२६ असार २०८३, शुक्रबार

सांसदहरूको आशंका – मेलम्चीको ठेकेदारलाई सरकारले नै भगाउन खोजेको त होइन !

पुस ५, २०७५
सांसदहरूको आशंका – मेलम्चीको ठेकेदारलाई सरकारले नै भगाउन खोजेको त होइन !

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर इटालियन कम्पनी सीएमसीलाई सरकारले नै भगाउन खोजेको आशंका सांसदहरूले गरेका छन् । प्रतिनिधि सभाको अर्थ समितिका सांसदहरूले मेलम्ची आयोजनाको काममा सरकारले नै ढिलाई गरेको र सरकारले नै चलखेल गरेर ठेकेदारलाई भगाउन खोजेको आशंका गरेका हुन् ।

समिति सदस्य समेत रहेका नेकपा सांसद सुरेन्द्र पाण्डेले इटालियन कम्पनी सीएमसी काम प्रभावित पारेर भाग्न खोज्नुमा सरकारकै चलखेल त छैन ? भन्दै प्रश्न गरे । ‘यत्रो ठूलो भनेर टाट पल्टिएको कम्पनीलाई नै किन ठेक्का दिइयो,’ उनले प्रश्न गरे, ‘कतै सरकारले तँ भागेजस्तो गर्, म पैसा थपिदिन्छु भनेको पो हो कि ?’ 

सांसद पाण्डेले काम सकिनै लागेका बेलामा ठेकेदार भाग्न खोज्नु गम्भीर विषय रहेको बताए ।

अहिलेसम्म जति सरकार आए पनि मेलम्ची कथा भनेर दिन बिताउने मात्रै गरेको भन्दै उनले अब कुनै पनि बहानामा मेलम्ची पर सार्न नमिल्ने बताए । ‘काम सकियो भन्दै खुशी भएर संसदीय समितिमा आउने बेलामा झन भत्कियो भनेर आउनुभयो,’ खानेपानी मन्त्री बीना मगरतर्फ लक्षित गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले थपे, ‘मेलम्ची कथा भनेर दिन बिताउने काम मात्रै भयो ।’

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले इटालीमा टाट पल्टेको कम्पनीलाई किन ठेक्का दिएको भन्दै प्रश्न गरे । उनले सीएमसी कम्पनीको बैंक खाता नै रोक्का रहेको अवस्थामा त्यही कम्पनीसँग कसरी सम्झौता गरेको भन्दै प्रश्न गरे । सीएमसी कम्पनीले नेपाल सरकारबाट रकम लिएर इटाली पठाउने गरेको र यता न्युन मात्रामा लगानी गर्ने गरेको सांसदहरूको भनाइ थियो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आयोजनाको संवेदनशीलतालाई बुझ्न खानेपानी मन्त्री, मन्त्रालयका सचिव, मेलम्ची खानेपानी आयोजना प्रमुख लगायतको ध्यानाकर्षण गराए । ‘सरकारप्रतिको विश्वसनियता नै रहेन,’ उनले भने, ‘मेलम्ची आइपुगेन भने काठमाडौं डेड सिटीमा परिणत हुन्छ । यसको संवेदनशीलतालाई बुझ्नु जरुरी छ ।’

बैठकमा उपस्थित खानेपानी मन्त्री बीना मगरले कुनै पनि हालतमा मेलम्ची काम अघि बढाइने बताइन् । उनले इटालियन कम्पनी सीएमसीले हामी काम गर्दैनौं भनेपनि आफैँ काम अघि बढाउने दाबी गरिन् । काम सकिन लाग्यो भनिरहेका बेला ठेकेदारले अचानक काम गर्दैनौं भन्दा सबैलाई चासो हुनु स्वभाविक भएको भन्दै उनले सीएमसीसँग छलफल भइरहेको बताइन् ।

‘उनीहरूले १ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरिरहेका छन्, हामीले त्यति रकम उपलब्ध गराउन सक्दैनौं भन्यौं,’ मन्त्री मगरले भनिन्, ‘वार्ता सफल हुने र काम अगाडि बढ्नेमा विश्वस्त छु ।’

यस्तै खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले आफुहरू मेलम्चीको पानी काठमाडौं ल्याउन लागिपरेका बेला ठेकेदारले भित्रभित्रै चाल रचेको बताए । ‘हामी शुक्रबारसम्म सबै किसिमका भौतिक काम सकेर जानकारी गराउँछौं भनेर उत्साहित भएका थियौं,’ उनले भने, ‘ठेकेदार भित्रभित्रै भाग्न खोजेको रहेछ, हामीले अचानक थाहा पायौं ।’

सचिव ठाकुरले सीएमसीले काम गरेन भने आफूहरूले अर्को प्रक्रियाबाट नेपालीलाई नै ठेक्का दिने बताए । सीएमसीले धरौटीका रूपमा राखेको रकमबाटै काम सम्पन्न गर्न सकिने उनको भनाइ छ ।

बैठकमा समितिका सभापति दाहालले अर्को प्रक्रिया शुरू गर्दा समय लम्बिन सक्ने भन्दै छोटो भन्दा छोटो समयमा काम सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिए । तोकिएको भन्दा बढी समय र बढी लगानी नलाग्ने गरी काम सम्पन्न गर्न उनको निर्देशन छ ।

salt training

कमेन्ट गर्नुहोस्