
काठमाडौं –कांग्रेस महासमिति बैठक बुधवार साँझ ६ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्ने भएको छ । मंसिर २८ गतेदेखि पुष ३ गते (आज)सम्म चल्ने भनिएको महासमिति बैठक विधान संशोधनमा सहमति नभएपछि थप तीन दिन लम्बिने स्रोतले जनाएको छ ।
पाँच दिनका लागि भाडामा लिइएको रामशाहपथस्थित एक पार्टी प्यालेसमा भोलि ‘फाइनान्स कम्पनी’हरूको संयुक्त बैठकको कार्यक्रम रहेको पार्टी प्यालेस व्यवस्थापनले जनाएको छ ।
‘उहाँहरूले जम्मा ५ दिनका लागि बुकिङ गर्नुभएको थियो, भोलि हाम्रो अर्कैको बुकिङ छ, त्यही कारणले कांग्रेसको महासमिति बैठक आजै बेलुका सम्भवतः ६ बजेपछि अन्तै सार्नुपरेको हो,’ पार्टी प्यालेस व्यवस्थापनले लोकान्तरसँग भन्यो ।
महासमिति बैठक लम्बिने सम्भावना देखिएपछि कांग्रेसको पार्टी कार्यालय सानेपा परिसरमा पाल टाँगेर बैठकस्थल बनाउने तयारी भइरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘बैठक थप तीन दिनसम्म लम्बिन सक्ने सम्भावना देखिन्छ, ४ गतेदेखि हामी आफ्नै पार्टी कार्यालयमा सर्छौं,’ शर्माले भने ।
कांग्रेसले संविधानको संघीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालको विधानअनुसारको पदाधिकारीको व्यवस्था र १४१ सदस्यीय केन्द्रीय समिति रहने फरक मतसहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेको थियो ।
उक्त प्रतिवदेनको पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको व्यवस्थाका सम्बन्धमा केन्द्रीय समितिमा सहमति हुन नसकेर लामो समय खेर गएको थियो ।
मंगलबार राति अबेर भएको छलफलमा पदाधिकारीको विषयमा सहमति भएको भनिएपनि उक्त सहमतिलाई समेटेर नयाँ विधान ड्राफ्ट गर्ने र महासमितिमा छलफलमा लैजाने काम बाँकी छ ।