
काठमाडौं, २१ जेठ -रसियामा फिफा विश्वकपको २१औं संस्करण शुरु हुन अब केही दिन मात्र बाँकी छ । फूटबलको राजधानी मानिने युरोपले ११औं पटक विश्वकप आयोजना गरिरहेको हो । यसअघि युरोपमा मात्र १० पटक विश्वकप आयोजना भइसकेको छ ।
युरोप र दक्षिण अमेरिकाका बाहेकका कुनै पनि देशले आजसम्म विश्वकप जितेको इतिहास छैन । २० मध्ये ११ विश्वकप युरोप र ९ दक्षिण अमेरिकी मुलुकको पोल्टामा गएको छ ।
यद्यपि विश्वकपको सबैभन्दा सफल टोली भने ब्राजिल हो । उसले ५ पटक यो उपाधि जितेको छ ।
यस्तै जर्मनी र इटालीले समान ४, अर्जेन्टिना र उरुग्वेले २–२, तथा स्पेन, फ्रान्स र इंल्याण्डले १–१ पटक विश्वकप जितेका छन् ।
युरोपमा आयोजित विश्वकपमा युरोपकै दबदबा रहने गरेको छ । युरोपेली किल्ला तोड्न दक्षिण अमेरिकी टीमहरूलाई निकै मुस्किल पर्नेगर्छ ।
ब्रजिल मात्र युरोप बाहिरको यस्तो एउटा टीम हो, जसले युरोपमा विश्वपक जितेको छ ।
सन १९५८ मा स्विडेनमा आयोजित विश्वकपमा ब्राजिलले घरेलु टोलीलाई ५–२ ले पराजित गर्दै यो उपाधि हात पारेको थियो । पेले र भाभाले समान २ तथा जागाल्लोले १ गोल गर्दै ब्राजिललाई विश्वकपको पहिलो उपाधि दिलाएका थिए ।
त्यसयता ब्राजिलले जर्सीमा ४ वटा तारा थपिसकेको छ । तर युरोपमा भने सफलता हासिल गर्न सकिरहेको छैन ।
यद्यपि उसलाई फेरि एकपटक युरोपको किल्ला तोड्ने अवसर छ । नेयमार, कउटिन्हो, जिससजस्ता प्रतिभावान खेलाडीहरूसहित ब्राजिलले रुसमा पाइला टेक्दैछ ।
युरोपको उत्तर पश्चिमी टापु देश स्विडेनबाट शुरु गरेको गौरवमय इतिहासको पुनरावृत्ति त्यसको नजिकै पर्ने विशाल मुलुक रुसमा गर्ने ब्राजिलियन टोलीको मुख्य उद्देश्य रहनेछ ।
ब्राजिल यो विश्वकपको ‘टाइटल फेभरेट’ हो । त्यसो त अघिल्लोपटक घरमै आयोजित विश्वकप ब्राजिलले नै जित्ने धेरैको अनुमान थियो । सेमीफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद् हार व्योहोर्यो । फाइनलमा जर्मनी अर्जेन्टिनालाई १–० ले पराजित गर्न सफल भयो ।
युरोपेली टीमले दक्षिण अमेरिका पुगेर पहिलो पटक किल्ला तोडेको ४ वर्षपछि दक्षिण अमेरिकी पावरहाउस ब्राजिल यसपटक युरोपमा त्यसको बदला लिन चाहन्छ ।
भरोसायोग्य युवा टोली
ब्राजिलसँग यो विश्वपकमा परिपक्व बनिसकेको युवा टोली छ । अधिकांश खेलाडी आफ्नो खेल जीवनकै उत्कृष्ट फर्ममा छन् ।
४ वर्षअघि टोली नेयमारमा केन्द्रित थियो । नेयमार र थियागो सिल्भाको अनुपस्थितिमा जर्मनीविरुद्ध टीम सम्हालिन सकेन, जसले एउटा लज्जास्पद् हार निम्त्यायो ।
यसपटक टिटेको ब्राजिलियन टीम नेयमारमा मात्र निर्भर छैन । यद्यपि नेयमार हुनु र नहुनुको मनोवैज्ञानिक प्रभाव भने अलग हुनसक्छ ।
नेयमारका अलावा पनि कउटिन्हो, जिसस, फिर्मिनोजस्ता प्रतिभावान खेलाडी अग्रपंक्तिमा छन् ।
विलियन, अगुस्तो, पउलिन्हो, कासेमिरो, फर्नान्डिन्होजस्ता मिडफिल्डर र मार्सेलो, मिरान्डा, सिल्भा, डानिलो, मर्किन्होस, फिलिपे लुइसजस्ता डिफेन्डरका कारण टीम निकै बलियो देखिएको छ ।
गोल पोस्टमा पनि एलिसन, एडर्सनजस्ता प्रतिभावान किपर छन् । समग्र टीमलाई हेर्ने हो भने ब्राजिल हरेक विभागमा बलियो देखिन्छ ।
लामोसमय चोटबाट ग्रसित भई फर्किएका नेयमारले आइतबार क्रोएसियाविरुद्ध गोल गरेर युरोपलाई आफू फर्किएको सन्देश दिइसकेका छन् ।

फिर्मिनोले अर्को १ गोल थप्दा ब्राजिल २-० ले विजयी भयो ।
यस्तो हुनसक्छ फर्मेसन

ब्राजिल यसपटक ४-३-३ कै फर्मेसनमा मैदानमा उत्रिने सम्भावना छ । त्यसो हुँदा नेयमार, जिसस र कउटिन्हो अग्रपंक्तिमा हुन सक्छन् । विलियन, फ्रिमिनो, फ्रेड विकल्पका रूपमा रहनेछन् ।
यस्तै मध्यक्रममा अगुस्तो, पउलिन्हो, कासेमिरो रहन सक्छन् । डिफेन्सिभ भूमिकामा फर्नान्डिन्हो पनि उत्तम विकल्प हुन् ।
रक्षापंक्तिमा ब्राजिललाई धेरै फेरबदल गरिराख्नु आवश्यक नै छैन । बरु पोस्टमा एलिसन र एडर्सनमध्ये कसलाई प्रयोग गर्ने भन्ने निर्णय लिन कठिन हुने देखिन्छ । किनकी दुवै उत्तिकै प्रभावशाली फर्ममा छन् ।