१५ असार २०८३, सोमबार

भारत हुँदै युरोपियन बजारमा पुग्छ नेपाली चरेश, संकलकदेखि तस्करसम्म भारतीय नागरिक

असार १०, २०७५
भारत हुँदै युरोपियन बजारमा पुग्छ नेपाली चरेश, संकलकदेखि तस्करसम्म भारतीय नागरिक

काठमाडौं, १० असार– प्रदेश ३ को मकवानपुर र धादिङमा उत्पादन हुने चरेश भारत हुँदै युरोपेली देशका बजारमा पुग्ने गरेको तथ्य खुलेको छ । 

भारतीय नागरिकको सक्रियतामा भारतीय बजार हुँदै नेपाली चरेश युरोपसम्म पुग्न थालेको हो । 

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले शनिवार काठमाडौंबाट २ सय १३ किलोग्राम चरेश पक्राउ गरेपछि नेपाली चरेश युरोपसम्म पुग्ने गरेको तथ्य खुलेको हो । 

प्रहरीले शनिवार मकवानपुर र धादिङबाट संकलन गरेर भारत लैजान ठिक्क पारिएको २ सय १३ किलोग्राम चरेशसहित १ भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत विहार राज्यको मोतिहारीस्थित झकिया टोलीका २५ वर्षीय मेराज आलम छन् । उनको साथबाट २ किलो २ सय ५० ग्राम अफिम समेत बरामद भएको प्रहरीले जनाएको छ । 

नेपालमा खाद्यान्न लगायतका सामान ढुवानी गर्ने डब्लूबी २३ बी ५८८५ (WB23B5885)  नम्बरको भारतीय ट्रकका चालक आलम नेपालबाट फर्किदा ट्रकमा चरेश बोकेर भारत जाने गरेको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ठूले राईले जानकारी दिए । 

‘पक्राउ परेका आलम नेपालमा खाद्यान्न लगायतका सामान ढुवानी गर्ने ट्रकका चालक हुन्,’ रार्इले भने, 'भारतबाट खाद्यान्न ल्याएर अनलोड गरिसकेपछि उनले ट्रकमा चरेश तस्करी गर्ने गरेको तथ्य खुलेको छ ।’

आलमले ट्रकमा विशेष प्रकारको फल्स बटम बनाइ चरेश तस्करी गर्ने गरेका थिए । धेरै पहिलेदेखिको विशेष सूचनाका आधारमा आलमलाई पक्राउ गरिएको डिआईजी राईले बताए । 

संकलनदेखि तस्करीसम्ममा भारतीय नागरिक 

प्रहरीले चरेश र अफिमसहित पक्राउ परेका आलम भरिया मात्रै भएको बताएको छ । चरेश तस्करीका लगानीकर्ता भारतीय नै रहेको प्रहरीको भनाइ छ । उनको खोजी भइरहेको डिआईजी राईले बताए । 

‘पक्राउ परेका व्यक्ति निश्चित रकम लिएर नेपालबाट चरेश भारत पुर्याउने कार्यमा संलग्न रहेको देखिन्छ,’ डिआईजी राई भन्छन्, ‘तस्करीमा लगानी गर्ने व्यक्ति भारतीय नै हुन् भन्ने तथ्य फेला पारेका छौं । उनको फोन नम्बर र लोकेशन पत्ता लागेको छ । केही दिनमै पक्राउ गर्छौं ।’

चरेशमा लगानी गर्ने मात्रै नभइ मकवानपुर र धादिङका ग्रामिण क्षेत्रमा उत्पादन हुने चरेश संकलन गर्ने कार्यमा समेत भारतीय नागरिकको संलग्नता रहेको डिआईजी राई बताउँछन् । 

‘पछिल्लो समय चरेश खेतीमा नेपालीको सहभागिता कम हुँदै गएको छ । यस्तो अवस्थामा भारतीयहरु सक्रिय हुन थालेका छन्,’ डिआईजी राई भन्छन्, ‘ग्रामिण क्षेत्रबाट संकलन गर्नेदेखि नेपालबाट भारतमा तस्करी गर्नसम्म भारतीय नै संलग्न रहेको देखिन्छ ।’

युरोपियन बजारमा नेपाली चरेश

प्रहरीका अनुसार शनिवार काठमाडौंबाट पक्राउ परेको चरेश विभिन्न जिल्लाबाट संकलन गरी काठमाडौंबाट दिल्ली लगिँदै थियो । 

दिल्लीबाट उक्त चरेश भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाटै युरोपियन बजारसम्म पुर्याइने गरिएको प्रहरी स्रोत बताउँछ । 

‘नेपालबाट भारतमा चरेश तस्करी गर्नेको समूहले चरेश तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहलाई बेच्ने गरेका छन्,’ प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका एक अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय गिरोहले नेपालबाट तस्करी गरिएको चरेश युरोपमा पठाउने गर्छ ।’ युरोपियन बजारमा नेपाली चरेशमा माग उच्च हुने गरेको प्रहरी बताउँछ । 

प्रहरीका अनुसार शनिवार पक्राउ परेको चरेशको नेपाली बजार मूल्य ५ लाख ३२ हजार ५ सय रुपैयाँ हुन आउँछ ।
 

salt training

कमेन्ट गर्नुहोस्