
खेमराज गैराघरे
तिमी संसारकै अभागि अामा,
अाफ्नै काखका नाबालक छाेरीहरुकाे अस्मिता लुटिदा,
बिभत्स हत्या हुँदा,
टुलुटुलु हेरेर सहनु पर्ने तिम्राे विवशता
म शब्दमा बयान गर्न सक्दिन,अामा ।
तिमी संसारकै अभागी अामा ।।
तिम्रा वीर सपूतहरुले खुडा र खुकुरीकाे भरमा
बैरीलाई परास्त गर्दै
तिम्राे शिर उचाे बनाएकाे,
तिम्राे स्वभिमान जाेगाएकाे
कथा म कदापि भुल्न सक्दिन,
तर, तर म मेराे सानु छाेरालाई कसरि सुनाउ त्याे गाथा अामा ?
तिमी नै भन न!
वर्तमान हेरेर उसले कसरी विश्वास गर्न सक्छ !
तिम्राे स्वाभिमान् सगरमाथा भन्दा अग्लाे थियाे भनेर ।
सगरमाथा, बुद्ध, शान्ति,
अनि बीर गाेरखाली सामु
साम्राज्यवादी घुडा टेकेका थिए भनेर,
उसले कसरी विश्वास गर्न सक्छ अामा !
तेत्राे रणसंग्राममा भाइ भाइले
रगतकाे काेशि बगाईरहँदा
तिमीलाई कति पीडा भएकाे छ,
हाे मलाई थाह छ,
दुईपैसाका ङिच्च दाँत देखाउदै
बैरीसँग लम्पसार परी
भाइ फुटे गवार लुटे हुदै गर्दा,
शत्ता र शक्तिकाे उन्मादमा
तिम्रा अाधुनिक सन्तानहरु
तिम्राे सदियाैंदेखिकाे
धर्म, दर्शन, मुल्य मान्यता र संस्कृतिलाई
गुलिया मिठाईसँग साैदाबाजी गर्दै
अझै तिम्राे शिर गाैरवले
सगरमाथाभन्दा माथि पुग्याे रे !
कठैबरा !
चु चु चु चु दुखि अात्माहरु।
तिम्रा सन्ततिकाे याे हर्कत देख्दा
मेराे रगत उम्लिएर अाउछ अामा ।
तिम्राे मन कति दुखेकाे छ,
त्याे पीडा मलाई थाह छ अामा ।
तर, तर तिम्राे साडि बेचेर
मीठाे खान पल्किएका
तिम्रा सन्ततिलाई म सलाम गर्न सक्दिन अामा ।
शत्रुकाे पञ्जाबाट बचाउँदै
तिम्राे शिथिल र छिन्न भिन्न भएकाे
जीर्ण शरिरलाई छाेरा पृथिविले
सिङ्गाे रुप दिएकाे ईतिहास
म भुल्न सक्दिन,
यस अर्थमा तिमी,
अति भाग्यमानी थियाै
त्यतिबेला तिम्राे काेख
कति भाग्यशालि थियाे,
त्यहि काेखबाट पृथिवि, जनक,सिता,
गाैतम बुद्ध, भृकुटि,बलभद्र, भक्ति,
अमरसिंह, कालु पाँडे जस्ता
अद्भुत सपुतहरु जन्माएकी थियाै,
तर, अाज खै कस्ता सन्तान जन्मिए अामा...
तिम्राे काखाबाट तरङि्गत
ती पवित्र गंगाहरु काैडिकाे
भाउमा बेचेर खाईसके अामा ।
पृथिविले बनाएका सिमाका खम्बाहरु
नामेट भइसके,
अाज तिनै पृथिविले बनाएकाे
तिम्राे सिङ्गाे शरिरकाे भागवण्डा गर्दै,
टुक्रा टुक्रा बनाएर साेलमारिमा बसी मस्तसँग चपाईरहेछन्,
तिम्रा अाधुनिक सन्तानहरु ।
मलाई अाश्चार्य लाग्न थालेकाे छ,
तिम्राे काेख कसरी राेगायाे अामा,
सबै राेगी सन्तानमात्र किन जन्माउछ्याै अामा?
तिमीलाई जिउदै मृत्युशैय्यामा सुताउने
सन्तानहरु कसरी जन्मिए अामा,
मेराे सानाे छाेराे तिमीलाई प्रश्न गरिरहेकाे छ ।
म उसलाई भन्न बाध्य छु,
तिमी संसारकै अभागि अामा ।
अब ढिला नगरी उपचार गर अामा
तिम्राे बिमारी काेखकाे,
नत्र, अझैपनि यस्तै सन्तान जन्माईरह्याै भने नि अामा,
तिम्राे अस्तित्व संसारबाटै नामेट हुन सक्छ,
त्यसैले अब ढिला नगरी
बिमारी काेखकाे उपचार गराउ अामा ।।