२४ असार २०८३, बुधबार

थोत्रा गाडी हटाउने तर थोत्रा नेताहरू नहटाउने ?

कात्तिक २०, २०७४
थोत्रा गाडी हटाउने तर थोत्रा नेताहरू नहटाउने ?
राजधानी काठमाडौं उपत्यकाबाट बीस वर्ष पुराना थोत्रा गाडीहरू हटाउन सरकारले पहलकदमी लिइरहेका कर्णप्रिय समाचार दिनानुदिन सुन्न पाउनु नेपालीका लागि सुखद समाचार बनेको छ । तर दुर्भाग्य भनुँ या नियतिको खेल भनुँ, तीसौं वर्ष पुराना, थोत्रा, विचारशून्य र मक्किएका मानिस (नेता)हरूको हातमा यो देशको लगाम छ ।
थोत्रा नेताहरू र थोत्रा गाडीहरूबीचमा धेरै समानता देखिन्छ । बीस वर्ष पुराना गाडीहरू उपत्यका र बाहिर गरेर करीब पाँच हजारको संख्यामा छ भन्ने तथ्यांक यातायात व्यवस्था कार्यालयले दिएको छ भने करीब त्यसको दोब्बर संख्यामा थोत्रा नेताहरू उपत्यका र उपत्यकाबाहिर छरिएर रहेका छन् । संसदमा रहेका ६ सय थान उनीहरूसँग पराजित भएका अर्को ६ सय थान, माओवादी केन्द्रका चार हजार केन्द्रीय सदस्य र बाँकी पार्टीका औसत तीन सय केन्द्रीय सदस्य राख्ने हो भने अझ दशहजारको आँकडा पार गर्छ ।

पञ्चायत तीस वर्ष टिक्यो, तर पञ्चायतकालदेखि आजसम्म पनि राजनीति गरेका नेताहरू चालीस वर्षसम्म देश र जनता चुस्दा पनि अघाएनन् । खिया लागेको टिनमा नक्कली जलप लगाएर पञ्चहरू अहिले पनि जनतालाई दिग्भ्रमित पार्न कोशिश गर्दैछन् ।

रंगरोगन गरेर होस् या नयाँ ब्रान्डमा पुराना सामान राखेर होस्, नेपाली बजारमा सामानहरू र नेताहरू बराबर बिक्छन् । आज फलानो यातायात भनेर चक्रपथमा चलेका गाडीहरूले भोलिपल्ट निधारमा ढिस्कानो यातायात र पर्सिपल्ट चिलानो यातायात बनाएर रंगरोगन गरेर यात्रुहरू चढाइरहेका भेटिएझैं, आज समाजवाद नाम गरेका नेताहरूले जनताको बुद्धि भुटेका छन् भने भोलि तिनैले जनवादको नामबाट भुट्छन् । गजबको समानता छ थोत्रा नेताहरू र थोत्रा गाडीहरूको ।

ट्राफिक नियम र प्रहरी प्रशासनको वरीयता उल्लंघन गर्ने काममा दुवैमा एकरत्ती पनि फरक छैन । विना काममा हर्न बजाएर ध्वनिप्रदूषण गर्ने गाडी र हातमा कैंची लिएर रिबन काट्न हिँड्दै गर्दा बाटोमै दुईचारजना लाठेमुङ्ग्रे जम्मा पारेर भाषण ठोकिहाल्ने नेतामा कसैले केही फरक देख्छ भने उसको दृष्टिदोष मात्र हो ।

बीचबाटोमै टायर पंक्चर भएर यात्रुहरूलाई ओरालेर बिचल्ली पार्ने थोत्रा गाडीहरू र बीचबाटोमै सिद्धान्त पंक्चर गराएर कार्यकर्ताहरूको चिल्लीबिचल्ली पार्ने नेताहरू दुवैको एउटा अर्को समानता भनेको नयाँ गाडी र नयाँ वाद खोज्नु हो । त्यसमा मान्छेहरू अटेपनि नअटेपनि अटेसमटेस गरेर बोकेर हिँड्न हतारिइहाल्छन् ।

अझ बाटोमा बढी यात्रु चढाएको, बढी भाडा लिएको या कुनै आरोपमा ट्राफिकले समातिहाल्यो भने जरिवानाको सट्टा चियापानी खर्चमा कुरा मिलाएर लिएर हिँड्ने गाडीका चालकहरू र बीचमा अख्तियार, सर्वोच्च अदालत अनि संसदीय समितिको फेला परे भने नेताहरूले पनि टेबलमुनिबाट चियापानी चढाएर फेरि आफ्नो थोत्रो सिद्धान्तको गाडी हाँक्न आतुर भैहाल्छन् ।

चियापानी खर्च गाडीको हकमा केही सय या हजारसम्म पुग्छ भने नेताहरूको हकमा लाखदेखि करोडसम्म पुग्छ । यसमा अर्को गजब त के भेटिन्छ भने आफू छिटो पुग्ने आशामा यात्रुहरूले पनि ड्राइभर या नेताको पक्ष लिएर चियापानीलाई अनदेखा गरिदिन्छन् जबकि थोत्रा गाडीहरू र थोत्रा नेताहरूको पछि लाग्दा कहाँसम्म पुगिने हो, कुनै भरोसा हुँदैन ।

एकथरीले वातावरण प्रदूषण गरिरहेका छन्, अर्काथरीले राजनीति प्रदूषित गरिरहेका छन् । एकाथरीको पाइपबाट धूवाँ निस्कन्छ भने अर्काथरीको किलकिलेबाट नाइट्रोअक्साइड हावा निस्कन्छ, जसलाई सुँघेर यात्रुहरू मरीमरी हाँस्छन् ।

गाडीहरूको पछाडि एकप्रकारको साहित्यिक लाइन कोरिएको हुन्छ । जस्तै, फेरि भेटौंला, मायाको साइनो, नेपाल त पहिलेकै ठीक, आदि इत्यादि । त्यस्ता साहित्यिक जस्ता लाग्ने मीठा मीठा शब्दहरू नेताहरूको पछाडि पनि लेखिएको हुन्छ । जस्तै, शान्ति, विकास र निकास, नौलो जनवादी क्रान्ति, नयाँ नेपाल र समृद्ध नेपाल आदि इत्यादि ।

न त फेरि भेटौंला लेखेको गाडीको कहिले भेट्ने टुङ्गो हुन्छ, न त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लेखेको नेताले नेपालको राष्ट्रियताको रक्षा गर्दै समाजवादी व्यवस्था ल्याउने टुङ्गो हुन्छ । न त मायाको साइनो लेख्ने गाडीले यात्रुहरूलाई माया गरेर दुईचार रुपैयाँ भाडा घटाउन सक्छ, न त समृद्ध नेपाल लेखेको नेताले नेपाललाई कहिल्यै समृद्ध बनाउँछ ।
लेखक अर्याल

गाडीहरू ठाउँठाउँमा डिजेल हाल्ने भनेर रोक्छन् । डिजेल भएन भने एयर लिन्छ र गाडीको इन्जिन खराब हुन्छ । नेताहरू पनि बेलाबेलामा डिजेल, पेट्रोल या ग्यास हाल्न स्टेसनतिर गैरहन्छन् । अहिले नेताहरूको लागि संयुक्त इन्धन पम्प चाहिँ लैनचौर भएको छ ।

त्यहाँभित्र नछिर्ने नेताहरू फुल स्पीडमा भाग्न सक्दैनन् । तर उल्टो के भने इन्धन नहाल्दा गाडीले एयर लिन्थ्यो भने इन्धन नहाल्दा नेताहरूको एयर खल्यातखुलुत बाहिर निस्किन्छ र हेर्दा मरन्च्याँसे देखिन्छन् ।

काठमाडौंमा ससाना माइक्रोबसहरूले यातायात सेवा प्रदान गरिरहेका छन् । यसो हेर्दा यातायात समितिहरू सयभन्दा माथिका हाराहारीमा छन् ।

नेताहरूले पनि ससाना समितिहरूमार्फत मान्छेको ब्रेनवास गर्दिने सेवा दिन्छन् । संसदभित्र र बाहिर गरेर सयको हाराहारीमा पार्टीहरू छन् । संख्यामा लगभग उस्तै समानता देखिन्छ ।

हुन त विश्वका कतिपय ठाउँमा चल्ने गाडीहरू, ट्रेनहरू रिमोटबाट चल्छन् तर नेपालमा गाडीहरू चलाउन अझै पनि ड्राइभरको नै आवश्यकता पर्छ । तर नेताहरू एक स्टेप अगाडि बढेर आफूलाई आधुनिकीकरण गरेका छन् । यिनीहरू रिमोटले चल्छन् र रिमोटकै आधारमा यिनीहरूको दिशा र गति निर्धारण हुन्छ । यिनीहरूको आइटी सर्भर चाहिँ विदेशमा हुन्छ ।

यति धेरै समानता बोकेका नेताहरू र गाडीहरूबीचको संघर्ष उत्कर्षमा पुगेको छ । सयमा उनान्सय समानता भएपनि एउटा मात्र फरक के छ भने थोत्रा गाडीहरूले थोत्रा नेताहरू हटाउन सक्दैनन्, तर थोत्रा नेताहरूले थोत्रा गाडीहरू हटाउन भने मजाले सक्छन् । यो विशेषता नेताहरूले शायद जन्मिँदै लिएर आएको हुनुपर्छ ।

तर नेपालमा न त त्यस्ता गाडीहरूको आवश्यकता छ न त त्यस्ता नेताहरूकै आवश्यकता छ । अब पनि नयाँ प्रविधिबाट बनेका नयाँ मोडेलका नयाँ युवाहरू जसले तेल कम खान्छन् तर बढी माइलेज दिन्छन्, उनीहरूलाई प्रयोग गरेर देश हाँक्ने जिम्मेवारी दिन कहिले सक्षम हुने हामी ?

salt training

कमेन्ट गर्नुहोस्