३० जेठ २०८३, शनिबार

विमानस्थलमै थन्किए वायुसेवाका दुई नयाँ विमान, 'अन्नपूर्ण' सोमवारदेखि उड्न सक्ने !

साउन ११, २०७५
विमानस्थलमै थन्किए वायुसेवाका दुई नयाँ विमान, 'अन्नपूर्ण' सोमवारदेखि उड्न सक्ने !

काठमाडौं –नेपाल वायु सेवा निगम (एनएसी)ले ल्याएका २ वडा वाइडबडी विमान सञ्चालनमा ल्याउन सकेका छैनन् ।

गत असार १४ गते र साउन १० गते बिहीवार भित्र्याएका २ वटा वाइडबडी विमान उडानको अनुमति प्रक्रियामा रहेकाले उडाउन ढिलाइ भएको एनएसीले जनाएको छ । 

निगमका अनुसार गत असार १४ गते ल्याएको ‘अन्नपूर्ण’ नाम दिइएको विमान सञ्चालनको अनुमति पाउने क्रममा छ ।

निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार सञ्चालन अनुमतिको प्रक्रियामा रहेकाले छिट्टै उडान सञ्चालन हुनेछ । 

‘हामीले पहिलो वाइडबडी सञ्चालनको अनुमतिका लागि निवेदन दिएका छौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतवारसम्ममा अनुमति दिए सोमवारदेखि उडान शुरू हुन्छ, उनले भने ।’

नयाँ विमान चालक विदेशी रहेको उनले बताए । 

गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान ल्याएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।

मंगलवार भित्र्याइएको जहाज उडानका लागि भने एक महिना लाग्नसक्ने श्रेष्ठले बताए । निगमले साउन १० गते बिहीवार विमान ‘ए ३३०–२००’ सिरिजको विमान काठमाडौंमा अवतरण गराएको छ ।

‘मकालु’ नाम दिइएको सो विमानको कल साइन ९ एनएलजेड छ ।

युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनिएको हो ।

निगमले २०७३ साल चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा जहाजको लागत रु २१ अर्ब ९० करोड अमेरिकी डलर छ ।

निगमका अनुसार दुवै वाइडबडी विमानको सिट क्षमता समान छ । कुल २७४ सिट क्षमताको वाइडबडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि पहिलो चरणमा संयुक्त अरब इमिरेट्सको दुबई र कतारको दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान गरिने निगमका महाप्रबन्धक सुगतरत्न कंशाकरले बताए ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका ८ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्गलुरु र मुम्बई तथा हङकङ मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।

एक बोइङ नाइन एसीबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ ।

यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीनवटा ट्विनअटर विमान छन् ।

नयाँ विमानले उडान शुरू गर्दा नेपालको बाह्य पर्यटन फस्टाउने विश्वास गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्