३२ असार २०८३, बिहीबार

मेलम्चीको ठेकेदारसँगको वार्ता निष्कर्षविहीन, मन्त्रालयले गुहार्‍यो प्रधानमन्त्री कार्यालय

पुस ३, २०७५
मेलम्चीको ठेकेदारसँगको वार्ता निष्कर्षविहीन, मन्त्रालयले गुहार्‍यो प्रधानमन्त्री कार्यालय

काठमाडौं – बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य ठप्प पारेर भाग्न खोज्ने इटालियन ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधि र सरकारबीच मंगलवार भएको वार्ता निष्कर्षविहीन बनेको छ । खानेपानी मन्त्री बीना मगर, मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कंडेल लगायतको उपस्थितिमा खानेपानी मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेको हो ।

करीब आधा घण्टाको छलफलमा सरकारी पक्षले कम्पनीले दाबी गरेजति रकम उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि ठेकेदार कम्पनीका प्रतिनिधि बाहिरिएको स्रोतले बतायो । त्यसपछि मन्त्री मगर र सचिव ठाकुरबीच केहीबेर छलफल भएको थियो । स्रोतका अनुसार छलफलपश्चात सीएमसीसँगको वार्ता र विकसित घटनाक्रमबारे जानकारी गराउन मन्त्रालयका सहसचिव शंकरप्रसाद सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।

यद्यपि सहसचिव सुवेदीले भने प्रधानमन्त्री कार्यालय अर्कै कामले गएको जिकिर गरे । ‘म छलफल कक्षबाट त्यतिबेलै निस्किहालें,’ उनले लोकान्तरसँग भने, ‘त्यसपछि प्रधानमन्त्री कार्यालय गएको हुँ । मन्त्रालयकै अन्य विभिन्न कार्यहरू हुन्छन्, त्यसै सम्बन्धमा गएको हुँ ।’

आयोजनाको काम अलपत्र छाडेर सुटुक्क फिर्ता हुन खोजेका सीएमसीका ८ प्रतिनिधिलाई नेपाल प्रहरीको सहयोगमा आइतवार राति ठमेलबाट नियन्त्रणमा लिइएको थियो । फण्ड सटेज भएको कारण देखाउँदै आयोजना छाडेको पत्र बोकेर सीएमसीका प्रतिनिधि आइतवार आयोजनाको कार्यालय पुगेका थिए । यद्यपि सो पत्र बुझ्न आयोजनाले अस्वीकार गरिदिएको थियो ।

भूकम्प, नाकाबन्दी लगायतका कारणले काम गर्न नपाएको भन्दै सीएमसीले क्षतिपूर्ति दाबी गरेको छ । क्षतिपूर्तिको माग राख्दै गत जेठमा सीएमसीले काम अवरुद्ध पारेपछि विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको थियो ।

सरकारले उक्त क्षतिपूर्ति रकम काम सम्पन्न भएपछि मात्र दिने बताएको थियो । तर सीएमसीले तत्काल उपलब्ध नगराए आयोजनाबाट हात झिक्ने चेतावनी दिँदै आएको थियो ।

स्रोतका अनुसार उक्त रकम उपलब्ध गराउन तयार भएको सरकारले त्यसपछि थप क्षतिपूर्ति दाबी गर्न नपाउने शर्त राखेको छ । तर ठेकेदार कम्पनीले भने त्यसमा सहमति जनाएको छैन ।

एकतर्फी रूपमा सम्झौता रद्द गरे सीएमसीले राखेको करीब २ अर्ब धरौटी रकम जफत गर्ने सरकारी पक्षको चेतावनी छ ।

करीब तीन दशकपछि मेलम्ची सपना पूरा हुनै लागेको भनिएका बेला ठेकेदार कम्पनी नै भाग्न खोजेपछि काठमाडौंमा पानी कहिले आइपुग्ने हो भन्ने अन्योल थपिएको छ ।

पढ्नुहोस्, यो पनि :

मेलम्चीबाट भाग्न खोज्ने सीएमसी संसारभर बदनाम कम्पनी, टाट पल्टियौं भन्दै इटालीको अदालतमा निवेदन

salt training

कमेन्ट गर्नुहोस्