१६ असार २०८३, मंगलबार

राजधानीमा दिनदहाडै हतियार किनबेच, बालुवा तस्करदेखि ठेकेदारसम्मले बोक्छन् पेस्तोल

असार ३१, २०७५
राजधानीमा दिनदहाडै हतियार किनबेच, बालुवा तस्करदेखि ठेकेदारसम्मले बोक्छन् पेस्तोल

काठमाडौं– राजधानी काठमाडौं उपत्यकामा दिनदहाडै हतियारको खरिद बिक्री हुने गरेको तथ्य सार्वजनिक भएको छ ।  

आइतवार विहान हतियार बेच्न हिँडेका तीनजना व्यक्ति ललितपुरबाट पक्राउ परेपछि राजधानीमा दिनदहाडै हतियार खरिद बिक्री हुने गरेको तथ्य सार्वजनिक भएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार विहान ललितपुरबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको छ । काठमाडौं परिसरका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले ललितपुरको नख्खीपोटबाट जर्मनमेड पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रामेछापका कृष्णबहादुर जोशी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एकथान जर्मनमेड पेस्तोलसहित २ थान म्यागेजिन र त्यसमा लाग्ने ५ राउण्ड गोलीसमेत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । 

पक्राउ परेका तीनैजनामाथि महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ । 

कहाँबाट आउँछ राजधानीमा हतियार ? 

प्रहरी स्रोतका अनुसार आइतवार ललितपुरबाट बरामद भएको पेस्तोलमा जर्मन मेड लेखिएको छ । अर्थात् उक्त पेस्तोल जर्मनीमा बनेको हो । 

उक्त पेस्तोल भारतबाट नेपाल पुगेको प्रहरी स्रोतको भनाइ छ । ‘काठमाडौं उपत्यकामा यूएसस अमेरिका, जर्मन मेड र भारतमा बन्ने रिभल्बर बढी भेटिने गरेका छन्,’ हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘यी सबै हतियार भारतीय नाकाबाट नेपाल भित्रिएर काठमाडौं पुग्ने गर्छन् ।’

आइतवार बरामद भएको पेस्तोल करिब ३ वर्ष अगाडि भारतबाट नेपाल ल्याइएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

द्वन्द्वकालकामा लुकाइएका हतियार खोजेर खरिदबिक्री ?
   
महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी पोखरेल द्वन्द्वकालमा लुकाइएका हतियार अहिले खोजेर खरिद बिक्री गर्ने क्रम बढेको बताउँछन् । पछिल्लो समय सीमा नाकामा कडा चेकजाँज गरिन थालिएकाले तत्काल हतियार भित्र्याउन सकिने अवस्था नरहेको उनको दावी छ । 

‘अहिले भारतसँग जोडिएका कुनै पनि नाकाबाट हतियार भित्र्याउन सकिने अवस्था छैन,’ एसएसपी पोखरेल भन्छन्, ‘अहिले राजधानीमा देखा पर्न थालेका हतियारहरु द्वन्द्वकालमा लुकाएर राखिएका हतियार हुन सक्छन् ।’

एसएपी पोखरेलका अनुसार द्वन्द्वकालमा लुकाइएका सानाखाले हतियार (पेस्तोल) अहिले बिक्री गर्ने क्रम बढेको छ । 

भाडाको पेस्तोल देखाएर अवैध असुली

आइतवार पेस्तोलसहित पक्राउ परेका ३ जना यसअघि कुनै पनि अपराधिक कार्यमा संलग्न नभएको प्रहरी रेकर्डले देखाएको छ । तर उनीहरुले आफूसँग भएको हतियार भाडामा लगाउने गरेको प्रहरीका एक अधिकारी बताउँछन् । 

‘उनीहरुले दिएको प्रारम्भिक बयानअनुसार पेस्तोल भाडामा लगाउने गरेको देखिएको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकारी भन्छन्, ‘उनीहरुबाट पेस्तोल भाडामा लिनेहरुले अवैध रुपमा पैसा असुली गर्ने गरेको सूचना प्राप्त भएको छ ।’

प्रहरी स्रोतका अनुसार आइतवार पक्राउ परेकाहरुजस्तै राजधानीमा आधा दर्जनको संख्यामा हतियारको खरिदबिक्री गर्ने समूह सक्रिय छन् । उनीहरुले हतियार भाडामा लगाउनेदेखि खरिद बिक्री गर्नेसम्मका कार्य गर्छन् । 

क–कसले बोक्छन् हतियार ? 

प्रहरी स्रोतका अनुसार राजधानी काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक र धादिङका विभिन्न नदीबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गरी तस्करी गर्नेदेखि सडक निर्माण गर्ने ठेकेदारसम्मले हतियार बोक्ने गरेका छन् । कतिपयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हतियार राखेका छन् भने धेरैसँग अवैध हतियार रहेको प्रहरीको भनाइ छ । 

यस्तै ठेकेदारबाट अवैध असुली गर्ने टोले गुण्डाहरुले समेत पछिल्लो समय हतियार बोक्ने गरेका छन् । टोले गुण्डाहरुले केही दिनका लागि भाडामा लिएर हतियार देखाइ अवैध असुली गर्ने गरेको प्रहरीको भनाइ छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश बहादुर ऐर अवैध हतियार बोक्ने सबैको सूची बनाएर अनुसन्धान थालिने बताउँछन् । ‘सोमवार पक्राउ परेका तीनजनाबाट पनि केही सूचना पाइने अवस्था छ,’ एसएसपी ऐरले लोकान्तरसँग भने, ‘हामीले थप केही सूचनाका आधारमा अवैध हतियार बोक्ने अन्य व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्