
काठमाडौं – सभामुखसँग प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीलाई पुन: डिल्लीबजार कारागार लगिएको छ ।
शपथका लागि दिउँसो ३ बजे संसद् सचिवालय सिंहदरबार ल्याइएका चौधरीलाई शपथलगत्तै फेरि डिल्लीबजार लगिएको हो ।
गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीले थारु भाषामा शपथ लिएका थिए । शपथका लागि उनलाई डिल्लीबजार कारागारबाट सिधै सिंहदरबारस्थित संसद् सचिवालय लगिएको थियो ।
२०७४ सालको मंसिरमा भएको निर्वाचनमा निर्वाचित भएपनि चौधरीलाई शपथको साइत भने करीब १३ महिनापछि मात्र जुरेको हो ।
टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।
कैलाली जिल्ला अदालतले चौधरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
फोटो : गगन अर्याल, लोकान्तर