
काठमाडौं — मेडिकल क्षेत्रदेखि दैनिक प्रयोग हुने वस्तुसम्म केही कुरा यस्ता छन् जसको आविष्कार दुर्घटनावश भएको थियो । पछि यी आविष्कार र मानव जीवनमा क्रान्ति ल्याए ।
पटका
लगभग दुई हजार वर्षपहिले चीनको एक भान्सेले नजानिकनै पटका आविष्कार गरेको थियो । उसले सल्फर, पोटेसियम नाइट्राइट र कोइला मिसाएर चुल्होमा राखे । तातो लागेपछि रसायनको उक्त मिश्रणमा विस्फोट भयो । त्यसलाई चीनमा अग्नि रसायन नाम दिइयो ।
बिस्तारै मानिसले यो प्रयोगसँगै के बुझे भने त्यो मिश्रणलाई बाँसका टुक्राहरूभित्र राखेमा विस्फोट हुन्छ । यसरी पटका आविष्कार भयो ।
अनि अनेकौं प्रयोगपछि उनीहरूलाई थाहा भयो, पटकालाई हावामा उडाउन पनि सकिन्छ । चीनमा बिहे तथा दाहसंस्कारको अवसरमा यसको प्रयोग गरिन्थ्यो । पटका पड्काउँदा खराब आत्मा भाग्ने विश्वास उनीहरू गर्थे ।
मार्कोपोलोले चीनको यो आविष्कारलाई पश्चिम एसिया पु–याए । त्यहाँबाछ पटका इटली पुग्यो । इटलीमा पटकालाई रंगीन बनाउने काम गरियो । इटालेलीहरूले फरक फरक रासायनिक मिश्रणको प्रयोग गरे जुन बल्दाखेरी फरक रंग दिन्थ्यो ।
लाफिङ ग्यास
सन् १७९९ मा बेलायतका रसायनशास्त्री तथा आविष्कारक हम्फ्रे डेभीले मानिसको शरीरमा कृत्रिम ग्यास सासको माध्यमबाट पठाउँदा के प्रतिक्रिया आउँछ भनी परीक्षण गरे । उनले अमोनियम नाइट्रेटको क्रिस्टलबाट एउटा ग्यास बनाएर रेशमको थैलीमा थुने । अनि पानीको बाफको सहायताले उनले ग्यासको शुद्धीकरण गरे ।
पछि एउटा माउथपीस लगाएर हम्फ्रीले थैलोको ग्यास शरीरमा पसाए । ग्यास शरीरमा छिरेपछि उनलाई हलुका चक्कर लाग्यो र खुशी अनुभव भयो । उनले यो ग्यासको प्रयोग आफ्ना रोगीहरूमाथि पनि गरे । यसरी नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्यासको आविष्कार भयो ।
स्याकरिन
स्याकरिन कृत्रिम चिनी हो र यसको आविष्कार पनि संयोगवश भएको हो । अमेरिकामा ईरा रेमसेन नामक प्राध्यापक बाल्टिमोरस्थित हप्किन्स विश्वविद्यालयमा सानो प्रयोगशाला चलाउँथे । एक निर्यात कम्पनीले सन् १८७८ मा उनलाई कन्स्ट्यान्टिन फलबर्ग नामक मिष्ठविशेषज्ञलाई एक वर्षका लागि प्रयोगशाला दिन अनुरोध ग–यो । ल्याबमा फलबर्गले चिनीसम्बन्धी परीक्षण गरे ।
चिनीको सफल परीक्षण गरेपछि फलबर्गले प्रयोगशालामा काम गर्दै गर्दा खाना खाँदा पाउरोटी गुलियो भएको थाहा पाए । पाउरोटी बनाउनेले त्यसमा चिनी नहालेको थाहा पाएपछि फलबर्गले हातमा कुनै रसायन टाँसिएर पाउरोटीको स्वाद गुलियो भएछ कि भनी शंका गरे ।
पछि एउटा बीकरमा फस्फोरस क्लोराइड, अमोनिया र सल्फोबेनजोइक एसिड हालेपछि स्याकरिन बन्यो र त्यो गुलियो थियो । पहिलो विश्वयुद्धमा चिनीको कमी हुँदा स्याकरिन प्रयोग गरियो ।
एक्सरे
सन् १८९५ मा जर्मनीका एक भौतिकशास्त्री विल्हेम कोनराड रोन्चिन प्रयोगशालामा क्याथोड किरणमा काम गरिरहेका थिए । उनले केही समयअघि स्क्रीनमा रसायन लगाएका थिए । उनको आँखा स्क्रीनमा पर्दा अचम्मको प्रकाश देखे । यसमा अनुसन्धान गर्दै जाँदा उनलाई एक्सरेको बारेमा थाहा भयो । यो आविष्कारले चिकित्सा जगतमा क्रान्तिकारी परिवर्तन ल्यायो ।
एजेन्सी