३० असार २०८३, मंगलबार

‘मालिका’ समीक्षा : महिला हिंसाको गम्भीर विषय उठाउने अर्थपूर्ण चलचित्र

कात्तिक १८, २०७५
‘मालिका’ समीक्षा : महिला हिंसाको गम्भीर विषय उठाउने अर्थपूर्ण चलचित्र

देशमा बलात्कारका घटना ह्वात्तै बढेका छन् । बालिकादेखि वृद्धासम्म बलात्कारको शिकार भएको हामी सुन्दै, पढदै आएका छौं । त्यतिमात्र होइन, कतिले बलात्कारको शिकारप भएपछि ज्यान समेत गुमाएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकसय दिन कटिसक्दा समेत अपराधी पत्ता लाग्न सकेको छैन । 

त्यस्तै महिला हिंसाको अर्को रूप बालविवाहसम्बन्धी विविध कार्यक्रमहरू भएपनि देशका कुनाकाप्चामा यसले गाडेको जरा निर्मूल हुन सकिरहेको छैन । तराई क्षेत्रमा दाइजोप्रथाको अवस्था उस्तै छ । यस्तो अवस्थाविरुद्ध राजधानी लगायत देशका विभिन्न जिल्लाहरूमा बेलाबेलामा आन्दोलनले चर्को रूप पनि लिइरहेको अवस्था छ । हाल प्रदर्शनरत चलचित्र ‘मालिका’ले यस्तै अवस्था चित्रण गरेर दर्शकमाझ पस्कने प्रयास गरेको छ ।

कर्णालीको एक जिल्ला जाजरकोटकी एक १५ वर्षीया बालिका जया (कमला वली) आफ्नो विवाहमण्डपबाट भागेर काठमाडौं आउँछे । विवाहमण्डपबाटै भाग्नु उसको रहर होइन । आफूलाई बलात्कार गर्ने गाउँकै एक व्यक्तिसँग विवाहको निर्णय भएपछि उसले यो कदम उठाएकी हो । मनभित्रको डर, बिरानो ठाउँ अनि जयाको काठमाडौं यात्रा त्यति सहज छैन । उनको एक्लोपन अनि सोझोपनको फाइदा उठाउन पुरुषहरूले खेल्ने चलखेल उस्तै छ । 

यता तराईकी छोरी मालिका (रेखा थापा)को काठमाडौं यात्रा पनि त्यसै तय भएको छैन । समाजमा जरा गाडेको दाइजोप्रथा र अन्धविश्वासका कारण मालिकाको विवाह पटकपटक रोकिएको छ । गरीब परिवारकी हक्की स्वभावकी छोरीको भूमिकामा प्रस्तुत भएकी मालिकाले तराईबाट काठमाडौं आएपछि जयासँग गरेको भेट, उनीहरूले गर्ने संघर्ष, अन्धविश्वास, बालविवाह र बलात्कारविरुद्ध यी दुईले उठाउने आवाज नै चलचित्रको मूल कथा हो । 

चलचित्रको कथा यिनै मालिका र जयाले बोकेका छन् । यसअघि ‘हिम्मतवाली’मा महिलाको साहस, रुद्रप्रियामा एसिडको कथा उठाएकी रेखाले मालिकालाई अझ सशक्त बनाउने प्रयास गरेकी छन् । चलचित्रमा कलाकारको भीड छैन । कथा सरल छ । नरबहादुर कार्की र रेखा थापा मिलेर लेखेको कथाले महिला हिंसा, बालविवाह, बलात्कार, दाइजोप्रथा जस्ता विसंगतिलाई गम्भीर रूपमा उठाएको छ । 

यीबाहेक चलचित्रभित्र अन्य थुप्रै सन्देश पाउन सकिन्छ । हेपाहा प्रवृत्ति सहनुहँुदैन, विसंगतिविरुद्ध आवाज उठाउनुपर्छ, डरसँग नडराई हरेक समस्यासँग जुध्ने सामर्थ्य राख्नुपर्छ जस्ता सन्देश चलचित्रले दिन्छ । आफ्नो विषयमा चलचित्र गम्भीर बनेको छ । दर्शकका लागि अनावश्यक बोझ थुपारिएको छैन । चलचित्र हेरिरहँदा दर्शकले देशका विकराल समस्यालाई नियाल्ने अवसर पाउँछन् । 

छोरीका निम्ति स्वर्णिम नेपाल अभियानमार्फत मालिकाले निभाएको भूमिका दर्शकका लागि प्रेरणादायी लाग्छ । चलचित्रभित्र उनले बोलेका केही वाक्य उस्तै प्रेरणादायी लाग्छन् । गीतसंगीत, द्वन्द्वका रसहरू समावेश गरिँदा चलचित्रको वजन बढेको भाव हुन्छ । चलचित्रमा स्थानीय भाषा, कला, संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ ।

चलचित्रमा जयालाई ‘नायकत्व’ सुम्पेको बताइरहँदा चलचित्रभित्रको ‘नायकत्व’ रेखामै झल्किन्छ । उनले विगतका चलचित्रमा आफूलाई प्रस्तुत गर्ने तरिका ‘मालिका’मा पनि निरन्तरता दिएकी छन् । ‘अव्यावसायिक कलाकार’ जयाको अभिनय औसत छ । रेखाको निर्देशकीय पाटो सुधारोन्मुख छ । छायांकन औसत छ । 

प्रदर्शनअघि चर्चामा आएकी अर्की पात्र शर्मिला रावलको भूमिका न्यून छ । सहजै भन्दा, दुहलीको भूमिका निर्वाह गरेकी शर्मिला दर्शकको नजरमा पर्दिनन् । 

चलचित्रको अन्त्यमा जयाको पारिवारिक पाटोलाई उठाइएपनि मालिकाको पारिवारिक पाटो ओझेलमा छ । यसरी भन्दा केही कमीकमजोरीबीच बनेको गम्भीर मुछाको चलचित्र हो, ‘मालिका’ ।

कमेडी चलचित्रको बाढी र त्यसमै दर्शकको चाप बढिरहेको बेला मालिका प्रदर्शनमा आउनु जोखिमपूर्ण निर्णय हो । रेखाको साहसलाई मान्नैपर्छ – चलचित्र मालिका कमेडी चलचित्रको भीडका बीच प्रदर्शनमा आएको छ ।
‘मालिका’ कमेडी खोज्नेहरूका लागि होइन, गम्भीर चलचित्र मन पराउनेहरूका लागि हो । 

गम्भीर मुद्दा उठाएको हुनाले यो चलचित्र ती क्षेत्रका लागि पनि हो, जहाँ बालविवाह, बलात्कार, दाइजोप्रथाजस्ता समस्याले जरो गाडेको छ । ‘मालिका’ हेर्दा हामी जति गम्भीर हुन्छौं, चलचित्रले उठाएको विषयवस्तु सोच्दा हामीलाई त्यति नै गम्भीर बनाउँछ ।

चलचित्र :  मालिका
निर्देशक : रेखा थापा
कथा/कन्सेप्ट : रेखा थापा, नर बहादुर कार्की
कलाकार : रेखा थापा, कमला वली इत्यादि ।

salt training

कमेन्ट गर्नुहोस्