
काठमाडौं – नेपालीहरूको महान पर्व दशैंलाई मद्देनजर गर्दै आन्तरिक उडान भर्ने विमान कम्पनीहरूले धमाधम टिकट बुकिङ गरिरहेका छन् ।
बुद्ध एयर, तारा एयर, यति एयर, श्री एयर, सौर्य एयर लगायतका विमान कम्पनीहरूले दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ गराइरहेका हुन् ।
पछिल्लो समय आन्तरिक उडानमा यात्रुको चाप बढ्दै गएको छ ।
निजी विमान कम्पनीहरूसँगै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स पनि प्रतिस्पर्धामा उत्रिएपछि हवाई यात्रा गर्नेको संख्या करीब ३० प्रतिशतले बढेको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।
पछिल्लो समय उपभोक्ताहरूको क्रय शक्ति बढ्दै गएकाले पनि हवाई यात्रा गर्नेहरूको संख्या बढेको संघका प्रवक्ता घनश्यामराज आचार्य बताउँछन् ।
गत दशैंमा करीब एक लाख मानिस हवाई रुट हुँदै राजधानीबाट बाहिरिएका थिए ।
खासगरी लामो दूरीमा हवाई मार्गको बढी प्रयोग भएको पीएस ट्राभल एजेन्सी धनगढीका प्रबन्ध निर्देशक पदमविक्रम शाह बताउँछन् । काठमाडौंबाट धनगढीको रुट लामो मानिन्छ ।
रेमिट्यान्स र बढ्दो औद्योगिकरणका कारण विस्तारै सुदूरपश्चिमको जनजीवन आर्थिक रूपमा सुधारोन्मुख रहेको संकेत पनि हवाई मार्गको बढ्दो यात्रा भएको शाह बताउँछन् ।
अन्य हवाई मार्गमा पनि अत्यधिक चाप देखिएको वायु सेवा सञ्चालक संघले जनाएको छ ।
विमान कम्पनीहरूले नेपालीको महान पर्व दशैंलाई लक्षित गरी प्रतिस्पर्धात्मक रूपमा आन्तरिक भाडा पनि घटाएका थिए ।
उसो त पछिल्ला वर्षहरूमा आन्तरिक रूपमा हवाई यात्रा गर्ने यात्रुको संख्या पनि बढ्दो छ ।
पछिल्ला २ वर्षमा नेपाली आन्तरिक हवाई आकाशमा यात्रा गर्नेको संख्या करीब २० प्रतिशतले बढिरहेको तथ्याङ्क छ ।
विस्तारै नेपालीहरूको आयस्रोत बढेकाले हवाई यात्रा गर्नेको संख्या पनि बढेको नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्सी (नाट्टा)का अध्यक्ष सीएन पाण्डे बताउँछन् ।
गत दशैमा ९६ हजार ५६ जना यात्रुले हवाई मार्गको प्रयोग गरेका थिए । २०७३ को दशैंमा ७० हजार ४ सय ३९ यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए । २०७२ सालको दशैंमा यो संख्या ४१ हजार ८ सय ७४ मात्र थियो ।
बढ्दो प्रतिस्पर्धा
प्रत्येक वर्ष जहाजको संख्या थपिँदैछ । त्यससँगै सिट र उडान संख्या पनि बढेको छ । अहिले ९० वटा जहाज र हेलिकप्टर छन् ।
यात्रुको चाप भने उस्तै छ । यसवर्ष एउटै एयरलाइन्सले एकै स्थानमा चारवटासम्म उडान थपेका छन् ।
विमान कम्पनीहरूले धमाधम आधुनिक सुविधा सम्पन्न ठूला जहाज भित्र्याए उडान संख्यामा पनि वृद्धि भएको हो । आन्तरिक उडानका जहाजको संख्या ८० भन्दा बढी पुगिसकेका छन् ।
अझै केही जहाज थपिने क्रममा छन् । आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको विमान कम्पनी सञ्चालकहरू बताउँछन् ।