३० जेठ २०८३, शनिबार

बालकृष्ण ढुंगेलको रिहाइ – कानूनको पालना कि उल्लंघन ?

जेठ १५, २०७५
बालकृष्ण ढुंगेलको रिहाइ – कानूनको पालना कि उल्लंघन ?

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेलको सजाय माफीको प्रयास तत्कालिन बाबुराम भट्टराईको पालामा पनि भएको थियो ।  तर त्यतिबेला सर्वोच्चले उक्त सिफारिस कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि ढुंगेलको सजाय माफीको प्रकृया रोकिएको थियो । 

यस पटक पनि सर्वोच्चमा उनको सजाय माफी विरुद्ध सुनुवाई चलिरहेको छ । 

ढुंगेलको जेलमा रहँदाको पछिल्लो आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले गणतन्त्र दिवसको अवसर पारेर कैद मिनाहा गर्न सिफारिस गर्यो । उक्त सिफारिस विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिट उपर सुनुवाई जारी रहेकै बखत राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलको कैद मिनाहा स्वीकृत गर्नुभएको हो ।

गणतन्त्र दिवसको अवसरमा ढुंगेल लगायत ८४० कैदीहरूको सजाय मिनाहा गर्ने गृहमन्त्रालयको सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरे लगत्तै राष्ट्रपति समक्ष पठाइएको थियो । ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको निष्कर्षसहित गृहमन्त्रालयले सिफारिस तयार गरेसँगै मानवअधिकारवादीहरु क्रुद्ध भएका थिए ।

यसबीचमा अदालतले ढुंगेललाई रिहाई गर्ने सिफारिससहितको सक्कल फाइल आएपछि मात्र सुनुवाई गर्ने तयारी गरिरहेको थियो तर सुनुवाई प्रक्रिया नसकिँदै राष्ट्रपतिले ‘कैद मिनाहा’ स्वीकृत गरेपछि ढुंगेल रिहा भएका हुन् ।

पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर दुईका लागि नेकपा माओवादीबाट प्रत्यक्ष निर्वाचित बालकृष्ण ढुंगेल सभासद् रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको भएपनि ढुंगेल पक्राउ परेका थिएनन् । 

ढुंगेल पक्राउ पर्न नसकेको विषयलाई लिएर त्यतिबेलादेखि नै नेपालमा न्याय र कानूनको प्रत्याभूति नरहेको भन्दै मानवअधिकारवादी संघ संगठनहरूले आपत्ति जनाउँदै आन्दोलनसमेत गरेका थिए ।

सर्वोच्चले २०७३को चैत ३१ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न पुनः आदेश दियो । तर पनि ढुंगेल पक्राउ परेनन् । 
आदेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले तत्कालिन प्रहरी प्रमुख विरुद्धमा अवहेलना मुद्दा हालेपछि १४ कात्तिक २०७४मा ढुंगेल पक्राउ परेका थिए ।

आरोप 

ओखलढुंगाको जिल्ला अदालतले उज्जन श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै ढुंगेललाई २०६१ सालमा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्ट्याई दियो । त्यसपछि२०६६ सालमा सर्वोच्चले जिल्ला अदालतकको फैसलालाई सदर गर्दै ढुंगेललाई सर्वस्वसहित जन्मकैदको  फैसला गरेको थियो ।

अब के होला ?

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेललाई रिहाइ गर्ने सम्बन्धमा सर्बोच्चमा परेको पछिल्लो रिट सुनुवाई विचाराधिन रहेकै अवस्थामा राष्ट्रपतिबाट उनको कैद मिनाहा स्वीकृत हुनु एउटा संयोगमात्र मान्न सकिन्न ।

राष्ट्रपति कार्यालयले अदालतमा दायर भएको रिटको बारेमा केही बोलेको छैन तर मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले कैद मिनाहा सिफारिसको सक्कल फाइल हेरेपछि मात्र कुनै फैसला गर्न मिल्ने भन्दै जेठ १५ को लागि अर्को सुनुवाइको दिन तोकेका थिए ।

प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन नेपालका विभिन्न जेलमा कैद भुक्तान गरिरहेका निश्चित समय कैद भुक्तान गरेको र आचरण राम्रो भएको पाइएमा कारागार व्यवस्थापन विभागले मन्त्रिपरिषदलाई रिहाइको सिफारिस गर्न सक्छ । मन्त्रिपरिषदले पारित गरेर राष्ट्रपतिले त्यसलाई स्वीकृत गरेपछि कारागार व्यवस्थापन विभागले गरेको सिफारिस तत्काल कार्यान्वयनमा जान्छ ।

यसमा सर्वोच्चले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नदेखिएको एक अधिवक्ताले लोकान्तरलाई बताए ।

यदी जेठ १५ गतेको सुनुवाइमा सर्वोच्चले ढुंगेल रिहाइ हुन नहुने फैसला गर्यो भने मन्त्रिपरिषद् र राष्ट्रपतिको कार्यालय पनि कानूनी विवादमा तानिने छन् ।

बालकृष्णको अबको योजना 

ढुंगेल रिहाइ लगत्तै आफ्नो पुरानो पार्टी माओवादी केन्द्रको ‘हेडक्वार्टर’ पेरिसडाँडा पुगेका थिए । 

ढुंगेल पेरिसडाँडा पुग्दा तत्कालिन माओवादीका कार्यकर्ताको बाक्लो उपस्थिति थियो । ढुंगेललाई फूलमालाले स्वागत गर्दै उनीहरुले ढुंगेललाई फसाएको र त्यसको मूल्य अदालतले तिर्नुपर्ने चेतावनी दिइरहेका थिए ।
पेरिसडाँडामा ढुंगेलसँग सेल्फी खिच्नेको भीड लागेको थियो । 

आफू मृगौलाको बिरामी भएको, अहिले रक्तचाप बढेको र आराम गर्नुपर्ने अवस्था देखाउँदै ढुंगेलले सञ्चारमाध्यमहरुमा खासै प्रतिक्रिया दिन मानेनन् । 

संक्षिप्त प्रतिक्रियाका क्रममा ढुंगेलले आफूलाई डलरवादीहरुले फसाउन खोजेको आरोप लगाए । 

आफूलाई पूर्वाग्रही तरिकाले फसाउनेहरूको विरुद्धमा कानूनी उपचार खोज्ने उनले बताए । वृहत शान्ति सम्झौतामा भएका प्रावधानहरूलाई लत्याएर निरन्तर एकजनाको मात्र राजनीतिक जीवनप्रति लक्षित गरेर आक्रमण गरिएको भन्दै उनले समयक्रमले सबैलाई न्याय दिलाउने बताएका थिए ।

अर्को प्रसङ्गमा उनले आफ्नो रिहाई बिशुद्ध कानूनसम्मत भएको भनेका छन् । ‘कुनै राजनीतिक शक्तिको आवरणमा म छुटेको होइन,’ लोकान्तरसँगको कुराकानीमा उनले भने । 

उनले विवेकशील साझाले आफ्नो रिहाइका सम्बन्धमा दिएको प्रतिक्रियाप्रति आक्रोश पोखे । 

स्वास्थ्यले साथ दिएसम्म आगामी जीवन राजनीतिमै बिताउने ढुंगेलले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्