
चितवन– दुग्ध किसानहरुले सरकारले मुलुक दूधमा आत्मनिर्भर नभएको बताइरहँदा आफूहरुलाई अचम्म लगेको बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा एकजना व्यक्तिले वार्षिक ६१ लिटर दूध उपभोग गरिरहेकेा देखिन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध उपभोग हुन सकेमा मुलुक दूधमा आत्मनिर्भर भएको मानिन्छ । जसअनुसार नेपाल दूधमा आत्मनिर्भर हुन एकजना व्यक्तिलाई वर्षमा ३० लिटर दूध अपुग छ ।
तर, चितवनका किसानहरुले भने आफूहरुले उत्पादन गरेको दूध विक्री नभइरहेको बताएका छन् । चितवन रत्ननगरका गाई पालक (किसान) किसोर बगालेले आफूहरुको दूध विक्री नभइरहेका बेला सरकारको यो तथ्याङ्क आउनु गलत भएको बताए । आफूहरुले उत्पादन गरेकाे दूधले बजार नपाइरहेका बेला सरकारले सरकारले दूधमा आत्मनिर्भर नभएकाे भनेर आक्रमण गर्न खोजिरहेको उनकाे भनाइ छ ।
‘हाम्रो दूध विक्री भइरहेकाे छैन । तर, सरकारी तथ्याङ्कले दूधमा आत्मनिर्भर हुन एक व्यक्तिलाई वर्षमा अझै ३० लिटर दूध अपुग रहेको बताइरहेको छ,’ उनले भने, ‘सरकारले यो के गर्न खोजेको हो ? अझ सरकारले त्यही समयमा दूधको परीक्षण गर्ने बहानामा गुणस्तरहीन दूध भनेर प्रचार गर्छ । यहाँनेर केही न केही छ ।'
कृषिजन्य वस्तु तथा दुग्धजन्य वस्तुको परीक्षण गर्न सरकारको दायित्व भएको भन्दै उनले निरन्तर परीक्षण हुनु पर्ने बताए । ६ महिनामा एक चोटी, वर्षमा एक चोटी कृषि क्षेत्रको परीक्षण गरेर सुधार गर्न नसकिने भन्दै त्यस्तो क्रियाकलापले दुग्ध किसानलाई झन मर्का पर्ने उनको भनाई थियो ।
‘दुग्ध वस्तु परीक्षण एक वर्षमा एक चोटी गर्ने प्रक्रिया हो ? त्यो नियमित प्रक्रिया होइन ? दैनिक गर्नु पर्दैन ? गत वर्ष गर्नु पर्दैन्थ्यो ?’ उनले प्रश्न गर्दै थपे, ‘दूधको गुणस्तर सधैं जाँच गर्नु पर्छ कि आज आएर मात्रै गर्ने ? मैले दूध दुहेको मेरो क्यानमा जाँच गर्नु पर्ने कुरामा मेरो विमति छैन । मैले सफाई राख्नु पर्नेमा विमति छैन । तर हामीहरुले दूधको बजार नपाइरहेकै बेला सरकारले गलत प्रचार गरेर हामीहरुप्रति आक्रमण नगरिदिए हुन्थ्यो नि ।’
चितवनकै अर्का किसान शम्भु घिमिरेले आफूहको रोजीरोटी नै गाईपालनबाट चल्ने भएकाले त्यसमा पनि कहिले काँही समस्या आइदिने गरेको गुनासो गरे ।
सरकारले दूध परीक्षण गर्दा गुणस्तरहीन भनिदिने र त्यस्तो अवस्थामा सहकारीहरुले आफूहरुको दूध खरिद नगरिदिने भएकाले कहिले काँही दूध विक्रीमा समस्या आउने गरेको घिमिरेले सुनाए । ‘कहिले कोलीफर्म भेटियो भन्ने गर्छ । कहिले युरिया भेटिएको हल्ला फैलाइन्छ,’ उनले भने, ‘त्यस्तो गर्दा सहकारीहरुले हामीहरुको दूध लिइदिँदैनन्, ।’
रत्ननगरका किसान बगालेले सरकारको कोलीफर्म जाँच गर्ने मेसिनमाथि प्रश्न उठाउँदै भने, ‘अमेरिकाको मापदण्ड तोकेको छ । त्यो भन्दा न्युन मापदण्ड हुनु पर्छ भन्ने हाम्रो भनाई हो । त्यो सरकारले कोलीफर्म परीक्षण गर्ने मेसिन चाहिँ कस्तो छ ?’