
युक्रेनको लगातारको ड्रोन आक्रमणका कारण आफ्ना प्रमुख तेल प्रशोधन केन्द्रहरूमा ठुलो क्षति पुगेपछि रुस चरम इन्धन संकटको सामना गरिरहेको छ । आन्तरिक बजारमा देखिएको पेट्रोलको अभाव पूर्ति गर्न रुसले अब भारतबाट ठुलो परिमाणमा पेट्रोल आयात गर्ने तयारी थालेको हो । दबाब बढ्दै गएपछि रुसले समुद्री मार्गबाट इन्धन आयात गर्न शुरू गरिसकेको कीभपोस्टले जनाएको छ ।
रुसी सञ्चारमाध्यम 'आरबीसी'का अनुसार विदेशबाट पेट्रोल आयात गर्ने तेल कम्पनीहरूलाई सरकारी अनुदान दिने गरी रुसले आफ्नो कर संहितामा संशोधनको मस्यौदा तयार पारेको छ। खुद्रा इन्धनको मूल्य नियन्त्रणमा राख्न आठ वर्षअघि ल्याइएको संयन्त्रलाई नै परिमार्जन गर्दै यो नयाँ नियम ल्याउन लागिएको हो ।
प्रस्तावित नियमअनुसार भारतीय बजारको पेट्रोल मूल्य र भारतीय बन्दरगाहदेखि रुससम्मको ढुवानी खर्चका आधारमा गणना गरिनेछ । रुसी संसद् 'स्टेट डुमा'को बजेट तथा कर समितिले विधेयकलाई समर्थन गरिसकेको छ। आरबीसीका अनुसार यो विधेयक बुधबारसम्ममा दोस्रो र तेस्रो चरणबाट पारित हुन सक्नेछ ।
युक्रेनमाथि पूर्ण रूपमा आक्रमण शुरू गरेयता भारत रुसी कच्चा तेलको सबैभन्दा ठुलो खरिदकर्ता बनेको छ । भारतले सन् २०२५ मा प्रतिदिन १५ देखि २० लाख ब्यारेल कच्चा तेल खरिद गरेको थियो भने जुन २०२६ मा यो खरिद दर प्रतिदिन २६ लाख ६० हजार ब्यारेलको रेकर्ड विन्दुमा पुगेको छ ।
भारतले रुसबाट किनेको सोही कच्चा तेललाई आफ्ना रिफाइनरीहरूमा प्रशोधन गरी पेट्रोलसहितका पेट्रोलियम पदार्थहरू पुनः अन्य देशमा निर्यात गर्ने गर्दछ ।
'रोयटर्स'ले 'वुड म्याकेन्जी'लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०२५ मा भारतको अनुमानित पेट्रोल निर्यात प्रतिदिन ४ लाख ब्यारेलको रेकर्ड विन्दुमा पुगेको थियो, जसमा एसियाली मुलुकहरू प्रमुख खरिदकर्ता थिए।
यद्यपि, भारतीय पेट्रोलमा करिब २० प्रतिशत इथानोल मिसाइने गरिन्छ। यो परिमाण रुसको स्वीकृत मापदण्डभन्दा झन्डै दोब्बर हो । रुसले गत वर्ष आफ्ना रिफाइनरीहरूमा युक्रेनी आक्रमण बढेपछि मात्र इथानोलको सीमा बढाएर १० प्रतिशत पुर्याएको थालेको थियो ।
सन् २०२६ मा रुसी रिफाइनरीहरूमाथिको आक्रमण तीव्र रूपमा बढेको छ। गत मे महिनामा १६ वटा र जुन महिनामा कम्तीमा ६ वटा तेल प्रशोधन केन्द्रहरूमा आक्रमण भएपछि इन्धन सङ्कट झन् गहिरिएको हो।
लगातारको क्षतिका कारण रुसको कच्चा तेल प्रशोधन क्षमता विगत दुई दशकयताकै सबैभन्दा तल्लो विन्दुमा झरेको छ, जसले गर्दा पेट्रोल उत्पादनमा करिब २५ प्रतिशतले गिरावट आएको छ।
हाल सञ्चालनमा रहेका रिफाइनरीहरूले दैनिक करिब ८५ हजार टन पेट्रोल उत्पादन गरिरहेका छन्। तर, गर्मी यामको माग धान्न दैनिक करिब १ लाख ११ हजार टन (१११ मिलियन किलोग्राम) पेट्रोल आवश्यक पर्दछ। यसले गर्दा रुसमा दैनिक झन्डै २५ हजार टन पेट्रोलको अभाव भइरहेको छ।
रोयटर्सका अनुसार यो अभाव आन्तरिक खपतको झन्डै २० प्रतिशत बराबर हो । इन्धन अभावकै कारण रुसमा पेट्रोलको थोक मूल्य प्रतिलिटर १०० रुबल (करिब १.३४ अमेरिकी डलर) भन्दा माथि पुगेको छ।
रुसले यस अभावलाई पूर्ति गर्न छिमेकी देश बेलारुसबाट पनि पेट्रोल आयात गरिरहेको छ, तर त्यो परिमाण पर्याप्त छैन । हाल बेलारुसले प्रतिमहिना १ लाख देखि १ लाख ५० हजार टन (१००–१५० मिलियन किलोग्राम) अर्थात् दैनिक ३ हजार देखि ५ हजार टन मात्र आपूर्ति गरिरहेको छ, जुन वास्तविक आवश्यकता भन्दा निकै कम हो ।
इन्धनको यो चौतर्फी सङ्कटले अब रुसको उड्डयन (हवाई) क्षेत्रलाई पनि प्रभावित तुल्याएको छ। हवाई इन्धन (एभिएसन फ्युल) को आपूर्ति कम हुँदै गएपछि रुसका साना विमान सञ्चालकहरूले हवाई इन्धनको सट्टा सवारी साधनमा प्रयोग हुने पेट्रोल प्रयोग गर्न थालेका छन्। सरकारले इन्धन निर्यातमा प्रतिबन्ध लगाए पनि हवाई इन्धनको थोक मूल्य आकाशिएको छ।