
काठमाडौं – सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानून संशोधनको तयारी गरेको छ । वैदेशिक लगानी भित्र्याउन सजिलो होस् भन्ने उद्देश्यले संशोधन गर्न लागिएको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ संघीय संसद्मा दर्ता गरिएको छ ।
यही फागुन १४ गते संसद्मा दर्ता भएको उक्त विधेयकले ऐनको रूप लिएपछि नेपालमा कुखुरापालन व्यवसायमा विदेशी लगानी निषेधित हुनेछ ।
विधेकयकको अनुसूचीमा विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायसम्बन्धी व्यवस्था गरिएको छ । सो अनुसूची अनुसार नेपालमा कुखुरा पालनमा वैदेशिक लगानी ल्याउन वा कुनै विदेशी व्यक्ति, संस्था वा फर्मले कुखुरा पालनमा लगानी गर्न नपाउने उल्लेख छ ।
अमूल भित्र्याउने चलखेल
अनुसूचीमा कुखुरा पालनमा विदेशी लगानी गर्न नपाइने व्यवस्था गरिएको तर, दुग्ध पदार्थमा विदेशी लगानीसम्बन्धी स्पष्ट उल्लेख नगरिएको भन्दै डेरी उद्योगीले आपत्ति प्रकट गरेका छन् । डेरी उद्योगीले दुग्ध पदार्थसम्बन्धी स्पष्ट व्यवस्था नभएको भन्दै भारतको बहुराष्ट्रिय डेरी उद्योग अमूल डेरीलाई नेपाल भित्र्याउने चलखेलका रूपमा अथ्र्याएका छन् ।
‘अनुसूचीमा कुखुरापालनमा विदेशी लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ,’ नेपाल डेरी एसोसियसनका निवर्तमान अध्यक्ष एवं सीताराम डेरी उद्योगका सञ्चालक सुमित केडियाले भने, ‘दुग्ध पदार्थमा विदेशी लगानीबारे स्पष्ट खुलाइएको छैन । यसको अर्थ नेपालमा अमूल जस्ता बहुराष्ट्रिय उद्योग भित्र्याएर नेपाली उद्योग धरासयी बनाउने षड्यन्त्रको रूपमा हामीले बझुेका छौं ।’
अमूल भित्र्याए के पर्छ असर ?
नेपाल डेरी एसोसियसनका अनुसार नेपालको डेरी क्षेत्रमा नेपालीको मात्रै करीब ३० अर्ब रूपैयाँ लगानी रहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करीब ५ लाख जनाले यसमा रोजगार पाएको एसोसियनको तथ्यांक रहेको छ । शहरदेखि गाउँतिर दैनिक करीब साढे करोड रूपैयाँ प्रवाह भइरहेको छ ।
एसोसियसनले वार्षिक एक अर्ब रूपैयाँ नेपाल सरकारलाई कर तिरिरहेको एसोसियसनका पदाधिकारीहरूको दाबी छ ।
विदेशी डेरी उद्योग नेपालमा आएमा ती उद्योगले प्रविधिको नाममा रोबर्टबाट काम गराउने र त्यसको असर नेपालीको रोजगारीमा पर्ने एसोसियसनको दाबी छ । रोबर्टबाट काम गराएमा नेपालीले पाएको रोजगारी खोसिने एसोसियसनका पदाधिकारीहरूको दाबी रहेको छ । त्यस्तै विदेशी लगानीको उद्योगले विदेशबाट नै दूध तथा दुग्ध पदार्थ आयात गर्ने भएकाले नेपाली किसान मारमा पर्ने विश्लेषण डेरी उद्योगीले गरेका छन् ।
डेरी उद्योगी अक्रोशित
संसद्मा दर्ता भएको विधेयक जस्ताको तस्तै पारित भएमा नेपाली डेरी उद्योग धरासयी हुने भन्दै उद्योगीहरू आक्रोसित छन् । कुखुरापालनमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख भएको तर, डेरीका सम्बन्धमा विदेशी लगानी भित्र्याउने आधार अनुसूचीमा दिइएको भन्दै नेपाल डेरी एसोसियसनले पत्रकार सम्मेलन गरेरै आक्रोस व्यक्त गरेको हो ।
एसोसियसनका महासचिव अरनिको राजभण्डारीले विदेशी लगानी भित्र्याउने नाममा सरकारले नेपाली उद्योगमाथि खेलबाड गर्न खोजेको गुनासो गरे । उनले नेपाली डेरी उद्योगहरूले भूकम्प, नाकाबन्दी लगायत विपद्का बेलामा समेत गाउँ–गाउँबाट दूध संकलन गरेर बजारमा दूधको अभाव हुन नदिएको स्मरण गर्दै विदेशी उद्योगले विपद्को बेलामा नेपाली उद्योगको जस्तै भुमिका खेल्न नसक्ने दाबी गरे ।
‘तपाईंहरू पत्रकार नै भन्नुस्, भूकम्प र नाकाबन्दी जस्तो विपदको बेलामा दूधको अभाव भयो भनेर सामाचार लेख्नुभएको थियो वा थिएन ?’ राज भण्डारीले प्रश्न गर्दै भने, ‘हामीले गाउँ–गाउँबाट दूध संकलन गरेर त दूधको अभाव भएन नि ! त्यस्तो विपदको बेलामा विदेशी कम्पनीले गाउँ–गाउँबाट दूध संकलन गर्छ भन्ने के ग्यारेन्टी छ ?’
नेपाली दूध किन्ने शर्तमा विदेशी लगानी स्वीकार्य
कुनै पनि विदेशी व्यक्ति, संस्था वा फर्मले नेपाली डेरी क्षेत्रमा लगानी गर्न चाहेमा नेपाली दूध नै खरिद गर्नुपर्ने शर्त राखिनुपर्ने जानकारहरू बताउँछन् । डेरी क्षेत्रमा नेपालीलाई नै रोजगार दिइनुपर्ने र दूध तथा सम्पूर्ण किसिमका दुग्ध पदार्थ समेत नेपालीबाट नै खरिद गर्ने शर्तमा उक्त क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनु उपयुक्त हुने जानकारहरू बताउँछन् ।
वैदेशिक लगानी रोक लगाइएका अन्य क्षेत्र
संसद्मा दर्ता भएको विधेयक अनुसार कपाल काट्ने सैलुनमा समेत विदेशी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै टेलरिङ तथा ड्राइभिङमा पनि विदेशी लगानी गर्न नपाइने भएको छ ।
अनुसूचीको दफा २ मा गरिएको व्यवस्था अनुसार हातहतियार, खरखजाना, गोलीगठ्ठा, बारुद वा विस्फोटक पदार्थ तथा न्युक्लियर, आणविक शक्ति, हतियार उत्पादन गर्ने उद्योग लगायतमा वैदेशिक लगानी गर्न पाइने छैन ।
त्यस्तै विधेयकमा भएको व्यवस्था अनुसार आमसञ्चारका माध्यमहरू, पर्यटनमा संलग्न ट्रेकिङ, ट्राभल एजेन्सी र घरजग्गा खरिद बिक्रीमा समेत वैदेशिक लगानी गर्न नपाउने व्यवस्था गरिएको छ ।