

एक फाको हाँसो
नखुलेको ओठ
र, एक झुल्को उज्यालो
नदेखेको मन बोकेर
औलाले
जुनसुकै रंङ्गको
गुलाफ च्यापे पनि
चौध फरवरी
आखिर एउटा तारीख न हो !
त्यसैले नि डोल्मा
मैले त
गुलाफको सट्टामा
यही एउटा
मुस्कान मिश्रीत तस्वीर
'मेसेज' गरेको छु
यसलाई डाउनलोड गरेर
नजिकबाट हेर्यौ भने
देख्नेछ्यौ
सप्तरङ्गी गुलाफका
सयौँ थुँगाहरू !
मुस्कानको मल
र मनको प्रकाशमा
मौलाएका गुलाफहरू
कहिल्यै ओइलाउदैनन्
र यही नओइलाउने
एक थुँगा फूल
तिमीलाई
भ्यालेन्टाइन डेको
मेरो उपहार !!