२९ असार २०८३, सोमबार

सद्गुरूदेव सतपाल महाराजको जन्मोत्सवमा ७ सय ९ जनाद्वारा रक्तदान

सद्गुरूदेव सतपाल महाराजको जन्मोत्सवमा ७ सय ९ जनाद्वारा रक्तदान

काठमाडौं – नेपाल मानव धर्म सेवा समिति प्रणेता सद्गुरूदेव सतपालजी महाराजको जन्मोत्सवको अवसरमा रक्तदान गरिएको छ ।

देशभर रहेका समितिका विभिन्न अञ्चल र शाखा आश्रममा ७ सय ९ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम शनिवारसम्म जारी रहने समितिका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक टेकबहादुर थापाले बताए ।

संसारभर सद्गुरूदेव महाराजको जन्मोत्सव मनाइरहँदा नेपालमा पनि धुमधामका साथ अञ्चल आश्रम र शाखा आश्रममा विभिन्न कार्यक्रम गरेर जन्मोत्सव मनाइएको छ । काठमाडौंको गौशालास्थित हंस आत्माबोध आश्रमले विगत ३ दिनदेखि उपत्यकाको विभिन्न ठाउँमा रक्तदान कार्यक्रम गरिरहेको छ ।

जन्मोत्सवको अवसरमा शुक्रवार बिहान भक्तजनद्वारा शोभायात्रा निकालिएको थियो । बिहान साढे ८ बजे आश्रमबाट शुरू भएको र्याली गौशाला चोक, पुरानो वानेश्वर, सिनामंगल, एयरपोर्ट हुँदै पुनः आश्रम परिसरमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रम ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि तथा सभामुख सानुकुमार श्रेष्ठले नेपाल एउटा तपोभूमि, पशुपतिनाथ, भगवान बुद्धको देश भएको र त्यही दीक्षा गुरू महाराजीले देखाएकाले धार्मिक मार्गमा लाग्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्ष तथा समितिको केन्द्र प्रमुख महात्मा चमेली वाइजीले मानव धर्म सनातन धर्म रहेको र आत्मज्ञानको प्रचार युगपुरुष सतपालजी महाराजले गरेको बताइन् । ‘गीता, उपनिषद् र वेदको ज्ञानलाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक रुपमा जान्नुपर्ने हुन्छ,’ उनले भनिन् ।

महात्मा जगदम्बा वाइजीले गुरु वा सत्यलाई खोज्न बाहिर नभई हृदयभित्र नै प्रवेश गर्नुपर्ने बताइन् । महात्मा अल्कालन्दजीले महापुरुष मनुष्यको रुपमा धर्तिमा किन आए भन्नेबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा समधुर भक्तिसंगीत, बाल नृत्य र नाटकले रौनकता थपेको थियो । महात्मा लता वाइजीले विश्वमा शान्ति ल्याउनको लागि आफ्नो मन मस्तिष्क परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्