
मुलुकका प्रमुख नाकामध्ये पर्ने लुम्बिनी प्रदेशका भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/०८३ मा समग्र राजस्व संकलनमा सुधार गरेका छन् । तर, साना भन्सारले वार्षिक राजस्वको लक्ष्य भेट्टाउँदा ठूलो राजस्व उठाउने प्रमुख भन्सार नाका भने, निर्धारित लक्ष्य हासिल गर्न चुकेका छन् ।
लुम्बिनी प्रदेशमा मुलुककै दोस्रो ठूलो भैरहवा (बेलहिया) भन्सार, चौथो ठूलो नेपालगञ्ज भन्सार तथा पाँचौं र छैटौं ठूलो कृष्णनगर र सुठौली भन्सार सञ्चालनमा छन् । नेपालमा अहिले चल्तीका ४० वटा भन्सार कार्यालयमध्ये लुम्बिनी प्रदेशमा मात्रै ९ वटा रहेका छन् ।
भैरहवा भन्सार कार्यालय, रूपन्देहीले गत आर्थिक वर्षमा १ खर्ब ५ अर्ब रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयलाई १ खर्ब १३ अर्ब ६६ करोड ८१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो ।
त्यसमध्ये ९२.४० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब २ करोड ४८ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्वव ढुंगानाले बताए । कार्यालयले २०८१/०८२ मा ९५ अर्ब १९ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भैरहवा भन्सारले लक्ष्य भने पूरा गर्न नसके पनि अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा राजस्व असुलीमा उल्लेखनीय सुधार गरेको छ । भैरहवा भन्सारको राजश्व संकलनको पहिलो स्रोत दुई पाङग्रे मोटरसाइकल छ ।
१ लाख ७८ हजार २१५ वटा मोटरसाइकल आयात हुँदा २१ अर्ब ७६ करोड ४१ लाख २९ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
अघिल्लो आवमा कार्यालयले वार्षिक लक्ष्यको ८७.०७ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । यसले लक्ष्य प्राप्तिको अनुपातमा ५.३३ प्रतिशत बिन्दुले सुधार भएको देखाउँछ ।
विभिन्न समस्या, आन्दोलन र चुनौतीबीच शतप्रतिशत लक्ष्य भेटाउन नसके पनि गत आवमा राजस्व संकलन उल्लेखनीय मात्रामा वृद्धि भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
- सुठौली 🟢 ████████████████████████████१४०%
- राजापुर 🟢 ███████████████████████११५%
- महेशपुर 🟢 ██████████████████████ १०९%
- कृष्णनगर 🟡 ███████████████████ ९३%
- भैरहवा 🟡 ██████████████████▉९२.४%
- नेपालगञ्ज 🔴 ████████████████८२%
आयात परिमाणका हिसाबले भैरहवा वीरगञ्जपछिको दोस्रो ठूलो भन्सार नाका हो । जेनजी आन्दोलनका क्रममा भैरहवा भन्सार कार्यालयमा पनि क्षति पुगेको थियो । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालु आव २०८३/०८४ मा १ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको जिम्मेवारी दिएको छ । यो विभागको कूल लक्ष्यमध्ये १९.४ प्रतिशत हो ।
लुम्बिनी प्रदेशको दोस्रो ठूलो बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले गत आवमा २० अर्ब ९ करोड ४८ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन कूल लक्ष्यको ८१.८७ प्रतिशत हो । भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार भन्सार विभागले चालू आवका लागि २४ अर्ब ५४ करोड ५७ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।
अघिल्लो आवमा कूल लक्ष्यको ७४.६३ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयले गत आवका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेको छैन ।
कृष्णनगर भन्सारको अवस्था कस्तो छ?
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले गत आव २०८२/०८३ मा लक्ष्यभन्दा ७.२० प्रतिशत कम राजस्व उठाउन सकेको छ । भन्सार कार्यालयका सूचना अधिकारी मयंककुमार कर्णका अनुसार ५ अर्ब ४४ करोड ५८ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । जुन कूल लक्ष्यको ९२.८० प्रतिशत हो ।
भन्सार विभागले गत आवका लागि ५ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । अघिल्लो आवमा यहाँबाट ९८.२५ प्रतिशत राजस्व संकलन भएको थियो । कृष्णनगर भन्सार कार्यालयले गत आवको चैत र वैशाख महिनामा मात्र लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
सुठौली भन्सारमा लक्ष्यभन्दा धेरै सुधार
कपिलवस्तुको सुठौली भन्सार कार्यालयले गत आवमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले चालू आवका लागि १ अर्ब १० करोड ५२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा १ अर्ब ५५ करोड ७ लाख ५१ हजार रुपैयाँ संकलन भएको भन्सार कार्यालयका प्रमुख किरण विष्टले जानकारी दिए । सुठौली भन्सार कार्यालयले गत आवको साउन र भदौबाहेक अन्य सबै महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
महेशपुर भन्सारमा १०९ प्रतिशत राजस्व संकलन
पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले पनि गत आवमा लक्ष्यभन्दा ९ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भण्डारीका अनुसार एक वर्षको अवधिमा १९ करोड २ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २० करोड ३७ लाख राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको १०९ प्रतिशत हो । वि.स.२०७५ सालमा महेशपुर छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्थापना गरिएको हो ।
राजापुर भन्सारमा लक्ष्यभन्दा बढी
यस्तै, बर्दियाको राजापुर भन्सार कार्यालयले गत आवमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार विभागले ३ करोड १६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा ३ करोड ४८ लाख ५२ हजार रुपैयाँ संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी प्रमोद कुशवाहाले जानकारी दिए । जुन कुल लक्ष्यको ११५.५४ प्रतिशत हो ।
यस्तैगरी, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा यहाँस्थित भन्सार कार्यालय राजस्व असुलीमा कमजोर देखिएको छ । उता, दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले पनि न्यून राजस्व संकलन गर्दै आएको छ । कुनैबेला चल्तीको यो भन्सार नाका अहिले भने सुनसान छ ।
खुला सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रण हुन नसक्दा राजस्वको लक्ष्य भेट्न नसकेको कतिपयको बुझाइ छ । प्रहरीले वर्षेनी विभिन्न नाका हुँदै भन्सार छलेर भारतबाट उत्राइएका करोडौँ मूल्य बराबरका सामान बरामद गर्दै आएको छ ।
खुला सीमाका कारण राजस्वमा समेत असर पर्ने गरेको छ । विभिन्न कारणले बन्द भएका साना भन्सार कार्यालयहरू व्यवस्थित रूपमा सञ्चालन नहुँदा अवैध ओसारपसारले राजस्व गुमाउनुपरेको छ । रूपन्देहीमा मात्रै सातवटा यस्ता साना भन्सार रहेका छन् । द्वन्द्वकालमा बन्द भएका यी भन्सार सञ्चालनमा नआउँदा स्थानीयवासी समेत समस्यामा परेका छन् ।
सीमानाकामा आवागमन सहज भएसँगै चोरी तस्करीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय। रुपन्देही र मातहत कार्यालयहरूले एक वर्षको अवधिमा भन्सार चोरी निकासी गरी भारतबाट नेपाल अवैध रुपमा ल्याउँदै गरेको २२ करोड बढीको सामान बरामद गरेको छ ।
रूपन्देही प्रहरी तस्करहरूमा निर्मम बनेसँगै अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा १० करोड बढीको तस्करीका समान र तस्करीका लागि प्रयोग भएको साधन जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले लिएका हुन् । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले सीमाबाट हुने अवैध कारोबारलाई रोक्न कडा रुपमा प्रस्तुत भए जसको फलस्वरूप भन्सार राजश्व दाखिला गत वर्षभन्दा झण्डै दोब्बर बढेको छ । चोरी तस्करी मौलाउँदै गरेको तस्करीलाई रोक्न प्रहरीले आफ्नो अभियानलाई चुस्त बनाएको छ ।