काठमाडौं – प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार सीएमसीले फेरि काम गर्ने विश्वसनीय आधार पेश गर्न निर्देशन दिएको छ ।
खानेपानी मन्त्री बीना मगर तथा आयोजनाका पदाधिकारीलाई बिहीवारको बैठकमा बोलाएर समितिले यस्तो निर्देशन दिएको हो ।
समिति सभापति कल्याणी खड्काले इटालियन कम्पनी सीएमसीले काम छाडेको अवस्थामा फेरि काम गर्ने विश्वसनीय आधार उपलब्ध गराउन र फेरि काम गर्ने स्थिति नरहेमा त्यसको विकल्प खोजेर छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिइन् ।
‘सीएमसीले फेरि काम गर्ने विश्वसनीय आधार र सरकारलाई आयोजना हस्तान्तरण नगरेरै फर्कने स्थिति रहेमा त्यसको विकल्प खोजेर कार्य यथाशीघ्र अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र खानेपानी मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ,’ सभापति खड्काले भनिन् ।
समितिले मेलम्ची खानेपानी आयोजनाका नाममा रहेका सवारी साधनको विवरण समेत यथाशीघ्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
मेलम्ची खानेपानी आयोजनाका नाममा रहेका सवारी साधन दुरूपयोग भइरहेको भन्ने बुझिन आएकाले सो आयोजनाका नाममा रहेका सवारी साधन र कसले प्रयोग गरिरहेका छन् भन्ने विवरण यथाशीघ्र उपलब्ध गराउन समितिले निर्देशन दिएको हो ।
बिहीवारको छलफलमा समितिका सांसदहरूले मेलम्चीको पानी कहिले आइपुग्छ भन्दै प्रश्न गरेका थिए ।
खानेपानी मन्त्रालयका अधिकारीहरूले अब मेलम्चीको विषयमा सयम तोक्न नमिल्ने बताए ।
मन्त्री बीना मगरले वैकल्पिक उपाय खोजेर पनि मेलम्चीको काममा ढिलाइ नगरिने बातइन् । सचिव गजेन्द्र ठाकुरले मेलम्चीको विषयमा सयम तोक्न नमिल्ने बताए ।
उनले यसअघि ठेकेदारको भित्री रणनीति थाहा नपाएर आफूले दुई महिनाभित्र मेलम्चीको पानी आइपुग्ने बताएको भएपनि अहिलेलाई सयम तोक्न नमिल्ने बताए ।
‘अस्ति मैले ६० दिनभित्र मेलम्चीको पानी आइपुग्ने भनेर बोलिदिएँ,’ उनले भने, ‘भित्रभित्रै यस्तो खिचडी पाक्दैछ भन्ने थाहा थिएन ।’
समितिले बिहीबार खानेपानी तथा सरसफाई मन्त्री बीना मगर, मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कंडेललाई समितिमा बोलाएको थियो ।