१६ असार २०८३, मंगलबार
होली विशेष

बाबु बोगटीको त्यो होली : जसले उनलाई प्रहरी चौकी पुर्‍यायो !

चैत ६, २०७५
बाबु बोगटीको त्यो होली : जसले उनलाई प्रहरी चौकी पुर्‍यायो !

काठमाडौं – गायक तथा नायक बाबु बोगटीलाई तिहारपछिको मनपर्ने पर्व हो होली । बाबुले हरेक वर्षको होलीलाई उल्लासमय तरिकाले मनाउँदै आएका छन् ।

‘रंगको पर्व भएको हुनाले पनि अत्यन्तै मन पर्छ,’ बाबु भन्छन्, ‘यस वर्ष पनि उल्लासमय तरिकाले मनाउने छु ।’

यस वर्ष उनी विभिन्न टेलिभिजनले आयोजना गरेका होली विशेष कार्यक्रममा व्यस्त बनेका छन् । ५ वटा टेलिभिजनबाट निमन्त्रणा आएको छ उनलाई ।

ती कार्यक्रममा पुगेर प्रस्तुती दिनुका साथै केही समयअघि सार्वजनिक गीत ‘टिकुली’को प्रमोसन गरिरहेका छन् । दिउँसो कार्यक्रममा व्यस्त भएपनि बेलुका भने साथीभाइसँगै कतै बसेर रमाइलो गर्ने योजनामा छन् बाबु । 

‘दिउँसो कार्यक्रमहरूमै व्यस्त रहन्छु । कार्यक्रम सकेपछि साथीहरूसँग गेट टुगेदरमा बिताउने सोचमा छु,’ बाबु भन्छन् । होलीमा साथीभाइ भेटेर खुशी साटासाट गर्न पाइने अनि रमाइलो गर्ने वातावरण पनि हुने भएकाले आफूलाई होली विशेष मनपर्ने उनी बताउँछन् । रंगको पर्व होलीले आममानिसमा उमंग ल्याउने, आत्मियता बढाउने साथै सकारात्मक सोचको विकास गर्ने बाबुको बुझाइ छ ।

होली सम्झना

भोजपुरमा जन्मिएका बाबु सानै उमेरदेखि होली खेल्थे । ‘५–६ कक्षामा पढ्दा माथिल्लो कक्षाका दाइहरूले अविर लगाएको देख्दा मलाई नि लगाउन मन लाग्थ्यो,’ बाबु भन्छन्, ‘अनि अविर लगाएपछि गाउँभरि देखाउन हिँड्थें ।’

बाल्यकालमा साथीभाइ तथा आफन्तसँग होली मनाउने बाबु गायक तथा नायक भएपछि कलाकारहरूको घर, कार्यक्रममा पुगेर होली मनाउने गरेको बताउँछन् । होली खेल्ने क्रममा प्रहरी चौकीसम्म पुग्नु परेको बाबु स्मरण गर्छन् ।

‘२०५७–५८ सालतिरको होलीमा म प्रहरी चौकी नै पुगेको छु,’ उनी भन्छन् । चौकीसम्म नै पुग्नुपर्ने उनले के गरेका थिए ? बाबुका अनुसार उनीसहित १५–२० जनाको समूह होली खेल्न पुतलीसडक निस्केका थिए । पुतलीसडकमा अर्को एक समूहले सडकमा हिँड्नेहरूलाई जबर्जस्ती लोला हान्ने, पानी छ्याप्ने गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरिसकेका रहेछन् ।

बाबुका साथीहरूको समूह त्यही नजिकै थियो । प्रहरीको भ्यान आइपुग्यो । अर्को समूहका सबै जना भागे । बाबुका साथीहरू पनि प्रहरी देखेर टाप कसे । तर बाबु भागेनन् ।

‘मैले केही गरेको छैन भने म किन भाग्ने भनेर भागिनँ,’ बाबुले स्मरण गर्दै सुनाए, ‘तर मानिसलाई दुःख दिने भन्दै प्रहरीले मलाई भ्यानमा हालेर चौकी पुर्यायो ।’

बाबुले दिउँसोको साढे १ बजेदेखि साँझको ५ बजेसम्मको समय चौकीमा बिताए । ‘मैले प्रहरी चौकीमा साढे १ देखि ५ बजेसम्म बिताए । गल्ती नगरेको हुँदा डर नलागेपनि जीवनमै पहिलोपटक चौकी पुगेको हुनाले म किन नभागेको हुँला भनेर केही पश्चाताप महसुस चाहिँ भयो,’ उनी सुनाउँछन् ।

हरेक होलीमा आफूले त्यो होली सम्झिरहने बाबु बताउँछन् । बाबुलाई जबर्जस्ती होली खेल्ने, रंग दलिदिने गरेको मन पर्दैन । भन्छन्, ‘यो सद्भावको पर्व हो । होलीमा कसैको इच्छा विपरीत लोला हान्ने, रंग दल्ने नगरौं । आपसी सद्भाव कायम गर्दै सभ्य तरिकाले मनाऔं ।’

salt training

कमेन्ट गर्नुहोस्