
विश्वकप २०२६ को सेमिफाइनलअघिसम्म फुटबल वृत्तमा एउटै चर्चा थियो- 'बलियो र उपाधि दाबेदार फ्रान्सलाई रोक्ने कसले ?' सेमिफाइनल अगाडिका खेलहरूमा विपक्षीमाथि पूर्ण रूपमा हाबी हुँदै सानदार जित निकालेको फ्रान्सलाई स्वाभाविकरूपमा फाइनलको दाबेदार मानेका थिए । तर, बुधबार बिहान मैदानमा भने फरक वास्तविकता देखियो । ७०, हजारभन्दा बढी दर्शकमाझ डालस रंगशालामा स्पेनले फ्रान्सलाई २-० ले स्तब्ध मात्र पारेन, खेल अवधिभर फ्रान्सेली टोलीलाई दबाबमा राख्यो ।
अपराजित यात्रा कायम राख्दै स्पेन २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्दा, लगातार तेस्रो पटक फाइनल पुग्ने फ्रान्सको सपनामा भने पूर्णविराम लागेको छ । स्पेनका मिकेल ओयार्साबाल र पेड्रो पोरोले गरेका गोल नै फ्रान्सलाई घर पठाउन काफी बने ।
फ्रान्सले प्रतियोगिताभरि आफ्ना विङ्गरहरू- ब्राडली बार्कोला, ओस्मान डेम्बेले र डेसिरे डोउए—को आक्रामक गतिको बलमा तारिफ बटुलेको थियो। तर, यसपटक फ्रान्सको बायाँ डिफेन्सले विश्व फुटबलकै उत्कृष्ट युवा विङ्गर लामिन यामल र पेड्रो पोरोको सामना गर्नुपर्यो, जुन उनीहरूका लागि दुःस्वप्न साबित भयो ।
स्पेनको रणनीति नै फ्रान्सका लेफ्ट-ब्याक लुकास डिग्नेलाई एक्लो पारेर आक्रमण बुन्नु थियो । खेलको २२औं मिनेटमा यामलले डिग्नेको फितलो डिफेन्सको फाइदा उठाउँदै पेनाल्टी जिते । हावामा आएको बल क्तियर गर्ने चक्करमा डिग्नेले सचेतता गुमाउँदा यामललाई लडाउन पुगे, जसमा मिकेल ओयार्साबालले सहजै गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाए ।
डिग्ने खेलभरि नै १७ वर्षीय यामलसामु निरीह देखिए। खेलको ५८औं मिनेटमा स्पेनको त्यही दायाँ साइडबाट पुनः अर्को आक्रमण बुनियो । डानी ओल्मोसँग उत्कृष्ट पास समन्वय गर्दै पेड्रो पोरोले दोस्रो गोल गरे । यामलको अर्को एउटा प्रहार पनि गोलमा परिणत भएको थियो, तर त्यसलाई रेफ्रीले अफसाइड घोषित गरिदिए।
पहिलो हाफमा स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो। स्पेनका मिडफिल्डरहरू रोड्री र फाबियन रुइजले मैदानमा बलियो पर्खाल खडा गरेका थिए । फ्रान्सका मुख्य प्लेमेकर माइकल ओलिस, जसले प्रतियोगितामा सबैभन्दा बढी ५ असिस्ट गरिसकेका थिए, उनलाई स्पेनको मिडफिल्डले चल्नै दिएन। ओलिस विपक्षी बक्समा खेलभरि मात्र एक पटक बल छुन सफल भए।
स्पेनले फिजिकल गेम र बल खोस्ने कलामा फ्रान्सलाई नराम्ररी पछाडि पाऱ्यो । दोस्रो हाफमा फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प्सले केही फेरबदल गर्दै दबाब बनाउने प्रयास गरे पनि त्यसले कुनै नतिजा दिन सकेन । फ्रान्सले बल नियन्त्रणमा लिन त खोज्यो, तर स्पेनको बलियो रक्षापंक्ति तोड्ने कुनै ठोस योजना उनीहरूसँग देखिएन ।

फ्रान्सको पराजयको मुख्य कारण उसको आक्रामक पंक्ति चल्न नसक्नु नै थियो। विश्वकपका पूर्ववर्ती खेलहरूमा कीर्तिमान बनाएका कप्तान किलियन एमबाप्पे, ब्यालोन डी'ओर विजेता ओस्मान डेम्बेले र माइकल ओलिसको त्रिमूर्ति स्पेनिस डिफेन्ससामु फिका साबित भयो।
यद्यपि, फ्रान्सले केही सुनौला अवसर नपाएको भने होइन। खेलको एक मोडमा डेसिरे डोउएले खाली पोस्टमा गोल गर्ने सुवर्ण मौका पाएका थिए, तर उनले प्रहार गर्न ढिलाइ गर्दा स्पेनिस किपर उनाई सिमोनले उत्कृष्ट बचाउ गरे। त्यस्तै, एमबाप्पे गोलको नजिक पुगेका बेला स्पेनका डिफेन्डर मार्क कुकुरेलाले उत्कृष्ट ट्याकल गर्दै बल खोसे।
खेलको ९६औं मिनेटसम्म पनि डेम्बेलेले एउटै सट प्रहार गर्न सकेका थिएनन्। तथ्याङ्क हेर्ने हो भने, फ्रान्सले स्पेनको पेनाल्टी बक्समा २० पटक बल छोएर पनि एउटै 'शट अन टार्गेट' (पोस्टको दिशामा प्रहार) राख्न सकेन, जबकि स्पेनले मात्र १३ टचबाट २ क्लिन गोल निकाल्यो।
यो खेलमा प्रशिक्षक डिडियर डेसच्याम्प्सको टोली छनोटमाथि पनि ठूलो प्रश्न उठेको छ। खेलमा संघर्ष गरिरहेका लुकास डिग्नेलाई ७२औं मिनेटसम्म मैदानमा राख्नु डेसच्याम्प्सको गम्भीर गल्ती मानिएको छ । उनको स्थानमा जब थियो हर्नान्डेज मैदान प्रवेश गरे, तब फ्रान्सको खेलमा केही सुधार देखिएको थियो। यदि हर्नान्डेज सुरुदेखि नै मैदानमा भएको भए नतिजा फरक हुन सक्ने खेल विश्लेषकहरूको भनाइ छ। खेलको अन्तिम समयमा विलियम सालिबा घाइते हुनुले पनि फ्रान्सको रक्षापंक्ति थप कमजोर बन्यो।

यसका साथै, खेलमा रेफ्रीको भूमिकामाथि पनि फ्रान्सेली समर्थकहरूले असन्तुष्टि जनाएका छन्। पहिलो हाफमा यामले जितेको पेनाल्टीमा भिडियो असिस्टेन्ट रेफ्रीको सहयोग लिइएन, जहाँ बल यामलको हातमा लागेजस्तो देखिएको थियो । दोस्रो खेलमा फ्रान्सका आक्रामक खेलाडीहरू, विशेष गरी एमबाप्पेले दौड शुरू गर्नेवित्तिकै रेफ्रीले हतारमा अफसाइडको ह्विसल बजाए, जसले गर्दा फ्रान्सका केही स्वभाविक काउन्टर अट्याकहरू बीचमै तुहिए।
सबै आलोचना र विवादबीच स्पेन यो जितको पूर्ण हकदार थियो । जारी विश्वकपका ७ खेलमध्ये ६ खेलमा क्लिन सिट राख्दै स्पेनले आफ्नो बलियो रक्षात्मक कौशल प्रदर्शन गरेको छ । एमबाप्पेजस्ता सर्वकालीन महान् स्कोररलाई पूर्ण रूपमा रोक्दै स्पेनले फुटबलमा 'टिम वर्क' र 'रणनीति' नै सर्वोपरि हुन्छ भन्ने प्रमाणित गरिदिएको छ। अब स्पेन २०१० को इतिहास दोहोर्याउँदै दोस्रो पटक विश्वकप ट्रफी उचाल्न मात्र एक कदम टाढा छ।