३० असार २०८३, मंगलबार

जोशीको सुनुवाइले सांसदलाई 'सुरक्षा खतरा', नेकपाका ६ सहित ८ सांसदले लिए सुरक्षाकर्मी

साउन १६, २०७५
जोशीको सुनुवाइले सांसदलाई 'सुरक्षा खतरा', नेकपाका ६ सहित ८ सांसदले लिए सुरक्षाकर्मी

काठमाडौं –  प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय लिन ढिलाइ भइरहेको अवस्थामा संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूमाथि सुरक्षा चुनौती बढेको भन्दै सरकारले उनीहरूलाई सुरक्षा उपलब्ध गराएको छ ।

सुरक्षा समन्वय महाशाखाले सांसदहरूमाथि सुरक्षा चुनौती रहेको विश्लेषण गरेपछि गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले समिति सदस्यहरूलाई सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराएको हो ।

गृहमन्त्रालयले मंगलबार राति नै निर्देशन दिए पनि बुधबार बिहान नेकपाका ६ सांसदलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा उपलब्ध गराएको छ । सांसदको सुरक्षामा ६ प्रहरी सहायक निरीक्षक (असई) खटिएका छन् ।

सुरक्षा उपलब्ध गराइएका समिति सदस्यमा नेकपाका सांसदहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, सुमनराज प्याकुरेल, निरु पाल, अमृता थापा मगर र शिवकुमार मण्डल केवट छन् ।

उनीहरूका अलावा समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्ण र कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि नै सुरक्षा लिँदै आएका थिए ।

सांसद पालमाथि सांघातिक आक्रमणको प्रयास भएको विषय समितिको बुधबारको बैठकमा उठेको थियो । बैठकले समिति सदस्यहरूलाई सुरक्षा खतरा रहेको भन्दै सुरक्षा उपलब्ध गराउन संसद सचिवालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

सरकारले १५ जना सदस्यलाई नै सुरक्षा उपलब्ध गराउने तयारी गरे पनि बाँकी सदस्यले सुरक्षा लिएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्