२९ जेठ २०८३, शुक्रबार

डा. केसीद्वारा गगन, योगेशसँगको बैठक अस्वीकार, दुई विषयले अड्कियो चिकित्सा शिक्षा विधेयक

पुस १०, २०७५
डा. केसीद्वारा गगन, योगेशसँगको बैठक अस्वीकार, दुई विषयले अड्कियो चिकित्सा शिक्षा विधेयक

काठमाडौं –चिकित्सा शिक्षा विधेयकका दुई विषयमा कुरा नमिलेपछि डा. केसीले अनशन थाल्ने चेतावनी दिएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको विधेयकमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) र मेडिकल कलेजको सम्बन्धनका विषय आफ्नो माग अनुसार नभएको भन्दै डा. केसीले असहमति जनाएका हुन् ।

डा. केसीले आफ्नो माग अनुसार विधेयक नआए पुस १७ गतेदेखि अनशन शुरू गर्ने बताएका छन् ।

समितिले डा. केसीकै माग अनुसार विधेयक निर्माण भएको दाबी गर्दै आएपनि डा. केसीले भने सीटीईभीटी र मेडिकल कलेजका विषय आफ्नो माग अनुसार नभएको जिकिर गरेका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले डा. केसीसँगको सम्झौता अनुसार सीटीईभीटीसँग सम्बन्धित विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि विधेयकले अन्तिम रूप लिन सकेको छैन ।

डा. केसीले अस्वीकार गरे गगन र योगेशसँगको छलफल 

शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा सोमवारको बैठकमा विधेयक टुंगो नलागेपछि  समितिका सदस्यले डा. केसीसँग पुनः छलफल गर्ने निर्णय गरेका थिए ।

सहमति हुन नसकेका विषयमा समितिका सदस्यहरू नेपाली कांग्रेसबाट गगन थापा, नेकपाबाट योगेश भट्टराई र खगराज अधिकारीले डा. केसीसँग छलफल गर्ने तय गरिएको थियो ।

तर डा. केसीले सरकारले आफूसँग सम्झौता गरेकै विषय विधेयकमा उल्लेख हुनुपर्ने भन्दै समितिका सदस्यहरूसँगको बैठक नै अस्वीकार गरेका छन् ।

‘डा. केसीले अब समितिका सदस्यसँग छलफल नै नगर्ने बताउनुभएको छ । पहिला सरकारले जे सम्झौता गरेको थियो त्यही कुरा विधेयकमा हुनुपर्ने माग राख्नुभएको छ,’ डा. केसीका एक सहयोगीले लोकान्तरसँग भने, ‘यदि सम्झौता अनुसारको कुरा विधेयकमा आएन भने उहाँ अनसनमा बस्नुहुन्छ ।’

उपसिमितिले सोमबार नै विधेयक टुंग्याएर समितिलाई प्रतिवेदन बुझाउने र समितिले विधेयक पारित गर्ने तयारी थियो । तर सरकारले डा. केसीसँग गरेको सम्झौतालाई प्राविधिक कारण देखाउँदै फेरबदल गर्ने प्रयास गरेपछि विवाद बल्झिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्