२० असार २०८३, शनिबार

उल्टो दिशामा समृद्धिका सूचक, झण्डै ४५ प्रतिशतले घट्यो वैदेशिक लगानी

पुस १२, २०७५
उल्टो दिशामा समृद्धिका सूचक, झण्डै ४५ प्रतिशतले घट्यो वैदेशिक लगानी

काठमाडौं – मुलुक आर्थिक समृद्धि बाटोमा अघि बढेको भनिएका बेला वैदेशिक लगानी घटेको पाइएको छ । सरकारले आर्थिक समृद्धि शुरू भइसकेको बताइरहँदा मुलुकभित्रै उत्पादन गर्न सकिने वस्तुको आयात निरन्तर उकालो रहेको र तुलनात्मक रूपमा वैदेशिक लगानी समेत न्युन मात्रामा भित्रिएको पाइएको हो । 

कृषिजन्य वस्तुको आयात समेत निरन्तर उकालो लागिरहेका बेला चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेशबाट भित्रिने लगानी समेत करीब ५० प्रतिशतले घट्नु आर्थिक समृद्धिका लागि नाकारात्मक देखिने जानकारीहरू बताउँछन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल ७४ करोड २५ लाख ८९ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ अर्ब ३१ करोड ३९ लाख ६९ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । यो भित्रिएको लगानी ४३ दशमलव ४९ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षमा कृषि तथा वन क्षेत्रमा ६३ लाख ५० हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै निर्माण क्षेत्रमा चालु आर्थिक वर्षमा २४ लाख रूपैयाँ बराबरको लगानी भित्रिएको छ । त्यस्तै उद्योगको क्षेत्रमा १ करोड ५८ लाख १२ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको उद्योग विभागको तथ्याङ्क रहेको छ । 

त्यस्तै म्यानुफ्याक्चरिङको क्षेत्रमा २१ करोड ७० लाख ५१ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । खनिजको क्षेत्रमा १३ लाख १६ हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ । सेवा क्षेत्रमा चालु आर्थिक वर्षमा १३ करोड ९३ लाख ८५ हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पर्यटनको क्षेत्रमा कुल वैदेशिक लगानी ३३ करोड ८६ लाख ७५ हजार रूपैयाँ वैदेशिक लगानी भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कृषि तथा वन क्षेत्रमा कुल १८ करोड ५० लाख रूपैयाँ वैदेशिक लगानी भित्रएको थियो । त्यस्तै उर्जाका क्षेत्रमा गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १७ करोड ५ लाख ४६ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । तर, चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ऊर्जा तथा हाइड्रो पावरका क्षेत्रमा वैदेशिक लगानी भित्रिएको छैन ।

ऊर्जा तथा हाइड्रोका क्षेत्रमा लगानी नआएका कारण वैदेशिक लगानी तुलनात्मक रूपमा कम देखिएको उद्योग विभागका सूचना अधिकारी सीएम न्यौपानेले बताए । ‘ऊर्जाका परियोजनाहरू अलि महंगा हुन्छन् । अर्बभन्दा कम लगानीमा बनाउन सकिँदैन,’ उनले भने, ‘यस वर्ष ऊर्जाको क्षेत्रमा लगानी नआएकोले केही कम देखिएको हो ।’

समग्र वैदेशिक लगानी कम देखिएपनि वैदेशिक लगानीमा बन्ने आयोजनाको संख्या भने बढेको न्यौपानेको भनाई छ । उनका अनुसार वैदेशिक लगानी बन्ने परियोजना १ सय ७१ वटा रहेका छन् । गत वर्ष १ सय ४४ रहेका थिए ।
गत आर्थिक वर्षमा सूचना तथा प्रविधिको क्षेत्रमा ८७ लाख ६० हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो ।

गत आर्थिक वर्षको सो अवधिमा उत्पादन क्षेत्रमा ५३ करोड ३२ लाख ६ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको उद्योग विभागको तथ्याङ्क छ । त्यस्तै खनिज क्षेत्रमा गत आर्थिक वर्षको पहिलो पाँच महिनामा २० करोड रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ ।

त्यस्तै गत आर्थिक वर्षमा सेवा क्षेत्रमा ९ करोड ८१ लाख ५० हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा पर्यटन क्षेत्रमा ११ करोड ८२ लाख ५३ हजार रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको थियो ।

यसरी वैदेशिक लगानी समेत कम भित्रिनु र आयात समेत निरन्तर बढिरहनुले सरकारले अघि सारेको समृद्धिका लागि राम्रो संकेत मान्न नसकिने अर्थविदहरू बताउँछन् । अर्थविद् एवं पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुक आर्थिक समृद्धिमा अघि बढिराखेको भनिएका बेला त्यसका संकेत पनि साकारात्मक हुनुपर्ने बताए ।

‘समृद्धिका लागि आर्थिक पाटो नै मुख्य हो । सरकारले समृद्धिको दिशामा अघि बढिराखेका छौं भन्नुको अर्थ सबै सूचकहरू राम्रा छन् भन्नु हो,’ उनले भने, ‘तर अहिले आयात बढिराख्नु र वैदेशिक लगानी समेत न्युन भित्रिनुले समृद्धिको दिशामा अघि बढेको संकेत पक्कै पनि मिल्दैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्