२५ असार २०८३, बिहीबार

नेपालमा हिन्दू धर्ममाथिको आक्रमण, के हो कारण ?

कात्तिक २०, २०७४
नेपालमा हिन्दू धर्ममाथिको आक्रमण, के हो कारण ?
देशमा दोस्रो जनआन्दोलनपछि धर्मपरिवर्तन गराउने व्यवसाय फस्टाउँदै गइरहेको छ । धर्मको विज्ञापन यसरी गरिन्छ, मानाैं कुनै महंगो ब्रान्डेड कम्पनीको सामानका लागि उपभोक्ता खोजिँदैछ ।

बदलिँदो राजनीतिक परिवर्तनसँगै हिन्दू धर्ममाथि खासगरी क्रिस्चियनहरूको प्रहार बढ्दो छ । पश्चिमा मुलुकहरू भौतिकवादका पक्षधर मानिन्छन् तर तिनै भौतिकवादीहरू अर्काको धर्मपरिवर्तन गर्न लागेका छन् ।

समय त सिधा नै चलिरहेको छ आफ्नो गतिमा तर यतिखेर शायद नियतिले चक्र मार्दैछ । चक्र यस अर्थमा कि औद्योगिक पूँजीवादका कट्टर पक्षधर भनेर चिनिने पश्चिमा मुलुकहरू धर्मविस्तारमा उत्तिकै सक्रिय देखिएका छन् । लाग्दैछ अबको समाजवाद भनौं या उपनिवेशवादको अभ्यास धर्मको सहारामा हुँदैछ । इतिहासलाई हेर्ने हो भने पनि अल्पसंख्यकहरूले मान्ने धर्मका अनुयायीहरू शून्यप्रायः बनिसकेका छन् ।

किन नेपालमै हिन्दू धर्ममाथि प्रहार हुँदैछ ?

नेपालमा हिन्दू धर्ममाथि प्रहार हुनुको प्रमुख कारण तिब्बतको स्वतन्त्रताको आन्दोलनलाइ बल पु–याउनु हो भनेर विभिन्न विद्वान् विश्लेषकहरूले भन्दै आइरहेका छन् । तर म यसको यतिमात्र कारण देख्दिनँ ।

विश्वका उदीयमान दुई अर्थतन्त्र चीन र भारतलाई नजिकबाट बुझ्ने र नजिकबाट सामाजिक तथा सांस्कृतिक विचलनलाई सघाउँदै अस्थिरतालाई बल पु–याउन यसभन्दा अर्को राम्रो गन्तव्य नै छैन ।

अहिले सतहमा तिब्बतको स्वतन्त्रता आन्दोलन अगाडि देखिएतापनि पर्दापछाडि भारतले गर्ने प्रगति र भविष्यको सम्भावित खतरामा पनि पश्चिमा मुलुकहरूको नजर गढेको छ भन्ने ठान्दछु म । चीन र भारत दुवैमा स्वार्थ ड्राइभ गर्ने यसभन्दा अर्को सुरक्षित क्रीडास्थल नै हुन सक्दैन पश्चिमा मुलुकहरूका लागि, तसर्थ यहाँ इसाईकरणको प्रयास घनीभूत बनाइँदैछ ।

उनीहरूको स्वार्थ पूरा गर्ने हाम्रा कमजोर आधारहरू समाउँदै अगाडि बढ्दै छन् । जस्तै, जातीयताको मुद्दा लगभग इसाईकरणको रूपान्तरित स्वरूप हो, जुन अहिलेको अस्थिरताको प्रमुख कारण पनि बनेको छ । आउँदा दिनहरूमा यस्तै अन्य कारणको प्रयोग गरिँदै जाने छन् । उनीहरूको लक्ष्य नभेटिएसम्म र समृद्धिले हामीलाई अरूको प्रायोजित गोटी बन्नुनपर्ने स्थितिमा नलगेसम्म यो सिलसिला चलिनैरहनेछ ।

हामीकहाँ वैदेशिक सहयोग सँगसँगै वैदेशिक स्वार्थ पनि आयात हुँदैछ । त्यही आयातको नतिजा हो पछिल्लो समयको इसाईकरण । राजनीतिक परिर्वतनसँगै संक्रमणकालले दशकौंसम्म जरो गाड्नुमा यो वैदेशिक स्वार्थको पनि उत्तिकै योगदान छ, जति हामीभित्रको आन्तरिक कलहको छ । मलाई त हामीभित्रको कतिपय आन्तरिक कलह पनि यसैको बिम्ब हो झैं लाग्छ । हामीभित्रका केही आन्तरिक तत्त्वहरू यही स्वार्थबाट परिचालित हँुदैछन् ।

हिन्दू धर्मको सहिष्णुतालाई नै कमजोरी ठानियो

हिन्दू धर्म धार्मिक सहिष्णुताको नाममा गरिएका प्रत्येक प्रहारलाई जायज मान्दै सहनशीलताको सिद्धान्त अवलम्बन गरिरहेको छ । धार्मिक सहिष्णुताको आदतले हामीलाई निष्क्रिय बनाइदियो र निष्क्रिय रहेर कुनै पनि नकारात्मक परिवर्तनको प्रयासमा रुकावट बन्न पनि सकिँदैन ।

म यहाँनेर धार्मिक द्वन्द्व होइन, आफैंभित्र गरिनुपर्ने सकारात्मक प्रयासलाई औंल्याउन खोज्दैछु । यसबीच हिन्दूहरूले मनाउने चाड र उत्सवहरूमा नयाँपन दिन नसक्नु हिन्दू धर्मको एउटा कमजोरीको रूपमा लिन्छु म । समयको वेग र आधुनिकताको सिलसिलासँगै प्रत्येक कुरामा सकारात्मक रूपान्तरण आवश्यक हुन्छ ।

लाग्छ, हिन्दू धर्म मान्दै आएका धर्मपरिवर्तनको शिकार बनेकाहरूको खोज शायद त्यही नै पो थियो कि ? दलितलाई मन्दिर प्रवेश गर्न नदिएर क्रिस्चियन बनाउनु उनीहरूको अपराधभन्दा हाम्रो कमजोरी र रुढिवाद ठूलो कारण हो ।

हिन्दू संस्कारलाई सनातनदेखि अनन्तसम्म कायम राख्न केही समयसापेक्ष प्रयासहरू जरूरी देख्छु म, हिन्दू धर्म र धर्मपरिवर्तनको विरोधका लागि खुलेका संगठन तथा राजनीतिक दलहरूले यस विषयमा बृहद् बहस चलाई सकारात्मक प्रयोगको बाटो खोज्ने बेला भएको छ अब ।

लेखक घिमिरे
आधुनिकताका अन्य प्रभावभन्दा बढी नेपालमा प्रदर्शन प्रभाव हावी हुनु पनि धर्मपरिवर्तनको अर्को बाध्यात्मक कारण हो ।

जस्तो, वैशाखको नयाँ वर्षभन्दा जनवरी १ लाई हामी आधुनिक उत्सवको रूपमा मनोरञ्जन गर्न थालेका छौं । यो फेशनजस्तै आदत पनि बनिसक्यो ।

न्यू इयर ईभमा ठमेलमा अंग्रेजी गीतमा हल्लिन नजाने तन्नेरी साथीहरूको माझमा नीच दृष्टिले हेरिन्छ ।

हिन्दू धर्म मात्र नभएर विश्वकै पुरानो सभ्यता हो भन्ने कुरामा दुईमत छैन तर यो सभ्यताको इतिहासलाई कसरी दिगो राख्न सकिन्छ भन्ने कुराको चिन्तन कतै हुने गरेको पाइँदैन । त्यसकै कारण भविष्यमा यो विराट संस्कृति गुम्ने खतरा बढ्दै गइरहेको छ ।

मानव आवश्यकता सबैभन्दा ठूलो धर्म

नेपालभित्रको गरिबीलाई इसाईकरणको अर्को सक्षम आधारको रूपमा लिइँदै आइरहेको पाइन्छ, गरीबलाई धनी हुने आशा र आधारभूत आवश्यकताको सहज प्राप्ति धर्मभन्दा ठूलो मर्म हो ।

त्यही मर्ममा प्रहार गर्दैछ यसबखत इसाइको राजनीति । वैशाख १२ को भूकम्पपछि इसाईकरणले भूकम्पपीडितको मर्ममाथि पनि प्रहार ग–यो ।

ती चिसा आँखासँग चामल र पालको राजनीति गर्दै प्रत्येक गाउँमा चर्च स्थापना गरेर ईश्वरलाई उनीहरूको नजिक आभास गराउने अर्को दुष्कर्म रचियो । मलाई लाग्छ, धर्मभन्दा ठूलो त मानवीय आबश्यकता हो । भोको पेटले कुनै पनि धर्म मान्दैन । तर यहाँ त्यही भोको पेटमा कुल्चिएर धर्मको साम्राज्यको कल्पना गरिँदैछ ।

धर्म र आस्थासँग मात्र इसाईकरणको यो प्रयास जोडिएको छैन । यहाँ इसाईकरण साम्राज्य विस्तार र व्यापारको अदृश्य स्वार्थ बोकेर धर्म र आस्थाको आवरणमा हिन्दू आस्था, सभ्यता र संस्कारमा धावा बोलिरहेको छ ।इसाईकरणको मार्केटिङलाई म एउटा गुणस्तरहीन सामानको डोर टु डोर मार्केटिङसँग तुलना गर्न चाहन्छु ।

मानिसले ईश्वर खोज्ने होइन, ईश्वरले मानिसको दुःख खोज्दै समाधानको बाटो देखाउने हो भन्ने भ्रामक सोचलाई अभिनयमा उतार्दैछन् इसाइहरू । इसाईकरण सरासर राजनीतिक प्रयास हो । यहाँ धर्म, आस्था र संस्कारलाई त्यसको साधन मात्र बनाइँदैछ । इसाईकरणको प्रयासमा उनीहरू इसाइ धर्मको मर्मलाई नै पनि विक्षिप्त पार्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्