
जनकपुरधाम, २० वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा वैशाख २८ गते जनकपुर आउँने कार्यक्रम रहेको छ । उनको स्वागतको लागि जनकपुरमा तयारी गरिएको छ ।
जनकपुर भ्रमणका क्रममा मोदीले उक्त क्षेत्रको पूर्वाधार विकासमा विशेष प्याकेज घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।
मोदीले भ्रमणका क्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले तयार गरेको ४ अर्ब रकमको परियोजना घोषणा गर्नसक्ने सम्भावना उच्च रहेको बताइएको छ ।
परिषद्का प्राबिधिक इन्जिनियर बिमलेश साहका अनुसार जनकपुरको विकासका लागि बृहत्तर जनकपुरले तयार पारेको योजना भ्रमणका क्रममा मोदबाट स्वीकृत हुने सम्भावना प्रबल छ ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरीसँग जनकपुर विकास परिषद् अध्यक्ष शालिग्राम सिंहले भेट्दा पुरीले परियोजना तयार गरेर पेश गर्न आग्रह गरेका थिए । पुरीले नै पेश गर्न आग्रह गरेका कारण परिषद्ले पेश गरेको योजना मोदी भ्रमणका क्रममा स्वीकृत हुनेमा परिषद् पदाधिकारी आशावादी छन् ।
‘त्यसकै स्वीकृतिका लागि पहल गर्न हाम्रो अध्यक्ष सिंह बिगत केही दिनदेखि भारतको हरिद्वार पुग्नु भएको छ’इन्जिनियर साहले लोकान्तरसँग भने,‘ भारतीय राजदूत पुरीलेसमेत आश्वासन दिएकाले उक्त परियोजना घोषणा हुन सक्ने सम्भावना छ ।’
पुरीले जनकपुर क्षेत्र विकास परिषद्ले तयार गरेको योजना दूतावास मार्फत भारतीय प्रधामन्त्रीकहाँ पुर्याएका छन् ।
के छ परियोजनामा ?
मिथिला परिक्रमा हुने मार्गमा धनुषा र महोत्तरीको प्रत्येक पडाव स्थलहरूमा कुल १७ करोड ४३ लाखको लागतमा सुबिधा सम्पन्न अत्याधुनिक धर्मशाला निर्माण गरिने योजना रहेको साहले बताए ।
उक्त परिक्रमाका दौरान धनुषाको जनकपुर, धनुषाधाम, सतोषर ,औरही र पर्बत्ता तथा महोत्तरीको मटिहानी,मडई, जलेश्वर,ध्रुबकुण्ड र कंचनबन गरी कुल ११ वटा स्थलहरू(पडाव) छन् भने भारतको समेत ४ वटा पडाव स्थलहरू पर्दछन् ।

परिक्रमा स्थलमा आधुनिक धर्मशाला
बृहत्तर जनकपुरले तयार गरेको परियोजना अनुसार प्रत्येक पडावमा निर्माण गरिने धर्मशालामा ४४ वटा कोठाहरू, प्रत्येक कोठामा अटयाच्ड बाथरूम, दुई वटा म्युजियम, २ वटा मीटिंग हल ,२ वटा खुल्ला हल, ४ वटा भर्यांग, बाहिर कमन १६ वटा बाथरूम, बीचमा एउटा मन्दिर निर्माण गरिने छ । ३१ हजार २ सय १० बर्ग फिट क्षेत्रफलमा निर्माण हुने उक्त धर्मशालाको नाम रामजानकी धर्मशाला राखिने छ । भुई र पहिलो तलको निर्माण हुने धर्मशालाको कुल लागत २ सय करोड नेपाली रुपियाँ अनुमान सहितको अनुमान र डिजाईन पेश गरिएको छ ।
अयोध्यादेखि जनकपुरसम्म ६ लेनको सडक
भारतको अयोध्यादेखि जनकपुरधामसम्म सडक जोड्ने योजनासमेत उक्त प्रतिवेदनमा पेश गरिएको छ । भारतको अयोध्यादेखि सीतामढी–भिठामोड्देखि जलेश्वरहुँदै जनकपुरसम्म ६ लेनको सडक निर्माण गरिने प्रस्ताव गरिएको छ । यसका अतिरिक्त भारतको सीतामढीमा एउटा भव्य जानकी मन्दिर निर्माण गरिने योजना समेत प्रस्तुत गरिएको बृहत्तर जनकपुरका प्राबिधिक साहले लोकान्तरलाई बताए ।
जनकपुरका सागरहरू जोडिने
जनकपुरको जानकी मन्दिरलाई केन्द्रबिन्दु मानेर जानकी मदिर वरपर रहेका बिभिन्न ५ वटा सागरहरु जोड्ने योजना समेत परियोजनामा समाबेश गरिएको छ । जनकपुरका गङ्गा सागर, धनुष सागर, तेलहा , मडाहा, अंगराजसरलाई जोडेर जल बिहार गर्ने योजना समेत समाबेश गरिएको उनले जानकारी दिए ।
जनकपुरमा धार्मिक भ्रमणका साथसाथै करिब डेढ किलोमिटर जलबिहार गर्नका लागि लाखौं ष्र्यटक जकपुर भित्र्याउन सकिने छ । यसरी कुल ४ सय करोडमा तीन वटा अलग अलग योजना सहितको परियोजना भारतीय राजदूतलाई यसअघि नै दिइसकिएको छ । अब मोदीले उक्त प्रस्ताव अनुसार नै सहायता घोषणा गर्न सक्ने आकलन गरिएको छ ।