२३ जेठ २०८३, शनिबार
प्रशासनमा राजनीतिक प्रभाव

सरकारी सचिवको फिरन्ते नियति : मन्त्रीको ‘यन्त्रमानव’ नबन्दा समय अगावै सरुवा !

फागुन २८, २०७५
सरकारी सचिवको फिरन्ते नियति : मन्त्रीको ‘यन्त्रमानव’ नबन्दा समय अगावै सरुवा !

काठमाडौं – निजामती प्रशासनलाई स्थायी सरकारका रुपमा हेरिन्छ । राजनीतिक अस्थिरताका कारण मन्त्री र प्रधानमन्त्री वर्षैपिच्छे फेरिने समस्या यसअघि भएपनि कर्मचारी प्रशासनलाई स्थायी सरकारका रुपमा हेरिँदै आएको छ ।

कामको विधि, प्रक्रिया र परम्परामा ध्यान दिने भएकाले कर्मचारी प्रशासनलाई स्थायी सरकारका रुपमा हेरिने बताइन्छ । स्थायी सरकार र मन्त्रालयको उपल्लो पद हो सचिव ।
पछिल्लो समय सचिव फेरिने क्रम भने निरन्तर छ । समय नपुग्दै सरुवा हुने कार्यले निरन्तरता पाउँदा सचिवहरूले फिरन्ते नियती भोग्नुपरेको छ । गत ६ फागुनमा मात्रै सरकारले करीब आधा दर्जन सचिवलाई सरुवा गरेको थियो ।  

२ हप्तामै सरुवा

फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरुवाको सूचीमा परेका १ सचिव हुन् कृष्णप्रसाद देवकोटा । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

देवकोटा १ वर्षको अवधिमा ४ पटकसम्म सरुवा भएका विवरणमा उल्लेख छ । २०७४ कात्तिक १४ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा भएका देवकोटा कार्तिक २७ गते अर्थात् २ हप्ता नपुग्दै सार्वजनिक खरिद अनुमगन कार्यालयमा सरुवा भए । उनी फेरि माघ ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएर फागुन ६ गतेबाट युवा तथा खेलकुद मन्त्रालयमा छन् ।

सरकारी निकायमा रहेको उनको रेकर्ड हेर्दा सचिवमा बढुवा भएपछि निरन्तर सरुवामा परेका देखिन्छन् । २०७३ मंसिर १२ गते सचिवमा बढुवा भएपछि पुस ७ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा उनी सरुवा भएका थिए । उनले आफ्नो सरुवाका विभिन्न कारण रहेको भन्दै यसबारे बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

२०७३ माघ ६ गते सचिवमा बढुवा भएका कृषि सचिव युवकध्वज जीसी २०७४ कात्तिक ६ गते वन मन्त्रालयमा सरुवा भएका थिए । चैत २० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएका सचिव जीसी हाल सोही मन्त्रालयमा छन् । सचिवमा बढुवा भइसकेपछिको विवरण अनुसार लामो समय एउटै निकायमा टेकिरहेका जीसी पनि देखिँदैनन् । यद्यपि उनी हाल करीब १ वर्षदेखि कृषि मन्त्रालयमै छन् ।

विगतमा मन्त्री फेरिने प्रवृत्तिले मन्त्रीसँग कुरा नमिल्दा सरुवा हुने गरेको बताइने गरेको थियो । पछिल्लो समय स्थायी सरकारका मन्त्री हुँदा समेत सचिव सरुवाको क्रम रोकिएको छैन ।

स्वास्थ सचिव, वाणिज्य सचिव, खानेपानी सचिवदेखि प्रायःजसो मन्त्रालयका सचिव परिवर्तन भएको धेरै लामो समय भइसकेको छैन ।

राजनीतिक कित्ताकाट र स्वार्थ पूरा नगर्दा छिट्टै सरुवा

पूर्वमुख्यसचिव विमल कोइराला मन्त्रीहरूले आफू अनुकूलको मान्छे खोज्न थालेका कारण सचिव चाँडै सरुवामा पर्ने बताउँछन् । राजनीतिक कित्ताकाट हुने गरेका कारण सचिवको सरुवा छोटो समयमै हुने गरेको कोइराला बताउँछन् । ‘मन्त्रीले आफू अनुकूलको मान्छे खोज्न थाले,’ पूर्वमुख्य सचिव कोइरालाले लोकान्तर डटकमसँग भने, ‘सचिव सरुवामा राजनीतिक कित्ताकाट हुने गरेको छ ।’

सचिवहरूले मन्त्रीको इशारामा चल्ने ‘यन्त्रमानव’ नबन्दा सरुवा हुनुपरेको समेत बताइन्छ । प्रशासनविद् भीमदेव भट्टले मन्त्री र सचिवबीच कुनै कुरामा सहमति नहुने र विचार नमिलेका कारण सचिव चाँडो सरुवामा पर्ने बताए ।

‘मन्त्री र सचिवबीच दरार प¥यो र आफू अनुकूल काम भएन भने सचिवको सरुवा गरिन्छ,’ उनले भने, ‘हालैका उदारण हेर्दा पनि खानेपानी मन्त्री र सचिवबीच भएको विवाद सञ्चारमाध्यममा नै आयो र अर्का सचिवले भारतीय बसलाई चिनियाँ बस प्रमाणित नगर्दा सरुवा भएको सार्वजनिक गरे । यो हेर्दा पनि मन्त्री र सचिवको कुरा नमिलेका कारण सरुवा हुने गरेको बुझ्न कठीन हुँदैन ।’

काममा बाधा

छोटो समयमै हुने सचिव सरुवाका कारण सम्बन्धित निकायको काममा अवरोध पर्ने गरेको छ । पूर्वमुख्यसचिव कोइरालाले छोटो समयमै हुने सचिवको सरुवाले काममा धेरै नराम्रो असर गर्ने बताए । ‘५ देखि ६ महिना त मन्त्रालय बुझ्नमै लाग्छ,’ उनले भने, ‘काम नथाल्दै, अरुले नचिन्दै सरुवा भइहाल्छ । यसले कसरी काम अघि बढ्छ ?’

प्रशासनविद् भट्टले छोटो समयमै हुने सचिव तथा कर्मचारी सरुवाका कारण सिस्टमले गति नलिने बताए । छोटो समयमै हुने सरुवाका कारण जिम्मेवारी बहन कसैले नगर्ने र उत्तरदायी भूमिका समेत सचिवले खेल्न नसक्ने उनले बताए ।

‘आदर्श प्रशासनमा यसरी छोटो समयमै सरुवा हुने प्रक्रिया हुनु नपर्ने हो,’ उनले भने, ‘नियम कानूनलाई आधार बनाएर अगाडि बढ्नुपर्छ ।’ पछिल्लो समय भइरहेको सरुवाले निजामती सेवा ऐनको कार्यान्वयन नगरेको समेत भट्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्