
काठमाडौं – छिट्टै मानिसको सोचविचारको क्षमता अर्थात् इन्टेलिजेन्सलाई तीव्रताका साथ बढाउन सकिनेछ । वैज्ञानिकहरूले उच्च प्रविधिको चिप विकसित गरेका छन् जसलाई मस्तिष्कमा प्रत्यारोपण गर्न सकिनेछ ।
स्मार्ट चिपले कम्प्युटरको जस्तो काम गर्नेछ र यसलाई नर्थवेस्टर्न विश्वविद्यालयका न्युरोसाइन्टिस्ट डा मोरान सेर्फले तयार पारिरहेका हुन् । उनको लक्ष्य मानिसको सोचविचार क्षमतालाई थप राम्रो बनाउने हो ।
एलन मस्कले ब्रेन कम्प्युटर विकसित गर्ने कुरा गरेपछि डा मोरानमा यसको विचार फुरेको हो । उनका अनुसार, ब्रेनमा राखिने चिप इन्टरनेटमा जोडिनेछ र प्रश्न सोध्दा तत्कालै जवाफ आउनेछ । चिपलाई थप राम्रो बनाउनका लागि काम भइरहेको छ ।
डा मोरानका अनुसार, अहिले मानिसलाई चीज पाउने तरिका जान्नका लागि लामो समय लागिरहेको छ । त्यसैले हाईटेक चिप बनाइएको हो । आगामी केही वर्षमा यसको प्रयोग पनि सम्भव हुनेछ । तर यसबाट मानिसहरूबीच ज्ञानको अन्तर बढ्ने सम्भावना पनि हुनेछ ।
केही समयअघि पेन्टागन रिसर्चले रोबोटिक आर्म बनाएर मानिस र यन्त्रबीचको अन्तरलाई कम गराउने कोशिश गरेको डा मोरानले बताए । आगामी पाँच वर्षमा स्मार्ट ब्रेन चिप्सको काम पूरा गरिनेछ । अमेरिकाको रक्षा अनुसन्धान निकायले पनि सैनिकहरूको दिमागी क्षमता बढाउनका लागि यस क्षेत्रमा चासो देखाएको छ ।
एजेन्सी