०२ साउन २०८३, शनिबार

फेरिँदै र फैलिँदै छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिन धुमधाम

कात्तिक २७, २०७५
फेरिँदै र फैलिँदै छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिन धुमधाम

जनकपुरधाम – छठ पर्व मिथिलाञ्चलदेखि तराई, पहाड र राजधानी काठमाडौंमा भव्यताका साथ मनाइन्छ ।

भगवान सूर्यको उपासना गर्दै छठी मैयाको पूजा गर्ने लोक आस्थाको पर्व छठ यस वर्ष पनि २ नम्बर प्रदेशको राजधानी जनकपुरधामसहित तराईका विभिन्न जिल्लामा मनाइँदैछ ।

मंगलवार बिहानैदेखि जनकपुरधामको विभिन्न पोखरी तथा सरोवरमा छठ पर्वका अवसरमा अस्त हुने सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिनका लागि प्रसाद लगेर राखेका छन् । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक सागर गंगासागर, दशरथ सागर, अंगराज सर, गोर्धोई पोखरी लगायत विभिन्न पोखरीमा व्रतालुले प्रसाद लगेर राखेका छन् ।

करीब १ सातादेखि स्थानीय युवा क्लबले पोखरीको सरसफाई तथा घाटलाई सौन्दर्यीकरण गर्ने काममा लागेका थिए । सबै पोखरीमा टेन्ट, लाइट र पण्डालको व्यवस्था गरिएको छ ।

मंगलवार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको सन्ध्याकालीन अर्घ दिइने छ । प्रसादको रूपमा गहुँको पिठोले र मिठ्ठाले बनेको ठेकुवा, भुसुवासहित उखु, बेसार, केरा र फलफूल अर्घ दिने गरिन्छ । अति नै पवित्रताका साथ ती प्रसाद घरमा बनाउने गरिन्छ ।

छठ पर्वलाई विभिन्न किसिमले विश्लेषण गर्ने गरिएको छ । कहिलेदेखि शुरू भयो भन्ने यकिन प्रमाण नरहेपनि आदीकालदेखि नै लोकआस्था र लोक पूजाको आधारमा निष्ठापूर्वक व्रत मनाउने गरिएको मिथिला राज्य संघर्ष समितिका संयोजक समेत रहेका प्राध्यापक परमेश्वर कापडी बताउँछन् । ‘अत्यन्तै शुद्धतापूर्वक प्रसाद बनाएर उदाउँदो र अस्ताउँदो सूर्यलाई निराहार व्रत बसी अर्घ दिने मिथिलाको मौलिक लोकपर्व हो छठ,’ कापडीले भने ।

कृषि उत्पादकत्वसँग जोडिएको कुरा नै प्रसादको रूपमा अर्घ दिने गरिएको हुनाले छठ कृषिसँग पनि जोडिएको संस्कृतिविद् समेत रहेका नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा बताउँछन् । ‘यो पर्वले कृषि उत्पादकत्व बढाउन मात्रै होइन, विभिन्न किसिमको भेदभावलाई पनि हटाउने प्रतीकको रूपमा पनि मानिन्छ ।’ यदाकदा समाजमा जातीय छुवाछुत र भेदभाव भइरहने भएपनि छठमा सबै जाति, समुदायले पोखरीको एकैघाटमा सबैको प्रसाद राख्ने गरेको बताउँदै झाले छठले जातिगत, सामुदायिक भेदभाव पनि हटाउने बताए ।

‘तराईसँगै पहाड र देशकै राजधानी काठमाडौंमा समेत छठ पर्व मनाउन थालिएकाले छठ पर्व अब तराई पहाड जोड्दै राष्ट्रिय एकताको प्रतीकको रूपमा पनि स्थापित हुँदै गएको छ,’ झाले लोकान्तरसँग भने ।

छठ पर्व विशुद्ध रूपले आफ्नै खेतबारीको उपजलाई प्रवद्र्धन गर्ने उद्देश्यले मनाउने गरिएको भएपनि अहिले त्यसमा विकृति आएको प्राध्यापक डा. सुरेन्द्र लाभ बताउँछन् । राष्ट्रिय थिंक ट्यांकका सदस्य समेत रहेका लाभ भन्छन्, ‘अहिले केलादेखि फलफूल सबै कुरा भारतबाट आयात भइरहेको छ, त्यसकारण आफ्नै उत्पादकत्व बढाउन मिथिलाञ्चल क्षेत्रमा पुनर्जागरणको आवश्यकता छ ।’

सामान्यतया जलाशयमा फोहोर फालिने भएपनि छठकै अवसरमा जलाशयलाई सफा गर्ने, पानीलाई सफा गर्ने काम गरिने हुँदा यस पर्वले वातावारणलाई पनि स्वच्छ र सफा राख्नुपर्छ भन्ने सन्देश समेत दिने गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामचन्द्र झा बताउँछन् । ‘प्रदूषित पानी मानव मात्र होइन, जलप्राणीलाई समेत असर पार्ने हुँदा जलाशयलाई प्रदूषणरहित राख्नुपर्छ भन्ने संदेश दिएको छ,’ उनले भने ।

‘छठ पर्व पौराणिक, धार्मिक, सामाजिक रूपले पनि महत्त्वपूर्ण छ,’ प्राध्यापक डा. भोगेन्द्र झाले भने, ‘हिन्दू सँगसँगै अब मुस्लिम समुदायले पनि छठ पर्व यदाकदा मनाउन थालेकाले छठ पर्व आत्मनिर्भर संस्कृतिको प्रतिक बनेको छ ।’ 

पर्वमा आफ्नै कृषि उपजको सम्पूर्ण कुरा प्रसाददेखि बासकै सामग्रीको समेत प्रयोग हुने गरेकाले व्यापारिक असन्तुलन हटाएर आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि, स्वावलम्वन बन्न र समग्रमा  मानव समाजकै लागि अति नै महत्त्वपूर्ण पर्व रहेको अर्थशास्त्री झाले बताए ।

‘मानव समाजमा कुनै पनि किसिमले भेदभाव छैन । जातिगत होस् वा साम्प्रदायिक, धनी होस् वा विपन्न । सबै एकैसाथ बसेर पूजा गर्नु नै यो पर्वको विशिष्ट पहिचान हो,’ उनले भने ।

कार्तिक शुक्लपक्षको षष्ठी तिथिका दिन मनाउने छठ पर्व चैत्रमा पनि चैती छठको रूपमा मनाउने गरिन्छ । विगतमा साँझ प्रसाद लिएर पोखरीको घाटमा जाने, सन्ध्याकालीन अर्घ दिएर सबै प्रसाद घरमा फिर्ता ल्याउने र फेरि बिहान सबेरै घाटमा प्रसाद लगेर उदाउँदो सूर्यलाई अर्घ दिएर प्रसाद घरमा ल्याउने गरिन्थ्यो । तर, विगत १ दशकबाट जनकपुरधाम शहरदेखि ग्रामीण क्षेत्रहरूमा पनि छठको सन्ध्या अर्घ दिने दिनको बिहानैदेखि भोलिपल्ट २४ घण्टासम्म पोखरीको घाटमै प्रसाद राख्ने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्