२९ असार २०८३, सोमबार

गायक अर्जुन सुनामका दर्जनौं गीत अब एकै साँझमा

कात्तिक ३०, २०७५
गायक अर्जुन सुनामका दर्जनौं गीत अब एकै साँझमा

काठमाडौं– सुमधुर आवाजले श्रोता र दर्शकको मन जितेका गायक अर्जुन सुनामका दर्जनौं गीतहरु अब एकै साँझमा हेर्न र सुन्न पाईने भएको छ । सुनामका गीतहरु चर्चित र लोकप्रिय बने पनि उनी स्वयं पर्दामा भने त्यति देखिदैनन् ।
तर अब उनी ‘अर्जुन सुनाम सुमधुर साँझ’मा गुन्जिने भएका छन् । आगामी मङ्सिर ८ गते काठमाडौंको राष्ट्रिय नाचघरमा गायक अर्जुन सुनाम एकल प्रस्तुतिसहित प्रस्तुत हुने भएका हुन् । सत्यावती कला केन्द्रको व्यवस्थापनमा हुन गइरहेको अर्जुन सुनाम सुमधुर साँझका बारेमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । 

सुर्खेतमा बुलबुले ताल चौतारीमा भेट भयो यो साल, तिम्रै झल्को लाउछ मेरी निरमाया, कहाँ पुग्यौ नेटो काटी मलाई ढाटी गाको मान्छे, राम कसम, तिम्रै यादमा रात काट्छु जस्ता थुप्रै गीत उनले गाएका छन् । कैलालीको लम्की चुहा नगरपालिकामा जन्मिएर विगत पन्ध्र वर्ष अघिदेखि संगीत क्षेत्रमा सक्रिय रहेका अर्जुनले २०५९ मा रेडियो नेपाल सुर्खेत प्रसारणबाट औपचारिक रुपमा गायन सुरुवात गरेका हुन् । 

चलचित्र ‘बन्धकी’को ‘सुर्खेतको बुलबुले ताल’बोलको गीतबाट चर्चामा आएका गायक अर्जुन सुनामले ‘अर्जुन सुनाम सुमधुर साँझ’को अवसरमा झण्डै डेढ दर्जन गीत सुनाउनेछन् । सरस्वती मिडिया फिल्मस्को आयोजना तथा सत्यवती कला केन्द्रको व्यवस्थापनमा हुने कार्यक्रममा अर्जुनले ‘सलल बगेको भेरी नदी’, ‘कहाँ पुग्यौ नेटो काटी’, ‘तिम्रै यादमा’, ‘राम कसम’ र ‘तिम्रै झल्को आउँछ मेरी निरमाया’ लगायतका गीत सुनाउनेछन् । कार्यक्रम संयोजक उदिराम खड्काले कार्यक्रमबाट संकलन हुने रकमको केही प्रतिशत हिस्सा रक्तक्यान्सर पीडित बिरामी पूर्णकुमार श्रेष्ठलाई प्रदान गरिने बताए ।

सांगीतिक करियरकै पहिलो एकल साँझमा गुञ्जिन लागेका अर्जुन कार्यक्रम प्रति उत्साहित छन् । ‘एउटा कलाकारका लागि एकल साँझ महत्वपूर्ण हुँदो रहेछ । एकल साँझका लागि उमेर पनि बुढो हुनुपर्ने सोचाईलाई चुनौति दिँदै बुढो हुनु भन्दा अघि नै एकल साँझ गर्न लागेको हुँ,’१५ वर्षदेखि दोहोरी साँझमा गीत गाइरहेका गायक सुनामले बिहीबार पत्रकारमाझ भने,– ‘सबै किसिमका गीत सिक्ने स्थान दोहोरी साँझ नै हो । एकल साँझमा चाहिँ म आधुनिक र लोक शैलीका गीत सुनाउनेछु ।’

बहराइन र मलेशियामा लामो समय बसेका अर्जुनले त्यहाँका गजलबारेमा पनि गीत गाएका छन् । ‘कहिलेकाँही नेपाल आउँदा गीत रेकर्ड गराएर उतै फर्किने बानीले गर्दा धेरै श्रोताले मलाई चिन्न सक्नुभएन । मेरो गीत मनपराउनुभयो तर मलाई नै चिन्नु भएन । त्यसकारण पनि यो एकल साँझ आम श्रोता दर्शकलाई चिनाउनका लागि माध्यम बन्नेछ,’उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, चाँदनी रोधीनाचघरका संचालक प्रकाश कोके गुरुङ, गायिका सुनिता दुलाल, कलाकार नन्दा बस्याल लगायतले शुभकामना मन्तव्य दिँदै कार्यक्रमलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा गायिका दुलालले आफ्नो तर्फबाट २० हजार र कलाकार नन्दा बस्यालले २५ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एकल साँझमा अतिथि कलाकारहरु संगीता राना प्रधान, बीबी अनुरागी, रिमा गुरुङ होडा, शर्मिला गुरुङ, टिका पुन, जुनु रिजाल र चन्दा विश्वकर्मा रहने छन् भने प्रेम अर्याल, सुनितामी परियार, प्रनिल तामाङ र पुष्पा बोहराले अर्जुनलाई गायनमा साथ दिनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्