
काठमाडौं, १० असार - इन्जुरी समयमा हार बेहोरेपछि निराश स्विडिस फूटबल टीमका प्रशिक्षक जन्ने एन्डरसनले जर्मनीको खुशी मनाउने शैलीप्रति प्रश्न उठाएका छन् ।
टोनी क्रुसले खेल सकिन केही सेकेण्ड मात्र बाँकी रहँदा निर्णायक गोल गरेका थिए । सो गोलले रुस विश्वकपमा जर्मनीको सम्भावनालाई जीवित राखेको छ ।
त्यसपछि साविकको विजेता टोलीले जसरी खुशी मनायो, त्यो एन्डर्सनलाई मन परेन ।
'जर्मन टीम र स्टाफहरू हामीतिर दौडिएर खुशी मनाए, हामीलाई चिढ्याउन खोजे, त्यो मलाई मन परेन,' उनले भने ।
एन्डर्सनले थपे- 'हामीले पूरै ९० मिनेट उनीहरूलाई कडा चुनौती दियौं । अन्तिम सिट्टी बजेपछि हात मिलाएर मैदानबाट बाहिरिनुपर्थ्यो, त्यो किसिमको व्यवहारले हामीलाई दु:खी तुल्यायो ।'
गएराति भएको खेलमा जर्मनी २-१ ले विजयी भएको थियो ।