१७ असार २०८३, बुधबार

'गाेल्ड डन'काे पक्राउ कि आत्मसमर्पण : भारत भागेका गोरे किन काठमाडौं आए ?

जेठ ८, २०७५
'गाेल्ड डन'काे पक्राउ कि आत्मसमर्पण : भारत भागेका गोरे किन काठमाडौं आए ?

काठमाडौं, ८ जेठ– नेपालमा संगठित समूह नै बनाएर हुने गरेको सुन तस्करीसम्बन्धी मुद्दा अहिले जिल्ला अदालत मोरङमा विचाराधीन अवस्थामा छ । २०४४–४५ सालदेखि हुने गरेको सुन तस्करी र त्यसमा संलग्न रहेको भनिएका ६५ जनाविरुद्ध सरकारले मुद्दा चलाएको छ । 

मुद्दा दर्ता गरिएकामध्ये ३३ जना पक्राउ परिसकेका छन् । वैशाख १९ गते जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दाका प्रमुख अभियुक्त हुन्, मोरङको उर्लाबारी नगरपालिका–४ घर भई काठमाडौं बस्दै आएका गोरे भनिने चूडामणि उप्रेती ।  

सुनकाण्डको छानबिन गर्न चैत २० गतेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले गोरेलाई मंगलवार ‘पक्राउ’ गरी सार्वजनिक गरेको छ ।  

गोरेको पक्राउ कि आत्मसमर्पण ? 

सुनकाण्डबारे स्थलगत समाचार संकलनका लागि अघिल्लो हप्ता मोरङ पुग्दा, गोरेका ‘आफन्त’ भनिएका केही व्यक्ति लोकान्तरकर्मीको सम्पर्कमा आएका थिए । लोकान्तरकर्मीसँगको कुराकानीमा उनीहरूले गोरे एक हप्ताभित्रै मोरङ जिल्ला अदालतमा उपस्थित हुने संकेत गरेका थिए । 

‘गोरे आफैं पनि अदालतमा उपस्थित हुन चाहेका छन् भन्ने कुरा हामीले थाहा पाएका छौं,’ अनौपचारिक कुराकानीका क्रममा आफूलाई गोरेको आफन्त भन्ने एक व्यक्तिले भनेका थिए, ‘सरकारले वातावरण बनायो भने उनी अदालतसमक्ष आत्मसमर्पण गर्न चाहन्छन् ।’

गोरेका आफन्तले त्यस्तो भनेको ५ दिनपछि गृह मन्त्रालयका सह–सचिव नेतृत्वको समितिले गोरेलाई पक्राउ गरेको भनी सार्वजनिक गर्‍यो ।

सह–सचिव पौडेलले भारतमा रहेका गोरे काठमाडौं आएको सूचना पाएपछि आफूहरूले मंगलवार बिहान ५:३० बजे पक्राउ गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरे । पत्रकारका प्रश्न सुन्न इन्कार गरेका सह–सचिव पौडेलले गोरे काठमाडौं आउन लागेको भनेर ३ दिनअगाडि सूचना पाएको र सोहीअनुसार उनलाई पक्राउ गर्न परिचालन भएको पनि जानकारी दिए । 

भारत भागेका गोरे किन काठमाडौं आए ? 

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन सोही दिन बेपत्ता भएको भनियो । विमानस्थलबाट सुन भित्रिएको दिन गोरे भारतको कलकत्तामा थिए । 

सुन बेपत्ता भएको भन्ने हल्ला चलेपछि ८ दिनपछि गोरे काठमाडौं फर्किए । सरकारले गठन गरेकै समितिले गरेको अनुसन्धानअनुसार गोरे सुन तस्करीमा ‘म्यानेजर’को भूमिकामा थिए । सुनमा लगानी गर्नेहरू एमके अग्रवाललगायत थिए ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट काठमाडौं सुन ल्याएर बुझाउने वाचाका साथ गोरेले विभिन्न व्यापारीबाट पैसा उठाएका थिए । तर सुन काठमाडौं अाइपुग्न नपाउँदै बेपत्ता भएको प्रचार भएपछि लगानीकर्ताहरूले गोरेलाई पनि यातना दिए ।

सुनमा लगानी गर्नेहरूको यातनाबाट बच्न गोरेले सुन खोजेरै छाड्ने वाचा गरे र आफूसँगै काम गर्ने व्यक्तिलाई यातना दिन थाले । सुनकाण्डको अनुसन्धान गरिरहेको गृह मन्त्रालयको समितिका एक अधिकारी सुन गोरेले नै बेपत्ता पारी व्यापारीको पैसा पचाउन खोजीको नाटक गरेको पनि भन्छन् । 

सुन खोज्ने भनेर गोरेले आफू मातहत काम गर्ने व्यक्तिलाई नै यातना दिन्थे र त्यसको भिडियो बनाएर सुनका लगानीकर्तालाई खोजी भइरहेको विश्वास दिलाउँथे । यातना दिइरहेकै अवस्थामा फागुन १८ गते मोरङ उर्लावारी–७ का सनम शाक्यको मृत्यु हुन्छ । 

सनमको मृत्यु पछि गोरे प्रहरीकै मद्दतमा भारत भाग्छन् । तर जब मुद्दा अदालतमा पुगिसक्छ, गोरे एकाएक काठमाडौं आउँछन् र पक्राउ पर्छन् । 

गोरेको इन्काउन्टर गर्ने तयारी थियो ? 

अहिले सामाजिक सञ्जालमा एउटा पत्र भाइरल भइरहेको छ, जसमा गोरेले गरेको भनिएको हस्ताक्षर उल्लेख छ । नेपाल मानव अधिकार संगठनका नाममा लेखिएको पत्रमा चूडामणि उप्रेती गोरेले आफ्नो जीवन रक्षाका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

गोरेले पत्रमा ३३ किलो सुन प्रकरणमा आफूलाई मात्र दोषी देखाई अरु सबै उम्किने प्रयासमा रहेको र विभिन्न व्यक्ति तथा पक्षले ज्यान लिने प्रयास समेत गरेको भन्दै ज्यान जोगाइदिन भन्दै संगठनका ‘महासचिव’ केपी सुवेदीको नाममा पत्र पठाएका छन् । 

पत्रमा गोरेले आफू अदालतमा आत्मसमर्पण गर्न तयार रहेको त्यसको व्यवस्था मिलाइदिन पनि आग्रह गरेका छन् । 

गोरेले पत्र पठाएको त्यही मानव अधिकार संगठन हो, जसले ‘स्वतन्त्र मधेस’का अभियान्ता सिके राउतलाई सरकारले पक्राउ गर्दा समेत विरोध जनाउने गर्छ । 

पत्रको बारेमा बुझ्दा नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गोरेले लेखेको भनेको पत्र आफ्नो कार्यालयमा दर्ता नभएको बताए । ‘आफ्नो जीवन रक्षाका लागि पहल गरिदिन भनेर जो–सुकैले पनि पत्र पठाउन सक्छन्,’ अध्यक्ष अर्यालले भने, ‘तर चूडामणि उप्रेती (गोरे)ले पठाएको पत्र हाम्रो कार्यालयमा दर्ता भएको छैन ।’

गोरे जीवन रक्षाका लागि अनुरोध भनेर पठाएको पत्रमा महासचिव भनिएका केपी सुवेदी नेपाल मानव अधिकार संगठनका १ नम्बर प्रदेशका इञ्चार्ज हुन् ।

salt training

कमेन्ट गर्नुहोस्