
काठमाडौं – बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर फिर्ता हुन आँटेको इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि र सरकारबीच वार्ता शुरू भएको छ ।
खानेपानी मन्त्रालयमा जारी वार्तामा मन्त्री बीना मगर, सचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यप्रकाश कंडेल तथा ठेकेदार कम्पनी सीएमसीका ८ प्रतिनिधि सहभागी छन् ।
आयोजनाको काम अलपत्र छाडेर सुटुक्क फिर्ता हुन खोजेका ती प्रतिनिधिलाई नेपाल प्रहरीको सहयोगमा सोमवार ठमेलबाट नियन्त्रणमा लिइएको थियो ।
फण्ड सटेज भएको कारण देखाउँदै आयोजना छाडेको पत्र बोकेर सीएमसीका प्रतिनिधि आइतवार आयोजनाको कार्यालय पुगेका थिए । आयोजनाले पत्र बुझ्न अस्वीकार गरिदियो ।
ती प्रतिनिधिलाई नियन्त्रणमा लिएपछि सोमवार सचिव ठाकुरको नेतृत्वमा वार्ता भएको थियो । उक्त वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज मन्त्रीकै उपस्थितिमा वार्ता भइरहेको हो ।
भूकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै सीएमसीले क्षतिपूर्ति दाबी गरेको छ । क्षतिपूर्तिको माग राख्दै गत जेठमा सीएमसीले काम अवरुद्ध पारेपछि विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको थियो ।
सरकारले उक्त क्षतिपूर्ति रकम काम सम्पन्न भएपछि मात्र दिने बताएको थियो । तर सीएमसीले तत्काल उपलब्ध नगराए आयोजनाबाट हात झिक्ने चेतावनी दिँदै आएको थियो ।
स्रोतका अनुसार उक्त रकम उपलब्ध गराउन तयार भएको सरकारले त्यसपछि थप क्षतिपूर्ति दाबी गर्न नपाउने शर्त राखेको छ । तर ठेकेदार कम्पनीले भने त्यसमा सहमति जनाएको छैन ।
दुई पक्षको अडानका बीचमा मध्यमार्गी समाधान खोज्ने प्रयास भइरहेको स्रोतले जानकारी दियो ।
यदि एकतर्फी रूपमा सम्झौता रद्द गरे सीएमसीले राखेको करीब २ अर्ब धरौटी रकम जफत गर्ने चेतावनी समेत सरकारले दिएको छ ।