
काठमाडौं, १६ वैशाख– नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) प्रजित केसीविरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराधअन्तर्गत मुद्दा दर्ता भएको छ ।
गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याएर हराएको भनिएको तस्करीको ३३ किलो सुन त्योसँगै जोडिएको मोरङका सनम शाक्य हत्या प्रकणमा डिएसपी केसीको संलग्नता देखिएपछि मोरङ प्रहरीले उनीविरुद्ध संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरेको हो ।
जिल्ला अदालतले उनीमाथि छानवीनका लागि ३ दिन हिरासतमा राख्न आइतवार म्याद थप गरेको छ ।
सनम शाक्य हत्या प्रकरणमा अनावश्यक चलखेल गरेको भन्दै गृह मन्त्रालयको समितिले उनीसँग बयान लिइरहेको थियो । गृहको समितिले बयान लिइरहेकै बेला केसी शनिवार एकाएक जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका थिए ।
मोरङ पुगेका केसीलाई नियन्त्रणमा लिएर आज अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
सुन तस्करीमा भरिएका रुपमा संलग्न रहेको भनिएका सनम शाक्यको हत्या भएका दिन डिएसपी केसी मोरङ आएको तथ्य गृह मन्त्रालयको छानवीन समितिले पत्ता लगाएको छ ।
शाक्यकको हत्या हुँदा केसी महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए । सनम शाक्यको हत्या र ३३ किलो सुन तस्करीमा केसीसँगै अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेल पनि तानिएका थिए ।
सोही प्रकरणमा मुछिएका कारण तीनै जनालाई अपराध महाशाखाको जिम्मेवारीबाट हटाएर गत चैत २२ गते प्रहरी प्रधान कार्यालय तानिएको थियो । सई सञ्जेल यसअघि नै प्रहरी हिरासतमा छन् भने डिएसपी केसी पनि आइतवार हिरासतमा पुगेका छन् ।
आइतवार डिएसपी केसीविरुद्ध म्याद थप भएपछि ३३ किलो सुन तस्करी र त्यससँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा प्रहरी हिरासतमा हुनेको संख्या २८ पुगेको छ । जसमध्ये ४ जना वहालवाला र १ जना पूर्व प्रहरी अधिकारी पनि छन् ।