
काठमाडौं — फेसबूक प्रयोगकर्ताहरूको डाटा चोरिएको विषयमा केही समयदेखि फेसबूकको खुबै आलोचना भइरहेको छ । पाँच करोड प्रयोगकर्ताको डाटा लीक भएको घटना सेलाउन नपाउँदै बिहीवार नयाँ किसिमको ठगीको चर्चा प्रयोगकर्ताले गर्न थालेका छन् ।
फेसबूकमा नक्कली प्रोफाइल बनाएर साथी र नातेदारहरूसँग पैसा माग्न थालिएको कुरा प्रयोगकर्ताहरूले रिपोर्ट गरेका छन् ।
यसअघि पनि ह्याकरहरूले कुनै प्रयोगकर्ताको अकाउन्ट ह्याक गरेर उनीहरूको साथीलाई सन्देश पठाउँदै पैसा माग्ने गरेका थिए । हजारौं रुपैयाँको ठगी यसरी भइरहेको गुनासो आइरहेको हुन्थ्यो ।
तपाईंको अकाउन्टबाट साथीहरूलाई पैसा मागेर सन्देश पठाइने गरेको छ भने पहिला साथीलाई फोन गरेर सुनिश्चित हुनुस् । राम्ररी छानबीन गर्नुस्, भावनामा नबग्नुस् । छिट्टै प्रहरीलाई खबर गर्नुस् ।
हावादारी लिंकहरूमा क्लिक नगर्नुस् । दश वर्षपछि तपाईं कस्तो देखिनुहुन्छ भन्ने खालका वाहियात लिंकतिर ध्यानै नदिनुस् ।
समय समयमा पासवर्ड बदल्नुस् । त्यसो हुँदा तपाईंको अकाउन्ट ह्याक हुने सम्भावना कम हुन्छ ।
अनि पासवर्ड पनि सजिलो खालको नराख्नुस् । अक्षर, अंक र साइन सबै मिसिएको स्ट्रङ पासवर्ड बनाउनुस् ।
पासवर्ड बदल्दा सेभ चेन्जेजको बेलामा कीप मी लग्ड इनमा क्लिक नगर्नुस् । पासवर्ड बदल्दा कीप मी लग्ड आउट फ्रम अल डिभाइसेजमा क्लिक गर्नुस् । त्यसो गर्दा जुन डिभाइसमा तपाईंले अकाउन्ट एक्सेस गर्नुहुन्छ, ती सबैबाट लगआउट हुन सक्नुहुन्छ ।
फेसबूकले आफ्ना प्रयोगकर्ताहरूलाई टु फ्याक्टर अथेन्टिफिकेसन नामक दोहोरो सुरक्षाको विकल्प दिएको छ । यो फीचर प्रयोग गरेर प्रयोगकर्ताले अकाउन्ट सुरक्षित राख्न सक्छन् । फेसबूक एपको सेटिङमा गएर अकाउन्ट सेटिङ चेक गर्नुस् । त्यहाँ सेक्युरिटी एन्ड लगइनमा जानुस् । त्यहाँ सेटिङ अप एक्स्ट्रा सेक्युरिटी अप्सनमा युज टु फ्याक्टर अथेन्टिकेसन अप्सन भेटिन्छ । त्यसलाई एक्टिभ गर्नुस् ।
त्यो गरेपछि तपाईं फेसबूकमा लगइन गरेपिच्छे रजिस्टर्ड नम्बरमा एउटा कोड आउँछ । कोड एन्टर गरेपछि मात्र तपाईं लगइन हुन सक्नुहुन्छ ।
एजेन्सी