०८ साउन २०८३, शुक्रबार

बलिस्थल व्यवस्थापनमा युवा : यसरी हल गरियो बोकाको टाउको बाँड्ने किचलो

असोज ३१, २०७५
बलिस्थल व्यवस्थापनमा युवा : यसरी हल गरियो बोकाको टाउको बाँड्ने किचलो

जनकपुरधाम – स्थानीय समुदायका युवा सक्रिय भएर ठूल्ठूला काम र कार्यक्रमलाई फत्ते पार्न सक्छन् । त्यसको एउटा उदाहरण हुन् जनकपुरधामका युवा ।

चाडबाडको बेला भीडभाडदेखि कार्यक्रम व्यवस्थापनको विषय जटिल बन्ने गर्छ । तर, जनकपुरका युवाले दशकौंदेखि स्थानीय स्तरका कार्यक्रमलाई सहजै व्यवस्थापन गर्दै आएका छन् । झन् दशैंको बेला अष्टमीमा हुने बलि व्यवस्थापनको लागि दशकौंदेखि विशेष विधि अपनाइँदै आएको छ ।

शुरूमा समाजमा जनधनको सुरक्षाका लागि राति–राति पहरेदारी दिन स्थानीय युवा संगठित भएका थिए । पहरेदारीसँगै जनकपुरधामको रामचोकका युवाले श्रीराम युवा कमिटी बनाए । रामबाबु साहको अध्यक्षतामा २०४७ भदौ १८ गते श्रीराम युवा कमिटीको स्थापना भएको थियो ।

कमिटी स्थापनालगत्तै विजयादशमीको बन्दोबस्त मिलाउने विषय प्राथमिक बन्यो । विजयादशमी तथा राजदेवी मन्दिरमा हुने पूजाआजा तथा बोकाको बलि कार्यलाई सहज बनाउने विषयमा युवाले छलफल गरे ।

मन्दिरमा हजारौं भक्तजन आउँदा भीड अनियन्त्रित हुन गए ठूलो दुर्घटना पनि हुन सक्ने सम्भावना रहन्छ । जनकपुरको राम मन्दिरसँगै टाँसिएको राजदेवी मन्दिरमा पञ्चायतकालमा ५–६ सय बोका काट्न साँझ ५ बजेदेखि बिहान २–३ बजेसम्म लाइन लाग्ने गरिन्थ्यो ।

श्रीराम युवा कमिटीका संस्थापक महासचिव प्रमोद चौधरीले भने, ‘स्थानीय युवाले साना–साना समूह बनाएर बलिका लागि पालो कुर्ने प्रस्ताव ल्याएपछि प्रहरीले पनि समर्थन जनायो । प्रहरीले बाहिरी घेरामा सुरक्षा तैनाथी दिने प्रतिवद्धता जनायो ।’ त्यतिबेला बनेको खाका अनुसार नै हालसम्म पनि बोका बलि व्यवस्थापनको कामले निरन्तरता पाएको छ ।

२५ वर्षअघिको खाका अनुसार बोकाको लाइन लगाउने, २५ जना एउटा चौर, २५ जना अर्को चौरमा राख्ने, बलि प्राङ्गणमा २५ जना जान दिने परम्परा प्रचलनमा रहेको छ । 

श्रीराम युवा कमिटी जस्तै अरु युवा क्लबले पनि व्यवस्थापनमा सघाउने गरेका छन् । सबै क्लबलाई सम्मान गर्दै समान जिम्मेवारी दिने गरिएको छ ।

अष्टमीको दिन एउटा संयुक्त युवा क्लबको व्यानर राखिएको हुन्छ भने त्यसको आयोजकमा श्रीराम र महावीर युवा कमिटी हुन्छन् । नवमीका दिन महावीर युवा कमिटीको व्यानर राखिन्छ । मान्छेको चाप बढ्दै गएपछि ती दुवै क्लबबीच सहमति गरी कामको बाँडफाँड गरियो ।

बाँडफाँडमा महावीरले राजदेवी मन्दिरको पूजापाठदेखि सबै कार्यक्रम हेर्ने र श्रीराम युवाले अमरखाना अन्नपूर्णाको सबै काम हेर्ने सहमति भयो । तर, अष्टमीको चाहिँ सम्पूर्ण जिम्मेवारी श्रीराम युवा कमिटीको काँधमा हुने निर्णय भयो ।

‘पहिले मिथिला माध्यमिकी परिक्रमा हुँदा युवाको कुनै पनि योगदान रहँदैन्थ्यो,’ श्रीराम युवा कमिटीका संस्थापक महासचिव चौधरी भन्छन्, ‘बरु हामीले के सुनेका थियौं भने ग्रामीण क्षेत्रका मानिसले परिक्रमा यात्रुहरूको बस्ने ठाउँमा ओछ्यान बिछ्याइ सुत्ने र महिलासँग अभद्र व्यवहार गर्ने गर्थे ।’ तर, अहिले सबै युवा सही ढंगले कार्यक्रम व्यवस्थापनमा लाग्ने गरेका छन् ।

‘अहिले १५ दिने परिक्रमामा गाउँगाउँमा युवा परिचालित भई व्याच लगाई वा कुनै समितिको नाउँ दिएर परिक्रमा यात्रुहरूलाई विजुली बत्तीको प्रबन्ध मिलाइदिने, निर्वाह गरिदिने व्यवस्था भएको हो,’ चौधरीले लोकान्तरसँग भने ।

संस्थापक महासचिव चौधरीका अनुसार बोका बलि चढाउने मान्छे धेरै गरीब हुन्थे । ‘चुरा, नुन बोकेर आउँथे । भोकभोकै बसेर पनि भाकल गरिएको बोकाको बलि प्रदान गराई घर फर्किने प्रतिक्षामा २ दिनसम्म पनि बस्नुपर्ने अवस्थासम्म आउँथ्यो,’ उनले भने, ‘त्यसपछि हामीलाई दया लाग्यो । अनि हामीले १ जना दाता विश्वनाथ साहलाई आग्रह गर्यौं आएका मान्छेलाई खुवाउन सहयोग गर्नुस् भनेर । उहाँ तयार हुनुभयो । हामीले भन्यौं कमसेकम ५ हजार मानिसको खानाको व्यवस्था गरिदिनुस् ।’ त्यसपछि पुरी, बुनियाँ र तरकारी निःशुल्क भोजन गराउने व्यवस्था मिलाइएको उनले बताए ।

बलि प्रदान गराइएको बोकाको टाउको गुठी संस्थानका कर्मचारीले नै राख्ने गर्थे । टाउको काट्दा बढी मासु टाउकोसँगै जोडेर काट्ने गरिन्थ्यो । ‘तर, कुनै मानिसले ४ किलोग्राम तौल भएको बोका लिएको हुन्छ र ५० देखि १ सय जनासम्मलाई प्रसाद ग्रहण गर्न आमन्त्रण गरेको हुन्छ । त्यति मात्र मासुमा व्यवस्थापन गर्न गाह्रो भइरहेको हुन्छ,’ चौधरीले भने, ‘हामीले त्यसबेला ७ रुपैयाँ शुल्क निर्धारण गर्यौं र टाउको पनि फिर्ता गर्ने निर्णय गर्यौं ।’ टाउको पनि फिर्ता गर्न थालेपछि मासु लुटालुट हुने अवस्थाको पनि अन्त्य भएको छ ।

२०४७ सालमा लगभग १ हजार २ सय बोकाको बलि चढाइएको थियो । साँझ साढे ५ बजे शुरू गरेर साढे ८ बजेसम्म बलि दिने काम सकिएको थियो । पञ्चायत कालमा ३ सय ४ सय बोका काट्न करीब १२ घण्टासम्म लाग्ने गरेको उनले बताए ।

जनकपुरधामको विजयीदशमीले भव्यता पाउँदै गएको छ । देशका विभिन्न ठाउँबाट दशैं हेर्न पर्यटक जनकपुरधाम आउने गर्छन् । जनकपुरबाट सरुवा भएर जाने कर्मचारीले समेत जनकपुरको दशैंबारे प्रचारप्रसार गर्न थालेपछि पर्यटक झन्झन् आकर्षित हुँदै गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्