१५ असार २०८३, सोमबार

चिनियाँ नाकामा फेरि मौलायो सुन तस्करी, स्विट्जरल्याण्डको सुन चीनबाट नेपाल हुँदै भारत तस्करी

असार १८, २०७५
चिनियाँ नाकामा फेरि मौलायो सुन तस्करी, स्विट्जरल्याण्डको सुन चीनबाट नेपाल हुँदै भारत तस्करी

काठमाडौं, १८ असार – आइतवार अपराह्न । नेपाल–चीन सीमा नाका केरुङमा उपस्थित भए सिन्धुपाल्चोकको भोटेकोशी–५ पोखरीका २३ वर्षीय २३ का तेन्जिङ तामाङ । 

रसुवामा रहेको एक हाइड्रो पावर कम्पनीमा कार्यरत तेन्जिङ आइतवार घर फर्किदै थिए । घर फर्किने तयारीमा रहेका बेला उनले अर्को काम पनि पाए । सामान्य चिनजान भएका अन्य ४ जना व्यक्तिले उनको कम्मरमा गाढा खैरो रंगको एक सल बाँधिदिए । सलमा ६ वटा बिस्कुट राखियो । जसलाई खैरो रंगको टेपले बेरिएको थियो ।

बा९५प ८१६४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल दगुराएर करीब २ घण्टापछि तेन्जिङ काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गा पुगे । उनी काठमाडौंको सीमा टेक्नु अगाडि नै काठमाडौं प्रहरीलाई खबर प्राप्त भइसकेको थियो । केरुङबाट सुन आउँदै छ भन्ने । सोही सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग थानकोटको प्रहरी टोलीले केही मोटरसाइकलमाथि कडाइ साथ चेकजाँच शुरू गरिसकेको थियो । 

चेकजाँचकै क्रममा तेञ्जिङले कम्मरमा बाँधेर ल्याएको ६ किलो सुन प्रहरीले फेला पार्यो, आइतवार साँझ ७ बजेर ३० मिनेटमा । सुनसहित पक्राउ परेका तेञ्जिङ अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले उनीमाथि भन्सार ऐन २०६४, दफा (५७) को उपदफा (१) को (ङ) बमोजिम अनुसन्धान अगाडि बढाएको छ । 

चिनियाँ नाकाबाट फेरि मौलायो तस्करी

१९ भदौ २०७४ (सोमवार) प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक गाडी नियन्त्रणमा लिएको थियो । बा१७च ६४२७ नम्बरको गाडीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले सुन नियन्त्रणमा लिएको थियो ।
गाडीका चालक अधिकारी सुनसँगै पक्राउ परेका थिए । ८८ किलो सुन प्रकरणमा काठमाडौंका आधा दर्जन सुन व्यापारी पनि पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार ८८ किलो सुन पक्राउ परेपछि रसुवा नाकाबाट सुन तस्करी केही कम भएको थियो । 

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी प्रकरणको अनुसन्धान चलिरहेका बेला अहिले चिनियाँ नाकाबाट हुने सुन तस्करी पुनः मौलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल केरुङ नाकामा पुनः सुन तस्करहरू सक्रिय भएको बताउँछन् । 

‘केही दिन अगाडिदेखि नै हामीलाई केरुङ नाकाबाट पुनः सुन तस्करी शुरू भएको भन्ने सूचना आइरहेको थियो,’ एसएसपी पोखरेल भन्छन्, ‘सूचना पाएको दिनदेखि नै हामीले कडाइ साथ चेकजाँच गरिरहेका थियौं । आइतवार आएर ६ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।’

केरुङ नाकाबाट सुन तस्करी गर्ने गिरोह पुनः सक्रिय भएको सूचना पाएकाले आफूहरूले अनुसन्धानलाई थप प्रभावकारी रुपमा अगाडि बढाएको पोखरेलको भनाइ छ ।

सुन तस्करीमा चिनियाँ व्यापारीको संलग्नता ?

आइतवार साँझ ६ किलो सुनसहित पक्राउ परेका तेञ्जिङलाई केरुङबाट काठमाडौंको स्वयम्भूसम्म सुन पुर्याउन भनिएको थियो । केरुङबाट काठमाडौंसम्म सुन पुर्याएवाफत उनलाई ५० हजार रुपैयाँ दिने भनिएको थियो ।

तेञ्जिङले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उक्त सुन चिनियाँ व्यापारीको भएको बताएका छन् । ‘तेञ्जिङलाई सुन दिनेहरूले यो चिनियाँ व्यापारीको सुन हो भनेका रहेछन्,’ आइतवार साँझ पक्राउ परेको सुनबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘उनीबाट हामीले केही तथ्यगत जानकारी पनि पाएका छौं । उनले भनेका चिनियाँ व्यापारीबारे अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार तेञ्जिङसँग रोमिङ सुविधासहितको चिनियाँ नेटवर्कको सीमकार्ड समेत थियो । चिनियाँ रोमिङ सहितको सीम बोक्ने तेञ्जिङ नेपाली नाकाबाट चिनियाँ बजारसम्म पुग्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

स्विट्जरल्याण्डको सुन चीनबाट नेपाल हुँदै भारत तस्करी

प्रहरीले शनिवार मात्रै नागढुङ्गा नाकाबाटै ३ किलो सुनसहित १ नेपाली र १ भारतीय नागरिकलाई पक्राउ गरेको थियो । यूके ०२ ४६८४ नम्बरको जीपको एयर फिल्टरमा राखिएको ३ किलो सुनसहित उनीहरू पक्राउ परेका थिए । सुनसहित पक्राउ परेका २ जनाको बयानका आधारमा प्रहरीले थप ३ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा भारतका ‘क’ श्रेणीका ठेकेदारसहित महिलाहरू थिए । 

उनीहरूले काठमाडौंबाट भारत लैजान लागेको सुन संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् नेपाल भित्र्याइएको थियो । शनिवार बरामद गरिएको ३ किलो सुनमा युएईको ईमिरेट्स गोल्ड कम्पनीको छाप थियो । 

प्रहरीले आइतवार बरामद गरेको ६ किलो सुन भने स्विट्जरल्याण्डबाट चीन आयात भएको सुन हो । आइतवार पक्राउ परेको सुनमा स्विट्जरल्याण्डको आर्गाेर हेरायुस एसए कम्पनीको छाप अंकित छ । स्विट्जरल्याण्डको मेन्ड्रिसियो शहरमा रहेको यो कम्पनीले सुन, चाँदी, प्लाटिनम लगायत बहूमल्य धातूको प्रशोधन गरी विश्व बजारमा निर्यात गर्ने गर्छ । 

सबै सुनको बजार भारत

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको सुन समितिले विगत २०४४–४५ सालदेखि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् हुने सुन तस्करीको छानबिन गरिरहेको छ । 

समितिले गरेको अनुसन्धानकै आधारमा मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ भने सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका मोरङ उर्लावारीका गोरे भनिने चूडामणि उप्रेती, प्रहरीका बहालवाला उच्च अधिकारीसहित ३१ जना पुर्पक्षका लागि थुनामा छन् । 

नेपालमा तस्करी भएको १७ अर्बभन्दा बढी मूल्य बराबरको सुनबारे छानबिन चलिरहँदा तस्करहरूले भने सुन तस्करी छाडेका छैनन् । सानो परिमाणमा भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले पनि सुन तस्करी भइरहेको शनिवार नागढुङ्गबाट बरामद भएको ३ किलो सुनले प्रमाणित गर्छ । यस्तै, आइतवार पक्राउ परेको ६ किलो सुनले चिनियाँ नाकाबाट पुनः सुन तस्करी मौलाएको संकेत गर्छ । 

प्रहरी स्रोतका अनुसार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ नाका हुँदै भित्रिने सुन नेपाल हुँदै भारत तस्करी हुन्छ । शनिवार बरामद भएको सुन तस्करीमा त ४ जना भारतीय नागरिककै संलग्नता देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्