
धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारी कात्तिक २७ गते बर्खास्तीमा परे । लगत्तै सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भए ।
मन्त्रीको पद नै बर्खास्त गर्ने धेरै कारण औल्याइएको छ । एउटा कारण हो – गाडी दुर्घटना प्रकरण । जसले निम्त्याएको समस्या अझै बल्झिएको छ । सर्वसाधारणले सास्ती पाएका छन् ।
कात्तिक २३ गते राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बडैपुरमा पूर्वमन्त्रीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जीप दुर्घटना भएको थियो । से३प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा नगरपालिकाका–८ का २३ वर्षीय सुरेन्द्र चन्द शख्त घाइते बने । गलाको हड्डी, दायाँ हातको कुइनाको जोर्नी र करङ भाँचिनुको साथै टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चन्दको उपचार धनगढीमा हुन नसकेपछि काठमाडौं रेफर गरियो । उनको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
तर उपचारमा निकै समस्या भएको चन्दको परिवारजनले बताएका छन् । चन्दका बुवा टेकबहादुर चन्दले छोराको उपचारमा निकै समस्या भएको दुखेसो सुनाए । उनका अनुसार घाइते सुरेन्द्रको गलाको हड्डीको शल्यक्रिया कात्तिक २५ गते भएको थियो । जसमा मात्रै ६० हजार रुपैयाँ खर्च लागेको छ । मंसिर २ गते दायाँ हातको कुइनाको हड्डीको शल्यक्रिया भएको छ ।
अस्पतालको रिपोर्टलाई उदृत गर्दै चन्दका बुवाले भने, ‘२ भागको अप्रेसन भयो । उपचार जारी छ । सिटीस्क्यान गर्दा टाउकोको ३ भागमा रगत जमेको देखिएको छ । छोराको मानसिक अवस्था ठीक छैन । कहिले उठेर हिँड्दिन्छ । बोल्दैन । कहिले चिनेको मान्छेलाई नै चिन्दैन । दिमागमा कुनै परिवर्तन आएको छैन हजुर ।’

घाइते चन्दको औषधोपचार सामाजिक विकास मन्त्रालयले व्यहोरिरहेको छ । हालसम्म उनको उपचारमा मन्त्रालयले १ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । उनले चन्दको पूर्ण उपचारको लागि मन्त्रालयले अस्पताललाई परिपत्र समेत गरिसकेको बताए । ‘उहाँको उपचारमा कुनै समस्या हुँदैन । हामी उहाँको पूर्ण उपचार गरेर ल्याउँछौ,’ मन्त्री सुवेदीले लोकान्तरलाई भने ।
घाइतेका बुवा चन्दले आफूहरूलाई उपचार खर्च तथा खाना र बस्नमा समस्या भएको बताएका छन् । उनले भने, ‘आइतवार मन्त्रालयले अस्पताललाई एउटा चिठ्ठी फ्याक्स गरेको छ । त्यसैको आधारमा उपचार भइरहेको छ । तर भात खानलाई पैसा छैन । होटलमा उधारो खाएको छु । तिर्न बाँकी छ ।’
पूर्वमन्त्री सोडारीले प्रयोग गर्ने गाडी जिल्ला प्रहरी कार्यालय कैलालीमा थन्किएको छ । गाडीको अगाडिको भाग पूरै क्षति भएको छ । हाल गाडीको नम्बर प्लेट समेत हटाइएको छ ।
गाडीको इन्स्योरेन्स भएकाले इन्स्योरेन्स कम्पनीको मूल्यांकनको आधारमा गाडीको मर्मत हुने मन्त्रालयले जनाएको छ । नवनियुक्त मन्त्री सुवेदीले प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको गाडी चढिरहेका छन् ।