिलाईकटाई गरेर छोराको पढाई धानिरहेकी छु” यसो भन्दा दिलबहादुरकी श्रीमती मनिता बुढामगरको आँखाभरी टिलपिल आँशु भरियो । गोंगबुको ‘होटेल इष्टमित्र’ मा बसेकी उनलाई भेट्न जाँदा उनी सलको सप्कोले आँशु पुछ्दै थिइन् ।
“जेठमा वहाँ जेल पर्नु भो, वहाँलाई छुटाउन भनेर भनसुनको लागि म ०७३ सालको मंसिरदेखि ७४ जेठसम्म यहि होटेलमा आएर बसें’ भावविह्वल हुँदै उनले भनिन् ‘तीन वर्षको छोरा साथमा लिएर कैयौं नेताहरुलाई भेटे ।’
भेटमा उनले प्रधानमन्त्री प्रचण्डसँग यस विषयमा कुरा गरिन् । आश्वासन पनि पाइन् ।
‘त्यतिबेला हाम्रै गाउँका नेताहरु ठूला पदमा थिए । ओनसरी सभामुख हुनुहुन्थ्यो, कृष्ण बहादुर महरा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो, बर्षमान पुन हाम्रै दाजुभाई पर्नुहुन्छ’ उनले भनिन्,‘कैयौं चक्कर सिंहदरबारमा लगाएँ, नेताहरुको निवासमा लगाए, तर कसैले काम गरेनन् ।’
यसबीचमा साउदीस्थित नेपाली दूतावासका प्रथम सचिव बिजय रावतले उनका पति दिलबहादुरको मुद्दा एक जना पाकिस्तानी वकिलमार्फत पुनरावेदन गराउन सफल भए ।
त्यतिबेलासम्म ‘दिलबहादुर बचाउ अभियान’ चलिसकेको थियो । साढे पाँच लाख रकम पनि उठ्यो ।
बाँकी पैसा पनि उठ्ने कुरामा मनिता आशावादी थिइन् तर दिलबहादुरको मुद्दा त्यहाँको उच्च अदालतमा पुनरावेदन गरेपछि अर्को फैसला हुन सक्ने भन्दै अभियान रोक्न दूतावासले आग्रह ग¥यो ।
पुनरावेदनको मुद्दा लम्बियो । पुनरावेदनको केस चलिरहँदा उनी जहाँ जहाँ सहयोग माग्न गइन् त्यहाँ मुद्दा चलिरहेको र सकिएपछि निर्णय अनुसार केही गरौंला भन्ने जवाफ पाइन् ।
“तर सर ! म रोल्पाली चेली हुँ, सजिलै पछि हट्ने मेरो बानी होइन । श्रीमानलाई फिर्ता ल्याउन जस्तोसुकै दुख भोग्न नी तयार छु” उनले लोकान्तारसँग भनिन् ।
साउदी जानु भन्दा पहिला के गर्थे उनीहरु ?
मनिता र दिलबहादुरको विवाह भएको ९ वर्ष भयो । उनीहरुको आठ वर्षीय एक छोरी र चार वर्षीय एक छोरा छन् ।
मनिताको माइती रोल्पा नगरपालिकाको वडा नम्बर आठ जंगकोट मा हो भने घर सोही नगरपालिकाको वडा नम्बर दशमा हो । घर भन्दा माइती अलि सुगम र व्यापारसमेत हुने भएका कारण मनिताले विवाह पूर्व नै सिलाइकटाइको काम गर्थिन् ।
छोरी जन्मेको डेढ वर्षमा दिलबहादुर पहिलो पटक साउदी पसे । त्यहाँ उनले दुई वर्षसम्म रंगलगाउने काम गरे । मनिता भने माइतीमै बसेर सिलाई गरिरहिन् । “त्यतिबेला खाना लाउन खासै दुःख भएन, वहाँले अलि अलि पैसा पठाइदिनुहुन्थ्यो । म अलिअलि कमाउँथे र वहाँ जाँदा लागेको ऋण तिर्न र घर खर्च चलाउन ठिक्क भयो” विगत सम्झदै मनिताले भनिन् ।
मनिताको बुबा सानैमा बितेका थिए । आमा भने दिलबहादुर साउदीमा जेल पर्नुभन्दा केही दिन पहिला मात्र बितिन् । दिदीहरु सबैको बिहे भैसक्यो । एउटा दाई २०५९ सालमा गोर्खामा तत्कालिन माओवादी र शाही सेनाको लडाइमा परेर बिते । उनी माओवादी सेनामा थिए । अर्को दाई विदेश गएका छन् र परिवारलाई दाङमा छोडेका छन् । माइतीको घर खाली छ, जहाँ अहिले मनिता उनकी छोरीसँग बस्छन् ।
पहिलोपटक साउदी गएपछि दिलबहादुरले डोजर, स्क्याभेटर चलाउनेहरुले धेरै पैसा कमाएको प्रत्यक्ष देखे । उनी अर्कोपटक त्यही भिसामा जाने मन बनाएर फर्के ।
स्क्याभेटर चलाउने सानै देखिको रहर पुरा गर्न दिलबहादुर काठमाडौँ आए । स्क्याभेटर चलाउन सिके र नेपालमा स्क्याभेटर चलाउन पाउने गरी लाइसेन्स पनि बनाए । यसबीचमा उनी वैदेशिक रोजगारीका लागि म्यानपावरहरु पनि धाउन थाले ।
दिलबहादुरकै मामा पर्ने किरण घर्तीमगरले ‘डेस्टिनी ओभरसिज प्राली’मा लगे, पासपोर्ट र एडभान्स दिएको तीन महिनामा ‘स्क्याभेटर अपरेटर’को भिसा आयो त्यसका लागि उनले एक लाख पैचालिस हजार बुझाए र साउदी उडे । डेस्टिनी ओभरसिजका संचालक सुमन श्रेष्ठ र श्याम थापा हुन् ।
साहुको ताकेता
एक लाख पैंतालिस हजार गाउँकै आफन्तबाट ऋण लिएर दिलबहादुर साउदी पसेका थिए । दुई वर्षअघि लिएको त्यो पैसा फिर्ता गर्न साहुबाट बारम्बार ताकेता आईरहेको छ । साहुको नाम भने मनिताले खुलाइनन् । उनी भन्छिन्, “त्यहिँ बस्नुपर्छ, ऋणधन त्यहिँ गर्नुपर्छ । दुईवर्षसम्म ऋण तिर्न नसक्नु हाम्रै कमजोरी पनि हो । अब वहाँ आउने बेलासम्म कुर्नुस भनेकी छु । बुढाबुढी मिलेर कमाएर तिर्छु भन्दै टार्दै गरेकी छु ।”
“अलि अस्ति नै अभियान मार्फत उठेको पैसा भए पनि देउ भन्दै हुनुहुन्थ्यो’ उनले भनिन्,‘तर मलाई ऋण तिर्नु भन्दा पनि वहाँलाई पहिला नेपाल झिकाउनु छ ।’
छोरी नमुनाले बारम्बार बाबा कहिले आउनुहुन्छ भानिरहन्छे तर छोरालाई बाबाको उस्तो याद छैन । बाबा साउदी जाँदा छोरा दुई वर्षको थियो । मनितालाई छोराछोरीको पढाई पनि धान्नु छ । अहिले दिदीहरु र दाइले आवश्यक सहयोग गर्ने गरेका छन् ।
पुनरावेदनको फैसला र अबको बाटो
दूतावासले विभिन्न कुटनैतिक तरिकाले पहल गर्दा पनि पीडित पक्ष नरम नभएपछि अन्ततः साउदी उच्च अदालतले पुरानो फैसलालाई नै सदर गरेको छ ।
गत फागुन बीस गतेको फैसलाले दिलबहादुरले पुरानै फैसला अनुसार २ लाख २५ हजार रियल (करिब ६५ लाख नेपाली रुपैयाँ) ब्लडमनी तिर्नुपर्ने छ ।
यसको जानकारी पाएपछि मनिताले दूतावासमार्फत आवश्यक कागजपत्र मगाईन् । दिलबहादुरको मुद्दा एकजना पाकिस्तानी वकिलले लडेका थिए । अरबीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा ‘ट्रान्स्लेट’ गरिएका कागजहरुमा प्रष्ट र बुझिने भाषा छैन तर आधिकारिक भएकोले त्यसले कुनै समस्या पार्ने छैन ।
मनिता गत बैशाख एक गते आफ्ना छोराछोरी दिदीहरुको जिम्मा लगाएर काठमाडौँ आइन् । त्यस दिनदेखि उनी होटेल इष्टमित्रमै बस्छिन् । उक्त होटेल उनको आफन्तको होटेल हो । पहिला चलाएको अभियानलाई पुनः निरन्तरता दिने र त्यसको लागि सबैले सहयोग गर्ने मनिताले आशा लिएकी छिन् ।
“ब्लडमनीको अभावमा विदेशी जेलमा मृत्यु कुरिरहेकाहरुलाई सरकारले पैसा जुटाइदिने भनेर त्यतिबेलाको प्रधानमन्त्री प्रचण्डले भाषण गरेको सुनेर म वहाँलाई भेट्न गएकी थिएँ तर कर्मचारीहरुले त्यो भाषण मात्र भएको र लागू नभएको भनेर फर्काईदिए ।” उनले आँशु पुछ्दै भनिन् ।
(दिलबहादुरलाई स्वदेश फर्काउन आवश्यक पर्ने ब्लडमनि संकलनको लागि बाणिज्य वैंकमा ११९००२६७४६१० नम्बरको खाता खोलिएको छ । सहयोगी मनहरुले खातामा रकम जम्मा गरेर सहयोग गर्नसक्नुहुनेछ ।)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...