०२ असार २०८३, मंगलबार

आईएस आतंकवादीको खलिफा ध्वस्त भएपछि सुरुङबाट बाहिर आएर आत्मसमर्पण गर्दै लडाकू

आईएस आतंकवादीको खलिफा ध्वस्त भएपछि सुरुङबाट बाहिर आएर आत्मसमर्पण गर्दै लडाकू

काठमाडौं – इस्लामिक स्टेट (आईएस) का दर्जनौं विद्रोहीहरू सुरुङबाट बाहिर निस्केर अमेरिकी समर्थनप्राप्त बलसमक्ष आइतवार आत्मसमर्पण गरेका छन् । आईएसको खलिफा पराजित भएको घोषणाको एक दिनपछि उनीहरूले आत्मसमर्पण गरेका हुन् । 

सिरियाली कुर्दहरूले आईएसको साम्राज्य अन्त्य भए पनि हिरासतमा लिइएका हजारौं विदेशी जिहादी टाइम बमका रूपमा रहेको र विश्वले त्यसलाई तत्कालै निस्तेज गर्नुपर्ने चेतावनी दिएका छन् । 

एएफपीका एक संवाददाताले दर्जनौं मानिस इराकी सीमानजिकको बागूज गाउँमा रहेको जिहादी शिविरबाट पंक्तिबद्ध भएर बाहिर निस्केको देखेका थिए ।

‘यी सुरुङबाट बाहिर आएर आत्मसमर्पण गरेका आईएस लडाकू हुन्,’ कुर्दिश प्रवक्ता जियाकर अमदले भने । 

तीमध्ये केहीले बाक्लो दाह्री पालेका थिए र कालो रंगको वस्त्रमा लामा ऊनी काफ्तान बाँधेका थिए । केहीको अनुहार टाटेपाटे स्कार्फले ढाकिएको थियो । उनीहरू लुक्ने आफ्नो अन्तिम ठाउँबाट बाहिर निस्केका हुन् । 

‘केही अन्य चाहिँ अझै भित्र लुकिरहेका हुन सक्छन्,’ अमदले भने । 

विश्व नेताहरूले सिरियामा आईएसको नियन्त्रणमा रहेको अन्तिम भूमिलाई कुर्दिशहरूको नेतृत्वमा रहेका सिरियाली लोकतान्त्रिक बलले जितेको भनी शनिवार गरिएको घोषणालाई तत्कालै प्रशंसा गरे । 

तर देशमा रहेको अर्धस्वायत्त कुर्दिश क्षेत्रका शीर्ष विदेश मामिला अधिकारीले पक्राउ परेका आईएस सदस्य अझै पनि खतराका रूपमा रहेको बताए । 

‘हजारौं लडाकू छन्, ५४ देशका बालबालिका र महिला छन् र तिनमा इराकी र सिरियालीहरूलाई जोडिएको छैन । उनीहरू हाम्रा लागि अनि अन्तर्राष्ट्रिय समुदायका लागि गम्भीर खतरा हुन्,’ अब्देल करीम ओमरले एएफपीलाई बताए । 

‘बागूजमा चलाइएको कारवाहीको अन्तिम २० दिनमा लडाकूको संख्या निकै बढ्यो,’ उनले बताए । 

आईएसका स्लीपर सेलहरू अझै पनि खतराका रूपमा रहेको उनले चेतावनी दिए । 

कुर्दिशहरूको पार्टी एसडीएफले उक्त क्षेत्रमा रहेका बाँकी जिहादीहरूलाई ध्वस्त पार्न तथा हतियारका सम्भाव्य भण्डार पत्ता लगाउन कारवाही चलाइरहेको छ ।  

एसडीएफले महिनौंसम्म गरेको आक्रमणले युफ्रेटिस उपत्यकामा आईएसको अन्तिम गढमा कब्जा जमाएपछि जिहादी र उनीहरूका परिवार क्रमशः बागूजमा जम्मा भए । 

केही भाग्न सफल भए भने धेरै विदेशीहरू त्यहीँ बसिरहे । उनीहरूले कि त आत्मसमर्पण गरे कि त मृत्यु नआउन्जेल लडे । 

एसडीएफका अनुसार, जनवरी महिनादेखि ६६ हजार मानिसले आईएसको अन्तिम गढ त्यागे । तिनमा ५ हजार जिहादी र तिनका २४ हजार नातेदार पनि छन् । 

मानिसहरूलाई गढबाट बाहिर निस्केर युफ्रेटिस नदीको किनारमा लग्नका लागि धेरैपटक आक्रमण रोकिएका थिए । 

एसडीएफले बागूजबाट निस्केका मानिसका जत्थालाई परीक्षण गरेका छन् । उनीहरूले जिहादी भनी आशंका गरेका व्यक्तिलाई हिरासतमा लिएका छन् र नागरिक तथा आईएसका नातेदारलाई अझ उत्तरका शिविरमा लगेका छन् । 
धेरैजसो नातेदारलाई अल–होल शिविरमा कोचिएको छ । त्यहाँ २० हजार मानिस अट्ने क्षमता छ तर त्यहाँ ७२ हजारजना बसिरहेका छन् । 

उत्तरपूर्वी सिरियाको कुर्दिश प्रशासनले यत्ति धेरै मानिसलाई हिरासतमा राख्ने क्षमता आफूसँग नरहेको र उनीहरूको पुर्पक्ष गर्न त झनै नसक्ने बताएको छ । 

तर आईएसका सदस्य भनी आरोप लागेका व्यक्तिलाई उनीहरूका देशले फिर्ता लैजान मानेको छैन किनकि त्यसले सुरक्षामा जोखिम ल्याउँछ र जनता पनि भड्किने सम्भावना छ ।

एएफपीबाट

salt training

कमेन्ट गर्नुहोस्