काठमाडौं, फागुन ८- सडकमा क्षमताभन्दा बढी भार बोक्ने सवारी साधनलाई नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा अत्यधिक भारवहन नियन्त्रण परीक्षण यन्त्र राख्ने भएको छ। यातायात व्यवस्था विभागले उपत्यकामा सवारीको अत्यधिक भारवहन रोक्न तीनवटा परीक्षण यन्त्र राख्ने तयारी गरेको हो। विश्व बैंकको आर्थिक सहायतामा विभागले यसको काम अघि बढेको हो।
सवारी साधनले क्षमताभन्दा बढी लोड बोक्दा त्यसले सडक स्थिति बिगार्ने, दुर्घटना बढाउने लगायतका समस्या देखिएपछि विभागले यस्तो तयारी थालेको हो। विभागका अनुसार यसको तयारी अन्तिम चरणमा पुगेको छ।
‘करीब ४० लाख रुपैयाँमा तीनवटा यस्ता यन्त्र खरिद गरेर ल्याइएको छ,' विभागका प्राविधिक सल्लाहकार पदम केसीले लोकान्तरसँग भने। क्यालिब्रेसन गरेपछि ती यन्त्र सञ्चालनमा ल्याइनेछ। विभागले केही समयअघि भारतबाट ती यन्त्र खरिद गरेर ल्याएको हो।
यी यन्त्रले मालवाहक सवारी साधनले क्षमताभन्दा बढी लोड बोके नबोकेको परीक्षण गर्नेछ। ‘सडक सुरक्षा र ओभरलोडिङ रोक्न यस्तो पहल थालेका छौं,' उनले भने।
कहा–कहाँ रहनेछन् ?विभागका अनुसार ती यन्त्र पहिलो चरणमा काठमाडौं उपत्यकामा मात्र राखिनेछ। आफ्नै स्वामित्वमा उपत्यकामा विभिन्न स्थानमा ती यन्त्र राखिने विभाग बताउँछ। ती यन्त्रको परिचालन भने ट्राफिक प्रहरी र विभागले संयुक्त रूपमा गर्नेछन्।
‘यी यन्त्र यत्रतत्र सार्न मिल्ने (पोर्टेबल) खालका हुन्,' केसीले थपे। बढी आवश्यक भएको स्थानहरूमा यी यन्त्र राखिने विभागको भनाइ छ। खासगरी काठमाडौं भित्रिने तथा बाहिरिने मुख्य नाका नागढुंगा लगायतका छुट्टाछुट्टै स्थानमा ती यन्त्र राखिनेछन्। आवश्यक पर्दा अन्य स्थानमा पनि यी यन्त्र ल्याउन÷लैजान मिल्नेछ।

पर्साको वीरगञ्ज, रुपन्देहीको बुटवल र विराटनगरको पथलैयामा पनि यस्ता यन्त्र राख्ने विभागको योजना छ। ‘यन्त्र राखेपछि सवारी साधनमा ओभरलोडिङको समस्यामा न्यूनीकरण आउनेछ,' विभागका प्राविधिक सल्लाहकार केसीले भने।
धार्केबाट अनिवार्य ओभरलोडिङ परीक्षण
विभागका अनुसार काठमाडौं भित्रिने तथा बाहिरिने मूलमार्ग पृथ्वी राजमार्गमा पनि पनि यस्तो यन्त्र राख्ने तयारी भइरहेको छ। ‘धार्केमा स्थिर किसिमको ओभरलोडिङ परीक्षण यन्त्र राख्ने तयारी भइरहेको छ,' केसीले भने। उक्त यन्त्र राख्न मिल्ने गरी भवन तथा संरचना बनाउन जग्गाको खोजी भइरहेको विभाग बताउँछ। उक्त यन्त्रले काठमाडौं भित्रिने तथा बाहिरिने मालवाहक सवारीले ओभरलोड गरे÷नगरेको सम्बन्धमा परीक्षण गर्नेछ।
स्थिर खालको यन्त्र भने अलिक महंगो हुने विभागको भनाइ छ। यसका लागि ४० लाख रुपैयाँ खर्च हुनेछ। जग्गा खरिद, भवन तथा संरचना निर्माण लगायतका काममा समय धेरै लाग्ने हुँदा आगामी आर्थिक वर्षमा मात्र धार्केमा यस्तो यन्त्र राख्न सकिने विभाग बताउँछ।
सवारी साधनले ओभरलोडिङको पालना गर्दैनन्
विभागका अनुसार यातायात व्यवस्था ऐन-२०४९ मा सडकमा गुड्ने मालवाहक सवारीले आफ्नो सवारीको क्षमताभन्दा बढी लोड गर्न नहुने व्यवस्था छ। तर विभागकै अनुसार हाल झण्डै शतप्रतिशत सवारीले यसको पालना गरेका छैनन्। ‘सडक बिग्रनुको मूल कारणमध्ये ओभरलोडिङको समस्या पनि एक हो,' केसी थप्छन्।
हाल चारचक्के मालवाहक सवारीले १० दशमलव २ टन, ६ चक्के मालवाहक सवारीले १६ दशमलव २ टन, १० चक्केले २५ टन र १२ चक्के सवारीले ३१ टनसम्मको भार लोड गर्न सक्छन्। तर अहिले कुनै पनि सवारीले यस्तो मापदण्ड मानेका छैनन्।
मापदण्ड पालना नगरे कारवाहीयातायात व्यवस्था ऐनमा ओभरलोडिङलाई नियन्त्रण गर्ने व्यवस्था भएपनि यो हालसम्म पालना भएको छैन। ऐनले ओभरलोडिङ गर्ने सवारीलाई २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।