
काठमाडौं – फ्रान्सका सुपर स्ट्राइकर किलियन एम्बाप्पेले फूटबल विश्वकपमा कमाएको सबै पैसा एउटा परोपकारी संस्थालाई दान गर्ने भएका छन् ।
योङ प्लेयर अफ द वर्ल्ड कप उपाधि समेत पाएका एम्बाप्पेले प्रतियोगितामा चार गोल गरेर फ्रान्सलाई जिताउनका लागि प्रमुख भूमिका निर्वाह गरे ।
विश्वकपभरि एम्बाप्पेले साढे पाँच करोड रुपैयाँ कमाए । उनले यो कमाइ परोपकारी संस्था प्रिमियर्स डी कोर्डीलाई दिने भएका छन् । संस्थाले अस्पतालमा उपचार गराइरहेका र अपांगता भएका व्यक्तिलाई खेलकुदका सामान सित्तैमा उपलब्ध गराउँछ ।
फ्रान्सको पत्रिका एल इक्विपीका अनुसार, परोपकारी संस्था प्रिमियर्स डी कोर्डीले अपांगता भएका बालबालिकालाई सहयोग गर्छ र अपांगताका विषयमा जागरण अभियान पनि चलाउँछ । आफ्ना सहयोगीसँग सल्लाह गरेपछि एम्बाप्पेले यो निर्णय गरेका हुन् ।
एम्बाप्पेको यो घोषणापछि परोपकारी संस्थाका जनरल म्यानेजर सेबास्टियन रफिनले भने, ‘किलियन एम्बाप्पे व्यस्त समयमा पनि हाम्रा लागि खुशीका साथ समय निकाल्छन् । बच्चाहरूसँग उनको सम्बन्ध राम्रो छ । उनी बच्चाहरूलाई
प्रोत्साहित गर्न जहिले पनि सही शब्द प्रयोग गर्छन् । उनी बच्चाहरूसँग खेल्न पनि मन पराउँछन् ।’
एजेन्सी