काठमाडौं – होली हिन्दू धर्मावलम्बीको एउटा महत्त्वपूर्ण पर्व हो । हरेक वर्ष फागू पूर्णिमाको दिन होली मनाइन्छ ।
प्रायःजसो होली फागुन महिनामा पर्छ । मलमासले तिथि सरेका कारण यसपालि होली चैत्र महिनामा आइपुगेको छ ।
फागुन महिनामा मनाइने पर्व भएकाले यसलाई ‘फागु’ पनि भनिन्छ । हिन्दू धर्मालम्बीमा होली एउटा रंगीन पर्व हो । होली पर्वमा एकआसपमा विभिन्न रङहरू दलेर खुशी साटासाट गर्ने परम्परा रहिआएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले होली असुर विनाश र दैवी शक्तिको विजयको उपलक्ष्यमा मनाइने उत्सव भएको बताए । ‘होली कुनै जातमा मात्रै सीमित नभएर सबै जातिले मनाउने पर्व हो,’ उनले भने, ‘सबै नेपाली दाजुभाइले आफ्ना विगतका वैमनस्यतालाई बिर्सेर अत्यन्त शालिनताका साथ मनाउँदै जानुपर्छ ।’
वरिष्ठ संस्कृतिविद् चिन्तामणि योगीले होलीलाई सुदूरपश्चिमेलीले विशेष चाडका रुपमा लिने गरेको बताए । ‘हामी अलग–अलग रुपमा छौं । तर यो चाडमा जम्मा भएर रङ दल्दै एकआपसमा साङ्लोमा बाँधिएर देउडा गीतमा नाच्ने चलन छ,’ उनले भने ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष गौतमका अनुसार होलीको सन्दर्भ त्रेता युगका राजा हिरण्यकश्यप र छोरा प्रह्लादसँग जोडिएको बताए । गौतमले होलीको पौराणिक सन्दर्भ यसरी सुनाए :-
पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यप राजाले आफ्नो छोरा प्रह्लादलाई गुरू कहाँ पढ्न पठाए । तर प्रह्लादले पढ्न छाडेर विष्णु भगवानको आराधना मात्रै गर्न थाले । राजा हिरण्यकश्यपले छोरा प्रह्लादलाई निकै सम्झाइबुझाई गरे । तर प्रल्हादले मानेनन् ।
सबै उपायहरू नकाम भएपछि उनलाई सर्पले टोकाउने, हात्तीले कुल्चाउनेजस्ता काम गरियो । भगवान विष्णुबाट वरदान पाएका कारण कुनै पनि प्रयासबाट प्रह्लाद मरेनन् । भगवानबाट अग्नि जल केहीबाट नमर्ने वरदान पाएकी प्रह्लादकी बहिनी होलिकामार्फत प्रह्लादलाई लिएर अग्निमा भष्म पार्ने योजना हिरण्यकश्यपले बनाए र सो गर्दा उल्टै होलिका अग्निमा जलेर नष्ट भइन्, प्रह्लादलाई केही भएन । त्यसैले यो चाडलाई असत्यमाथि सत्यको विजयोत्सवका रुपमा लिइन्छ ।
शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि लिङ्गो गाडेपछि होली शुरू भएको मानिन्छ । पूर्णिमाको राति लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ । विगतका दुश्मनी सम्बन्धलाई बिर्सेर, उमेरको ख्याल नगरी आपसी भाइबन्धुत्वका आधारमा होली पर्वमा खुशी साटासाट गरिन्छ ।
शुक्ल पूर्णिमाको दिन प्रतिमा वा चीरदाह गर्नुपर्छ । पहाडमा चीरदाह गर्नु अगाडि र तराईमा चीरदाह गरेको भोलिपल्ट रंगसँग खेल्ने र उत्सव मनाउने चलन रहेको छ ।