
काठमाडौं – नेपालको वैदेशिक व्यापार घाटा साढे ४ खर्ब पुगेको छ ।
व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ को पहिलो ४ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो ४० दशमलव ३ प्रतिशतले बढी हो । निर्यात र आयातको सन्तुलन कायम हुन नसक्दा नेपालको वैदेशिक व्यापार घाटा चुलिएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।
केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले गत वर्षको चार महिनाको तुलनामा निर्यातमा केही सुधार देखिएपनि आयात बढेका कारण व्यापार घाटामा वृद्धि भएको बताए ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो निर्यात गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट २६ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको व्यापार निकासी तथा प्रर्वद्धन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । तर नेपालमा हुने वस्तुको आयातमा भने चालु आर्थिक वर्षको चार महिनामा ३८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । चार महिनाको आवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तुको आयात भएको छ ।
नेपालमा हुने वस्तु आयातको करीब ३० प्रतिशत हिस्सा कृषिजन्य वस्तु र पेट्रोलियम पदार्थले ओगटेको केन्द्रका अधिकारीहरूको भनाइ छ ।
गत वर्षको पहिलो चार महिनाको अवधिमा ३ खर्ब ५० अर्ब ४० करोड रुपैयाँको आयात भएको थियो । गत आर्थिक वर्षको पहिलो चार महिनामा वस्तुको निर्यात तथा आयातको अनुपात १ः१३ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १ः१६ रहेको छ ।
अर्थात् गत आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट १ रुपैयाँको वस्तु निर्यात हुँदा १३ रुपैयाँको आयात हुने गरेको थियो । चालु आर्थिक वर्षमा १ रुपैयाँको वस्तु निर्यात हुँदा १६ रुपैयाँ ५० पैसाको वस्तु आयात भएको छ ।