
काठमाडौं – मुलुकी अपराध संहिता ऐन– २०७४ मा संशोधनको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन् ।
नेपाल चिकित्सक संघ, चिकित्सक समाजलगायत चिकित्सकसँग सम्बन्धित विभिन्न संघ-संस्थाको अगुवाइमा एप्रोनसहित उनीहरू सडकमा उत्रिएका हुन् ।
अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू माइतीघर मण्डलामा भेला भएका छन् । आइतवार बिहान १० बजे नै चिकित्सकहरू एप्रोनसहित आन्दोलनमा उत्रिएका हुन् ।
माइतीघरको विरोध प्रदर्शनपछि १२ बजे नेपाल मेडिकल काउन्सिलमा ५ हजारभन्दा बढी चिकित्सकले आफ्नो प्रमाण पत्र फिर्ता गर्ने कार्यक्रम रहेको छ । चिकित्सकहरूले मुलुकी अपराध संहितामा रहेको इलाजसम्बन्धी कसुरमा चिकित्सकलाई अपराधीको संज्ञा दिइएको भन्दै ऐन संशोधनको माग गर्दै आएका छन् ।
फौजदारी संहिताका कतिपय प्रावधान संशोधन र कतिपय प्रावधान खारेज गर्न नेपाल सरकारलाई दिएको १५ दिनको समयमा कुनै ठोस कदम नचालेका कारण आन्दोलनमा उत्रिनुपरेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले जानकारी दिए ।
भदौ १ गतेदेखि लागू भएको फौजदारी संहिताका कतिपय प्रावधानले आफूहरूलाई काम गर्न अप्ठ्यारो भएको चिकित्सकहरूले बताउँदै आएका छन् ।

फोटो : गगन अर्याल